कास्कीमा ६ महिनाभित्र १ हजार २ सय ९४ मुद्दा दर्ता

कोभिड-१९ को प्रभावबाट फर्छयौट तथा कार्यान्वयनमा समस्या

पोखरा न्यूज । कास्की जिल्ला अदालतमा आर्थिक वर्ष ०७७/०७८ को पहिलो ६ महिनामा कूल १ हजार २ सय ९४ थान मुद्दा दर्ता भएका छन् ।

अदालतले शुक्रबार सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रम गर्दै यो जानकारी गराएको हो । ‘कास्की जिल्ला अदालतमा यो आर्थिक वर्षको साउन देखि पौष मसान्तसम्मको अवधिमा मुद्दातर्फ १ हजार १ सय ७८ थान र विशेष प्रकृतिका निवेदनतर्फ १ सय १६ थान गरेर कूल १ हजार २ सय ९४ थान मुद्दा दर्ता भएका छन्’ अदालतका सूचना अधिकारी निलप्रसाद पनेरुले भन्नुभयो ।

यो अघिल्लो आर्थिक वर्षको पहिलो ६ महिनाको तुलनामा २ सय ९ थानले कम हो । अघिल्लो आर्थिक वर्ष ०७६/०७७ को साउन देखि पौष मसान्तसम्म १ हजार ५ सय ३ थान मुद्दा दर्ता भएको थियो । अहिलेको आर्थिक वर्षमा मुद्दाको संख्या घट्नुमा कोरोना महामारीका कारण अदालतको सेवा प्रवाहमा आएको संकुचनले भएको हुनसक्ने उहाँले बताउनुभयो ।

मुद्दातर्फ अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका १ हजार ९ सय ७४ थान समेत गरेर यो आर्थिक वर्षको पहिलो ६ महिनासम्म ३ हजार १ सय ५२ लगत रहेकोमा यो आर्थिक वर्ष पहिलो ६ महिनामा ९ सय ७८ थान मुद्दा फर्छयौट भएका छन् । अदालतमा बाँकी चालु मुद्दाको संख्या २ हजार १ सय ७४ थान रहेको अदालतको तथ्याकंबाट देखिन्छ । विशेषप्रकृतिका निवेदनतर्फ अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरी आएका १९ थानसहित कूल १ सय ३५ थान निवेदन दर्ता भएकोमा १ सय १८ थान फर्छयौट भई १७ थान फर्छयौट हुन बाँकी रहेको छ । गत साउनबाट अदालतमा मुद्दाको फरक व्यवस्थापन प्रणाली लागू भएको छ । यो प्रणाली लागू भएपछि सरल मार्ग समूहमा ७ सय ८६ थान, सामान्य मार्ग समूहमा २ सय ७५ थान, विशेष मार्ग समूहमा २० थान र मार्ग समूहमा नपरेका मुद्दाको संख्या ९७ रहेको छ ।

यसैगरी फैसला कार्यान्वयनतर्फ अघिल्लो आर्थिक वर्षबाट २ सय ४ थान निवेदन लगत सरेर आएकोमा यो आर्थिक वर्ष पहिलो ६ महिनामा १ सय ९६ थान गरेर कूल ४ सय थान निवेदन परेकोमा ६ महिनाको अवधिमा १ सय ३३ थान निवेदन फछ्यौट भई फर्छयौट हुन बाँकी निवेदनका संख्या २ सय ६७ थान रहेको अदालतका तहसिलदार हरिश्चन्द्र गौतमले जानकारी दिनुभयो ।

अदालतबाट हाल कायम थुनुवाको संख्या ३ सय ५० थान रहेको छ । जसमा ६ जना बालबालिका, १६ जना महिला, ३ सय २७ जना पुरुष र १ जना ज्येष्ठ नागरिक रहेका छन् । सबैभन्दा बढी थुनुवाको संख्या लागुऔषध मुद्दामा रहेको छ । लागुऔषध मुद्दामा १ सय ११ जना थुनुवा रहेका छन् । यसैगरी जवरजस्ती करणी मुद्दामा ९९ जना, ज्यानसम्बन्धी मुद्दामा ५६ जना, चोरी मुद्दामा ४२ जना, मानव बेचविखन तथा ओसार पसार मुद्दामा ४ जना, मुद्रासम्बन्धी मुद्दामा २ जना, ठगी मुद्दामा ६ जना, विस्फोटक पर्दाथ सम्बन्धी मुद्दामा एक जना, हातहतियार तथा खरखजना मुद्दामा १ जना र अन्य मुद्दामा २८ जना थुनामा रहेका छन् ।

अन्र्तक्रिया कार्यक्रममा बोल्दै कास्की जल्ला अदालतमा प्रमुख भै काम गर्ने जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईले अदालतमा केही सुधारका कार्यक्रम गर्न लागेको बताउनुभयो । कास्की अदालतमा हाजिर भएको दुई महिनाको अवधिमा अदालतको दक्षिण–पश्चिमतर्फ बार भवन र अदालतबीच कम्पाउन्ड वाल लगाइएको, अदालत कम्पान्डमा रहेका ३ वटा पर्खाल भत्काइ जग्गा ल्यान्डस्केपीङ गर्ने कार्य भइरहेको, झार उम्रेर बेवारीसे अवस्थामा रहेको स्थानको पर्खाल भत्काई नयाँ पर्खाल लगाउने कार्य भइरहेको, फोटोकपी सेवा निजी क्षेत्रलाई दिइएको, सेवाग्राही र कर्मचारीका लागि पुरुष, महिला र तेस्रो लिङ्गीको लागि छुट्टाछुट्टै शौचालयको व्यवस्था भएको, कर्मचारीउपर सेवाग्राही र बारको सिकायत सम्बोधन गर्दै ‘गुड गर्भमेन्स’को पहिलो चरणमा सेवा करारमा रहेका केही व्यक्तिहरू हटाइएको न्यायाधीश भट्टराईले बताउनुभयो ।

अदालतमा बाल इजलासको लागि स्थानको अभाव, सभाहलको अभाव, सेवाग्राही परामर्श र सहायता कक्षको अभाव, मेलमिलाप केन्द्रका लागि आवश्यक भवनको अभाव, मुद्दाको चापको अनुपातमा साधन स्रोतको कमी हुँदा नियमित कार्य गर्न समस्या भएको उहाँको भनाई छ । जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईको अध्यक्षतामा भएको अन्र्तक्रिया कार्यक्रममा जिल्ला न्यायाधीश तेजेन्द्रप्रसाद शर्माले समेत बोल्नुभएको थियो । अदालतमा भएगरेका कार्यहरुको बारेमा सूचना अधिकारी निलप्रसाद पनेरुले प्रस्तुति राख्नु भएको थियो । कोभिड-१९ को प्रभावबाट मुद्दा फर्छयौट तथा कार्यान्वयनमा समस्या परेको अदालतले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button