व्यवसाय सधै जटिल हुन्छ : मोहन सापकोटा

व्यवसाय पुस्तालाई हस्तान्तरण गर्ने उहाँको सपना

पोखरा न्यूज । पोखराका युवा व्यवसायी मोहन सापकोटाको व्यवसाय क्षेत्रमा आगमन २०६५ सालबाट भएको हो । उहाँ व्यवसाय क्षेत्रमा आउनुभन्दा पहिले स्टेशनरी व्यवसायको कुनै प्रोडक्टको मार्केटिङ सम्बन्धी काम गर्नुहुन्थ्यो ।

झण्डै ६ वर्ष मार्केटिङ सेक्टरमा काम गरेपछि स्टेशनरी व्यवसायमा उहाँको चासो बढेको थियो । सोही कारण उहाँले पुस्तक तथा स्टेशनरी व्यवसाय रोज्नुभयो । सुरुवातमा ५ लाखको लगानीमा उहाँले व्यवसाय शुरु गर्नुभयो । त्यतिबेला ग्रैहापाटन पोखरामा ‘जनसेवा सप्लायर्स’ नाममा स्टेशनरीको खुद्रा पसलबाट व्यवसाय सुरु भयो । मार्केटिङ क्षेत्रमा काम गर्दा बचाएको केही रकममा घरबाट बुबाको सर्पोट समेत थपिएपछि उहाँ व्यवसाय क्षेत्रमा होमिन सहज भएको थियो ।

हुनत ट्रेडिङ कम्पनीको व्यवसाय भनेको व्यापार गर्ने वित्तिकै पैसा हातमा आउने क्षेत्र हो । व्यवसाय शुरु गर्ने बित्तिकै आम्दानी हुन सुरु हुन्छ । लगानी गरेपछि व्याजका खर्चका कुरा आउलान तर व्यापार भइसकेपछि पैसा खेल्न शुरु गरिहाल्ने भएको कारणले समेत उहाँ यो व्यसायमा आर्कषित हुनुभयो । ट्रेडिङ क्षेत्रमा मार्केटिङमा गरेको कामले उहाँलाई यात्रा अगाडि बढाउन सहजता भने प्रदान भयो । मार्केटिङमा काम गर्दा नै विभिन्न सामाजिक व्यक्त्ति तथा व्यवसायिक प्रष्ठिानसँग उहाँ परिचित भइसक्नु भएको थियो । आफ्नो जीविकोपार्जन गर्नको लागि अर्थ उपार्जन गर्ने मात्र नभएर विभिन्न व्यवसायिक घरानादेखि लिएर संघसंस्था सामाजिक व्यक्त्तित्वसँग आफ्नो व्यक्क्तिगत सम्बन्ध हुने भएकोले व्यवसाय गर्न उत्पेरणा मिलेको उहाँ बताउनुहुन्छ ।

अहिले उहाँले व्यवसाय सुरु गरेको १२ वर्ष भयो । १२ वर्षको व्यवसायिक अनुभवमा व्यवसाय गर्नु सोचेझै सजिलो नहुने रहेछ भन्ने उहाँमा भएको छ । व्यवसाय सधै जटिल हुन्छ । यो क्षेत्रमा आउन अलि ढिलो भएछकी भन्ने उहाँलाई कहिलेकाही लाग्छ । यो व्यवसायमा २०५२ देखि २०६० सालसम्मको समय उर्बर थियो भन्ने उहाँको बुझाई छ । त्यसपछि व्यवसाय अपेक्षाकृत राम्रो भएको छैन । सोही समयमा व्यवसायमा आइयो । हाम्रो मात्र नभएर अरु क्षेत्रको व्यवसायमा समेत यस्तै हुनसक्छ ।

सापकोटा थप्नुहुन्छ-‘मैले मार्केटिङमा काम गर्दैगर्दा जस्तो सहज रुपमा व्यवसाय थियो । आफूले शुरु गरेपछि त्यस्तो रहेन । ट्रेडिङ विजनेसले दिदै नदिने भन्ने कुरा हैन । शुरुवातको चरणमा लगानीको कारणले पनि मलाई गाह्रो भयो । पछाडिको समयमा देश परिस्थिति विभिन्न कालखण्डले व्यवसायमा उतारचढाब हुँदैगर्दा व्यवसाय सोचे अनुरुपको हुन सकेको छैन ।’

उहाँलाई एकजना सफल व्यसायीले भनेको भनाई सधैँ मानसपटलमा आउँछ । ती व्यवसायीले भन्नुभएको थियो ‘तिमीले व्यवसाय १० वर्षसम्म चलाउने हो । १० वर्षपछि तिमीले शुरु गरेको व्यवसाय चल्नुपर्छ । नभए त्यो व्यवसायलाई तिमीले छोडेर अन्तपनि स्थान्तरण हुनुपर्छ ।’ सफल व्यवसायीले भनेको यही सिद्धान्तलाई आत्मसाथ गर्दै जाँदा उहाँले आफ्नोे व्यवसायलाई आफूलाई काम पुग्नेगरी पोखराको ग्रैहापाटनमा जनसेवा सप्लायर्स सञ्चालन गर्नुभएको छ । यो स्टेशनरी सामाग्रीको थोक पसल हो । यसका अलावा व्यवसाय सुरु गरेको १० वर्षपछि आफ्नो व्यवसायको ट्रेन परिवर्तन गर्नुपर्छ भनेर विभिन्न साथीसँग मिलेर उत्पादन क्षेत्रमा समेत उहाँ लाग्नु भएको छ ।

उहाँ आवद्ध रहेको पब्लिक पब्लिकेशन्न एण्ड मसलन्द उद्योग प्रालि स्टेशनरीसँग सम्बन्धित उद्योग हो । डायरी, नोटबुक, फायल, बच्चाहरुले पढ्ने ए, बि, सि, डि, क,ख, ग, घ का चार्टहरु लगायत विभिन्न शैक्षिक सामाग्री चितवनमा रहेको यो उद्योगबाट उत्पादन भइरहको छ । यसका अलावा पोखरामा साथीसँग मिलेर पोखरा फ्रेम तथा मसलन्द उद्योग प्रालि मासवारमा सञ्चालन गर्नुभएको छ ।
कास्कीको मादी गाउँपालिका ७ छाचोकमा जन्मिनुभएका सापकोटाको हालको बसोबास पोखरामहानगरपालिका ३२ मा रहेको छ । विभिन्न व्यवसायमा गरेर एक करोडको हाराहारीमा उहाँले लगानी गर्नुभएको छ । सबैको साथ सर्पोटका कारण व्यवसाय क्षेत्रमा उहाँलाई सफलता मिल्दै गएको छ ।

सधै एकै किसिमबाट व्यवसाय गर्दाखेरी सफल हुने अवस्था अधिकांश व्यवसायमा नरहने उहाँको बुझाई छ । उहाँले आफुले गरिरहेको एकल व्यवसायलाई थप भोलुममा लान आयात निर्यातको कामशुुरु गर्नुभएको छ । साथै उहाँ आवद्ध भएका फ्याक्टी मार्फत आयातित बस्तुलाई विस्तापित गर्ने उद्देश्यका साथ काम गर्नुभएको छ । ‘हुनत कुनै पनिवस्तु उत्पादन गर्नको लागि कच्चा पर्दाथ हामीकहाँ छैन । कच्चा पदार्थ बाहिरबाट ल्याउदै गर्दा कमसेकम यहाँ उत्पादन गर्न सकेउ, नेपाली एउटा लोगो दिन सक्ने हो भने नेपालमा बेरोजगार रहेका व्यक्तिलाई रोजगारी दिदै राज्यलाई सहयोग गर्न सकिन्छ । राज्यसँग सँगसँगै हातेमालो मिलाएर जानुपर्छ भनेर हामीले उत्पादन क्षेत्रलाई अझै व्यापक बनाउने योजनाका साथ अगाडि बढेका छौँ’ उहाँले भन्नुभयो ।

व्यवसायीले व्यवसाय सञ्चालन गर्दा ठूला सपना देखेपनि विभिन्न कालखण्ड परिस्थितिले त्यसलाई असर गर्ने उहाँको भनाई छ । अझै एक दुई ठाउँमा लगानी विस्तार गर्ने उहाँको योजना छ । ‘व्यवसाय सिस्टमले चलोस् । यसलाई प्रणालीगत रुपमा सुधारेर आफ्नो अनुपस्थितिमा समेत पूर्ण स्वचालित जस्तो बनाएर मैले गरेको व्यवसाय पुस्तालाई हस्तान्तरण गर्न पाएदेखि भन्ने सपना देखेको छुँ’ सापकोटाले भन्नुभयो । आफुले दुःख गरेर स्थापित गरेको व्यवसाय पुस्तालाई हस्तान्तरण गर्ने उहाँको धोको छ । आफुले शुरु गरेको व्यववसाय छोरा, नातीमा हस्तान्तरण होस् भन्ने उहाँको अपेक्षा हो ।

उहाँ व्यवसायसँगै सामाजिक क्षेत्रमा समेत उतिकै सक्रिय हुनुहुन्छ । विभिन्न संघसंस्था मार्फत गरेको कामका कारण सामाजिक क्षेत्रमा समेत उहाँ स्थापित बन्नुभएको छ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ कास्की शाखाको अध्यक्ष रहनुभएका उहाँको कार्यकाल अब अन्तिम चरणमा आएको छ । केही समयपछि यो संस्थाको अधिवेशन हुनेछ । अधिवेशन मार्फत नेतृत्व हस्तान्तरणको तयारीमा उहाँ हुनुहुन्छ । आफ्नो कार्यकालमा विभिन्न उतारचढाब आएपनि सबै साथीको साथबाट धेरै कार्यक्रम सम्पन्न गरेको उहाँले बताउनुभयो । कोरोनाको कारण केही काम गर्न बाँकी भएकोले बाँकी रहेका काम आफू नेतृत्वमा नरहँदा पनि पूरा गर्ने उहाँको वाचा छ । संस्थामा २ सय ६३ व्यवसायी आवद्ध भएको गतवर्षको रेकर्डबाट देखिन्छ । यसमा यो वर्ष केही थपघट हुने सापकोटाले बताउनुभयो । नेतृत्वहस्तान्तरण पछि केन्द्र अथवा प्रदेशमा रहेर व्यवसायीको हकहितमा काम गर्ने सोच उहाँले बनाउनुभएको छ ।

पुस्तक व्यवसाय आन्तरिक तथा बाह्य तत्वबाट प्रभावित भएको अध्यक्ष सापकोटा बताउनुहुन्छ । आन्तरिक तत्वको रुपमा अस्वस्थ प्रतिष्पर्धा भएकोले यसलाई न्यूनीकरण गर्दै जानुपर्नेमा उहाँको जोड छ । विगतदेखि धेरै प्रयास गर्दापनि बाह्य तत्वबाट भएका हस्तक्षेपलाई रोक्न गाह्रो भएको उहाँले सुनाउनुभयो ।

प्रकाशन गृहले पुस्तक प्रकाशन गर्दै गर्दा उपभोक्त्ता ठगिनु भयो पुस्तक प्रकाशनको मापदण्ड बनाइदिनु प¥यो भनेर गुनासो आयो । उपभोक्त्ता ठगिनु भएन । पुस्तकमा एउटा मापदण्ड चाहियो भन्ने कुरा आयो । त्यसपश्चात यति पेजको किताबलाई यति मूल्य कायम गरिदिनुपर्यो भनेर नेपाल सरकारसँग आग्रह गर्यौ । पाठ्यक्रम विकास केन्द्रमा डेलिगेसन गयौ । अन्तमा नेपाल सरकारले कलर पेजको यति सादा पेजको यति भनेर मूल्य निर्धारण गरिदियो ।

यसरी पुस्तकको मूल्यनै घटाइसकेपछि समेत उपभोक्त्ताले पुस्तकमा छुट खोज्दा समस्या भएको उहाँको भनाई छ । ‘पुस्तक व्यवसाय गर्ने साथी र उपभोक्त्तालाई एकै परिवार हौ भन्ने अनुभूति गराउन पाठ्यक्रम विकास केन्द्रलाई अनुरोध गर्दै नेपाल सरकारबाट लागू गरेर पुस्तकको मूल्यघटेर आउँदा समेत छुट पाउनुपर्छ भनेर भन्नुभयो । मूल्यनै कम गरेपछि छुट दिन सक्ने स्थिति थिएन । सोही कारण विद्यार्थीलाई कन्भिन्स गर्न केही समय लाग्यो । विस्तारै बुझ्नु भएको छ’ अध्यक्ष सापकोटाले भन्नुभयो । अहिले कोरोना महामारीले पुस्तक व्यवसाय मात्रै नभएर सबै व्यवसाय थला परेको उहाँ बताउनुहुन्छ ।

आफूहरुले प्याब्सन, एनप्याब्सन, सामुदायिक विद्यालयदेखि लिएर विभिन्न समस्या न्यूनीकरण गरेका उहाँ बताउनुहुन्छ । शिक्षकले छुटको लोभमा विद्यार्थीलाई विद्यालयमा लगेर पुस्तक वितरण गरिदिँदा विद्यालयको गेटमा रहेको व्यवसायीलाई समस्या भएको छ । यस्ता समस्याको समाधान गर्न व्यवसायी एक हुनुपर्छ । व्यवसायी उपभोक्त्ताको हक अधिकार हितलाई ध्यानमा राख्दै अगाडि बढ्नुपर्छ भन्नेमा उहाँको जोड छ ।

कोरोनाको समयमा संस्थामार्फत व्यवसायीलाई सहयोग गरेको उहाँले जनाउनुभयो । विद्यार्थीले पढ्न पाउन् भन्ने हेतुले जनक शिक्षाको पुस्तक ओसार पसार गर्न पाउने व्यवस्था गरिदिन भनेर नियमन निकायलाई भन्यौ । यहाँका स्थानीय निकाय, सुरक्षा निकाय, जिल्ला प्रशासनसँग संयोजन गरेर काम ग¥यौँ ।

कोरोना महामारीको समयमा आर्थिक रुपमा समस्या परेर जटिल अवस्थामा रहेका व्यवसायीलाई राहत वितरण गरेउ । त्यस्तै नेपाल सरकारको विपत व्यवस्थापन कोषमा जम्मा हुने गरी महासंघको तर्फबाट पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई आर्थिक सहयोग हस्तान्तरण गरेका थियौ । कोरोनाबाट कसरी बच्न सकिन्छ भनेर व्यवसायका लागि सचेतना कार्यक्रम समेत गरिएको उहाँको भनाई छ ।

सरकारले पर्याप्त मात्रामा विकास बजेट खर्च गर्न नसक्दा त्यसको असर व्यवसाय क्षेत्रमा परेको उहाँको बुझाइ छ । कोरोनाका कारण असर परेको व्यवसाय विस्तारै तग्रिन खोजेपनि सन्तुष्ट हुने अवस्था नभएको उहाँले बताउनुभयो । ‘अहिले झण्डै ३० प्रतिशत सम्म व्यापार भएको छ । व्यवसाय पहिलाकै अवस्थामा फर्किएको भने छैन’ उहाँले भन्नुभयो । अप्ठ्यारोमा परेका व्यवसायीलाई संरक्षण गर्ने जिम्मा राज्यको हुने उहाँको भनाई छ । अहिले कोरोना महामारीका कारण व्यवसायी मर्माहित अवस्थामा भएपनि नआत्तिन उहाँको आग्रह छ । यो अवस्थाबाट छिट्टै मुक्ति पाइने आशा सापकोटाले गर्नुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button