संसद विघटनलाई असंवैधानिक भन्नेहरु देश बिरोधी हुन- प्रधानमन्त्री ओली

पोखरा न्यूज संवाददाता । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनलाई असंवैधानिक भन्नेहरु देशविरोधी भएको बताउनुभएको छ ।

आइतबार अपांगता भएका व्यक्तिहरुको समस्या र सवालमा अपांगतासँग सम्बन्धित विभिन्न संघसंगठनहरुले प्रधानमन्त्रीसँग गरेको साक्षात्कार कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले संसद विघटनलाई असंवैधानिक भनेर कराउनेहरु देशविरोधी भएको बताउनुभएको हो । असंवैधानिक भन्नेहरु संविधान तथा लोकतन्त्रको विरोधी भएको पनि बताउनुभयो । संसद पुनरस्थापना गर्न चाहनेहरु देशमा अस्तव्यस्तता खडा गरी स्थिरता र स्थायित्व हुन नदिने तथा बहुमतको सरकार तोडेर जोरजाममा सरकार बनाउन खोजेको आरोप समेत प्रधानमन्त्री ओलीको छ ।

संसद पाँचै वर्ष हुनका लागि सांसदहरुको जागिर नभएकाले सांसदको काम हेरेर जनतालाई पुरस्कृत तथा दण्ड गर्नका लागि ताजा जनादेशमा जानुपर्ने उहाँको भनाई छ । आफुले शासक बन्नेगरी हातमा केही नराखेको भन्दै प्रधानमन्त्री ओलीले जनतालाई निर्णय गर्न दिने कुरा तानाशाह नभएको स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री ओलीले अपांगता भएका व्यक्तिहरुको साथमा सरकार रहेको बताउनुभयो । शारीरिक रुपले अशक्त, असक्षमहरुका लागि सरकार चाहिने भन्दै अशक्तहरुको जीवनमा आइपर्ने समस्या समाधान गर्न सरकारले ध्यान दिने प्रतिबद्धता गर्नुभयो । उहाँले अहिले बालबालिकाहरु सडकमा आउनुपर्ने अवस्था नरहेको पनि बताउनुभयो । सडकमा आउने बालबालिकाहरुलाई अभिभावकको भूमिका निर्वाह गर्दै शिक्षा, स्वास्थ्य तथा सुनिश्चित भविष्यको प्रत्याभुति सरकारले गराउने पनि उहाँको भनाई छ ।

प्रधानमन्त्री ओलीले शारिरिक अशक्तताका कारण उत्पन्न हुने समस्या निराकरण गर्न सकिने भन्दै हरेश नखान आग्रह गर्नुभयो । देश विकासमा शारीरिक रुपमा अपाङ्गता भएकाहरुले पनि योगदान दिनसक्ने उहाँको भनाई छ । देश गरीब भएपनि आफ्नो नागरिकलाई सक्दो हेरचाह गर्न कुनै कमी नराख्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धता छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button