‘सत्यम’मा राजेश हमालले अभिनय गर्ने पक्का

‘थिमेट्रिकल स्केच फोटो’ सार्वजनिक

पोखरा न्यूज । नेपाली चलचित्र ‘सत्यम’मा महानायक राजेश हमालको मुख्य अभिनय रहने पक्का भएको छ । निर्माण पक्षले लामो समयदेखि राजेश हमाललाई यो चलचित्रमा अभिनय गराउन पहल थालेको थियो । हमालले स्क्रिफ्ट हेरेर सकारात्मक प्रतिक्रिया दिएपनि औपचारीक सम्झौता पत्रमा हस्ताक्षर भएको थिएन । गत हप्ता हमालसँग औपचारीक सम्झौता भएपछि चलचित्रमा हमालको प्रमुख भूमिका रहने निश्चित भएको हो । ‘राजेश हमालसँग एक हप्ता अगाडि औपचारीक सम्झौता भयो’ निर्माता रेशम सापकोटाले भन्नुभयो । हुनत औपचारीक सम्झौता हुनु भन्दा अगाडिबाटनै निर्माता सापकोटाले हमाललाई निरन्तर भेट गरिरहनुभएको थियो ।

राजेश हमाल औपचारीक रुपमा आवद्ध भएपछि यतिबेला निर्माण पक्षले चलचित्रको ‘थिमेट्रिकल स्केच पोस्टर’ सार्वजनिक गरेको छ । पोस्टरमा राजेश हमाललाई महानायक लेख्दै उहाँको स्केच फोटोलाई देख्न सकिन्छ । फिल्ममा अभिनय गर्ने अन्य केही कलाकार छनोट भएपनि केही कलाकार अडिसन मार्फत छान्ने आफूहरुको तयारी रहेको निर्माता सापकोटाले बताउनुभयो । ‘हमालसहित अनुपविक्रम शाही, पल शाह रहने पक्का भएको छ, नायिका उपासना सिंह ठकुरीले मौखिक सहमती जनाइसक्नु भएको छ अब औपचारीक सम्झौता हुन्छ’ सापकोटाले पोखरा न्यूजसँग भन्नुभयो ।

सत्यम चलचित्रको निर्देशन शंकर कार्कीले गर्नुहुनेछ । अडिशनबाट अन्य दुई मूख्य पुरुष तथा दुई मूख्य महिला कलाकारसहित अन्य २२ कलाकार समेत अडिसनबाट छान्ने निर्माण पक्षको तयारी छ । कलाकारका छनोटका लागि देशका विभिन्न ठाउँमा अडिसन गरिनेछ ।
जसअनुसार काठमाण्डौमा माघ १९ गते, पोखरामा माघ २३ गते, बुटवलमा माघ २५ गते र झापामा माघ २७ गते अडिसन हुनेछ । अडिसनमा सहभागी हुन चलचित्र निर्माता कम्पनी नवयुग सिनेमा प्रालिको इमेल ठेगानामा आफ्नो सम्पर्क नम्बरसहित प्रोफाईल तथा शोरिल पठाउनुपर्नेछ ।

‘सत्यम’लाई रेशम सापकोटाले लेख्नुभएको हो । निर्माता समेत सापकोटा नै रहेको चलचित्रको एशोसियट निर्मातामा श्याम मल्ल र गनेश पौडेल हुनुहुन्छ । यसैगरी सह निर्मातामा रेशम गौतम र कृष्ण अधिकारी हुनुहुन्छ । चलचित्रमा संगीत योगेश काजीको हुनेछ । यसैगरी कुटुम्ब ब्याण्डको थिम संगीत तथा ब्याकग्राउण्ड स्कार तथा गनेश पौडेलले सहायक संगीत श्रृजना चलचित्रमा रहनेछ । चलचित्रमा समावेश हुने दुई गीत रेशम सापकोटा र बिष्णु निरिशले गर्नुभएको छ ।

चलचित्रको डिओपीमा बिदुर पाण्डे ‘नवीन’, प्रोडक्शन हेड दीनेश प्रकाश महरा, प्रोडक्शन म्यानेजर प्रकाश हमाल, एशोसियट निर्देशक सुवास सुबेदी हनुहुन्छ । यसैगरी सह निर्देशकहरु रामकुमार श्रेष्ठ र शान्ति तामांग रहनुभएको छ । कस्टयूम डिजाईन जानकी कडायतको रहेको छ भने अष्टमान महर्जनको द्वन्द्व चलचित्रमा रहनेछ । सार्वजनिक स्केच पोईन्टब्रेक मिडियाले बनाएको हो भने पोस्टर विजय बस्यालले तयार पार्नु भएको हो । चलचित्रको छायाकंन चैत्रको पहिलो हप्ताबाट शुरु हुने निर्माता सापकोटाले बताउनुभयो ।

चलचित्र क्षेत्रमा पहिल्यैदेखि रुची भएका लेखक सापकोटाको यो पहिलो चलचित्र हो । चलचित्र क्षेत्रमा केही गर्ने जोश आएर काम गर्न कस्सिएको उहाँ बताउनुहुन्छ । ‘यो चलचित्रको कथा मानिसको कल्पना हो । फेन्टास्टिक आइडिया दीमागमा आयो अनि स्क्रिफ्ट तयार गरेको हुँ । राजेश हमाललाई लक्षित गरेर स्क्रिफ्ट तयार गरे अहिले उहाँले स्क्रिफ्ट मनपराएको कारण थप उर्जा थपिएको छ’ सापकोटा बताउनुहुन्छ ।

टुडी एनिमेशनमा चलचित्र हेरेर बल्ल फ्लोरमा जाने आफूहरुको प्रयास भएकोले टुडी एनिमेशनमा जस्तो देखिन्छ चलचित्रमा त्यस्तै देखाइने निर्माता सापकोटाको दावी छ । यो चलचित्रमा राजेश हमालको सकारात्मक हस्तक्षेप हुने लेखक सापकोटाको भनाई छ । हमालले अरु कलाकारले कस्तो अभिनय गरेका छन् त्यसलाई समेत ध्यान दिएर हेर्नुहुनेछ । यो चलचित्र हमालको करियरको सवाल रुपमा रहनेछ । हमालको ३० वर्षको चलचित्र क्षेत्रको अनुभवलाई सुझाबको रुपमा लिएर काम गर्न तयार छौं भनेर प्रतिबद्धता निर्माण पक्षले गरिसकेको छ । हमालले अभिनय गर्ने चलचित्र कमजोर आउनुहुन्न भन्नेमा सचेत छौँ । महानायकको विवाद नआउदै उहाँलाई सोचेर लेखेको सापकोटाले खुलाउनुभयो ।

चलचित्र ३ करोड ५० लाख भन्दा बढीको लगानीमा निर्माण हुने निर्माण पक्षको अनुमान छ । पोखरासहित गण्डकी प्रदेशमा ७० प्रतिशत छायाङ्कन गरिनेछ । यसैगरी १५ प्रतिशत छायांकन तराईमा, काठमाण्डौंमा ९ प्रतिशत र हिमाली भेगमा ६ प्रतिशत छायांकन हुने निर्माण पक्षको भनाई छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button