क्यानडा पठाउने भन्दै ३३ जनाबाट लाखौँ ठगेको आरोपमा पोखरामा युवक पक्राउ

पोखरा न्यूज । क्यानडा पठाउने भन्दै विभिन्न जिल्लाका ३३ जना व्यक्तिहरूलाई ठगी गरेको आरोपमा कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

कास्की, स्याङ्जा, तनहुँ, म्याग्दी लगायतका जिल्लाका ३३ जना व्यक्तिहरूलाई क्यानडा पठाइदिन्छु भनी ठगी गर्ने नियतले रकम उठाएको भन्ने जाहेरीको आधारमा पर्वत मोदी गाउँपालिका ७ स्थायी घर भई पोखरा -३० शिसुवा बस्ने ३८ वर्षीय धिरज कुमार विश्वकर्मा पक्राउ परेको कास्की प्रहरी प्रवक्ता एवं डिएसपी सुवास कुमार हमालले जानकारी दिनुभयो ।

डिएसपी हमालका अनुसार विश्वकर्मा माथि आफू विगत लामो समय देखी विदेश बसेको र युरोप, क्यानडा, अमेरिका लगायतका देशहरूमा धेरै मानिसहरू रोजगारको लागि पठाइसकेको भन्ने विश्वास दिलाएर ३३ जना व्यक्तिहरूबाट ९० लाख ७१ हजार पाँच सय रुपैयाँ उठाइ ठगी गरेको आरोप लागेको छ ।

विश्वकर्माले पैसा उठाएका व्यक्तिहरूलाई विश्वासमा पार्नको लागि विभिन्न सहकारी संस्था र विकास बैङ्कहरूको चेक दिएको पाइएको डिएसपी हमालले जानकारी दिनुभयो ।

यही माघ १३ गते पोखराको राम बजारबाट पक्राउ परेका विश्वकर्मालाई ठगी मुद्दा दर्ता गरी थप अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button