गण्डकीबाग्लुङसमाचार

बागलुङका युवामा पत्रकारिताको आकर्षण

पोखरा न्यूज । बागलुङ नगरपालिका-८ सिगानाकी कृति थापा कानूनको विद्यार्थी हुनुहुन्छ । अध्ययन गरेको विषयलाई फर्केर हेर्दा उहाँको भविष्यको मुख्य काम उभिएर बहस पैरवी गर्ने हो । उहाँलाई उभिएर बोल्ने भनेपछि उभिनु पहिले नै हातगोडा सेलाएजस्तै हुन्थ्यो ।

विद्यालयमा आन्तरिक परीक्षा चलिरहेकै समयमा उहाँले उभिएर बोल्न सिक्ने प्रयास गर्नुभयो । आन्तरिक परीक्षालाई तपसिलमा राख्नुभएकी थापाले बागलुङ बजारमा पाँच दिने पत्रकारिता तालिम लिनुभयो । अहिले कृतिको धेरै मान्छेका अगाडि उभिदासमेत हात काप्दैन् । खुट्टा लुलिएको जस्तो पनि लागेको छैन् । कृति र कृतिजस्तै ४० युवायुवतिका लागि बोल्ने र लेख्ने सिक्ने वातावरण पत्रकार महासङ्घ बागलुङ शाखाले मिलाएको हो । कोरोना महामारीपछिको सङ्क्रमणका कारण भएका पत्रकारकै पेशागत सुरक्षाका लागि पौठेजोजी खेलिरहेको महासङ्घले नयाँ पत्रकार पेशामा प्रवेशको अभियान चलाएको छ ।

बागलुङ नगरपालिकाको साथ महासङ्घलाई छ । पाँच दिवसीय निःशुल्क पत्रकारिता तालिममा बागलुङका अनुभवी पत्रकारको प्रशिक्षण लिएका युवायवतीले समापनमा आशाको सन्देश प्रवाह गरे । “केही सिक्छु जस्तै लागेको थिएन, अहिले बोल्ने भोक जागेको छ” तालिमको समापनमा आफ्नो विचार निर्धक्क राखेकी कृतिले भन्नुभयो, “सिकाइको शुरुवात भएको छ ।” कानूनी पेशा र पत्रकारितासँगै गर्ने सोच भएकाले पहिले बोल्न सिकेको उहाँको भनाइ थियो ।

तालिम सकिएपछि बागलुङ-६ का दिवाकर सापकोटा पनि मञ्चमा पुगेर कड्कीनुभयो, “सिकाइ शुरु भएको छ, हामी सहभागीले आयोजकलाई उपलब्धि दिन्छौं ।” लामो समय पत्रकारिता क्षेत्रमा आकर्षण घट्दै गएकोप्रति चिन्ता गर्ने पत्रकार महासङ्घले आफैले आयोजना गरेको तालिमबाट आशाको दियो बलेको जनाएको छ । “पत्रकारितामा हिजो अवसर थिएनन्, जनशक्ति फालाफाल हुन्थ्यो, आज अवसर छन् तर जनशक्ति पाइन्न”, पत्रकार महासङ्घका अध्यक्ष दिल शिरीष भन्नुहुन्छ, “योग्य पत्रकारलाई अहिले जहाँ पुग्दा पनि खोसाखोस हुन्छ ।” तालिमले पत्रकारिता क्षेत्रमा लाग्ने प्रेरणा प्रदान गरेको उहाँले बताउनुभयो ।

आधारभूत तालिममा पत्रकारिताका सबै पक्षको सामान्य जानकारी दिँदा मात्रै अहिलेको पुस्ताले त्यसको गहन अध्ययन आफै गर्नसक्ने उहाँको बुझाइ छ । प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले पत्रकारिता जस्तो सम्मानित पेशामा आकर्षण घट्नु दुःखद रहेको बताउनुभयो । धौलागिरि एफएमका स्टेशन प्रमुख उमाकान्त शर्माले योग्य पत्रकारलाई अहिले पनि रोजगारीको ठाउँ खाली रहेको बताउनुभयो । उहाँले सञ्चारमाध्यमले खोजेको जस्तो जनशक्ति पाउनै कठिन भइरहेको बताउनुभयो । पाँच दिन चलेको तालीममा जिल्लामा क्रियाशील पत्रकारले सहजीकरण गरेका थिए ।

१ प्रतिक्रिया

  1. धन्यवाद ,नेपाल पत्रकार महासंघ बाग्लुङलाई😊

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button