नेपाली चलचित्र ‘तिम्रो मेरो साथ’को छायाँकंन सकियो

कलाकार सन्दीप क्षेत्रीले गरे साम्राज्ञीको बचाउ

पोखरा न्यूज । नेपाली चलचित्र ‘तिम्रो मेरो साथ’को छायांकन सकिएको छ । आगामी दिपावलीको अवसरमा रिलिज गर्ने लक्ष्यका साथ निर्माण गरिन लागेको यो चलचित्रको छायांकन ३३ दिनमा सकिएको शनिबार पोखरामा चलचित्र युनिटले ‘इन्ड क्लाप’ कार्यक्रम मार्फत दिएका छन् ।

रमेश एमके पौडेलको निर्माण तथा निर्देशनमा बन्दै गरेको यो चलचित्रको छायाकंन काठमाण्डौ र पोखरामा गरिएको हो । प्रमोशन खर्च बाहेक १ करोड ८० लाखको लगानीमा निर्माण हुँदै गरेको चलचित्रले दर्शकको मन जित्नेमा चलचित्र युनिट ढुक्क छन् ।

चलचित्रको अर्को निर्मातामा पासाङ लामा समेत रहनुभएको छ । कार्यकारी निर्माता शविर श्रेष्ठ रहनुभएको छ । चलचित्रका स्क्रिप्ट समेत श्रेष्ठको नै हो । सहनिर्मातामा निरु भण्डारी, सुमन पौडेल, सुधीर पराजुली रहनुभएको छ । सिनेमेट्रोग्राफरको जिम्मा शिव ढकाल तथा चिफ एडीको जिम्मा रामशरण कोइरालालाई दिइएको छ ।

चलचित्रमा ४ वटा गीत समावेश गरिनेछ । सुभाष भुषाल र योगेश काजीको संगीतमा रहने गीतमा सुगम पोखरेल, मेलिना राई, अस्मिता अधिकारी, सनिष श्रेष्ठ, जगदीश समाल, योगेश काजी, सारीका घिमिरेको आवाज सुन्न पाइनेछ । गीतको रचना निर्देशक तथा निर्माता पौडेलले गर्नुभएको हो ।

चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्पबहादुर खड्का, सरोज खनाल, सन्दीप क्षेत्री, इम्ली लामा, खड्क बहादुर पुन, दिपेश केसी आदि कलाकारको अभिनय हेर्न पाइनेछ । चलचित्रमा कोरियोग्राफरको भूमिका राम्जी लामिछानेलाई दिइएको छ ।

पोखरामा सञ्चारकर्मीमाझ निर्माण तथा निर्देशक रमेश एमके पौडेलले ‘तिम्रो मेरो साथ’ लवस्टोरी चलचित्र भएको बताउनुभयो । चलचित्र निर्धारित समय ३५ दिन राखिएपनि २ दिन अगाडिनै छायाकंन सकिएको उहाँको भनाई थियो । ‘सबै कलाकारले उत्कृष्ट काम गर्नुभएको छ । राम्रो तरिकाले छायाँकंन सकिएको छ । अहिलेको समयमा चलचित्र उद्योगलाई माया गरेर सबै एकजुट भएर चलचित्र उद्योगलाई अगाडि बढाउनपर्छ भनेर चलचित्र निर्माण गर्दैछौ, सबैले नेपाली चलचित्रलाई माया गर्नुपर्छ’ निर्देशक पौडेलले बताउनुभयो ।

अभिनेता पुष्पबहादुर खड्काले यो समयमा चलचित्र क्षेत्रमा काम गर्नु चुनौतीपूर्ण रहेको बताउनुभयो । ‘कोरोनाको कारण कम चलचित्र निर्माण भइरहेको बेला एउटा सहज वातावरण बनाएर काम गर्नू चुनौतिपूर्ण थियो’ उहाँले भन्नुभयो ।

कोभिड १९ कारण फ्रिज भएको चलचित्र क्षेत्रलाई चलामान बनाउन निर्माण पक्षले हिक्मत जुटाएकोले सबैले साथ दिनुपर्ने उहाँको भनाई थियो । सुरक्षा मापदण्ड अपनाएर ग्राह्रो अवस्थामा पनि सहज वातावरणमा चलचित्रको छायाकंन सकिएको उहाँले खुलाउनुभयो । चलचित्रको क्लामेक्स तथा इन्डिङ पोखरामा गर्नु पाउनु खुशीको कुरा भएको समेत अभिनेता खड्काको भनाई थियो ।

दर्शकलाई हलसम्म आउन सकारात्मक सन्देश प्रवाह गर्ने बेला अहिले भएकोमा उहाँको जोड थियो । ‘चलचित्र हलमा दर्शक आउने क्रमको सुरुवात भएको छ । एक अर्कालाई सर्पोट गरेर अगाडि बढ्नुपर्छ’ उहँले भन्नुभयो । चलचित्र ‘तिम्रो मेरो साथ’ को कथा राम्रो रहेको तथा आफूहरुले काम समेत उत्कृष्ट गर्ने प्रयास गरेको उहाँले सुनाउनुभयो । ‘राम्रो गरेका छौँ, पोजेटिभ भाइब्स आएको छ, दर्शको साथ पाउनेछौँ’ खड्काले भन्नुभयो ।

कलाकार सन्दीप क्षेत्रीले कोभिडको बेलामा चलचित्र क्षेत्रलाई चलायमान बनाउने उद्देश्यले चलचित्र युनिटले काम गरेको बताउनुभयो । यो चलचित्रमा काम गर्ने मौका पाएकोमा उहाँले खुशी व्यक्त गर्नुभयो । चलचित्रले दर्शकको साथ पाउनेमा आफुहरु ढुक्क रहेको क्षेत्रीको भनाई थियो । ‘चलचित्र बनाउनजेलसम्म आर्ट हो, हलमा लागिसकेपछि विजनेस हो, कलात्मक चलचित्र बनाउदैछौ, सोही कारण व्यवसायिक सफलता पाउँछ भन्नेमा विश्वस्त छौँ’ क्षेत्रीले थप्नुभयो ।

चलचित्रको कथाले दर्शकको माया पाउनेमा चलचित्रका लेखक शवीर श्रेष्ठको विश्वास छ । उहाँले चलचत्रिको कथा लेख्ने क्रममा सकेसम्म न्याय गरेको बताउनुभयो ।चलचित्र पत्रकार संघ नेपाल कास्की शाखाको आयोजनामा भएको ‘इन्ड क्लाप’ कार्यक्रमको अध्यक्षता चलचित्र पत्रकार संघ नेपाल कास्की शाखाका अध्यक्ष अरुण गिरी तथा कार्यक्रमको सञ्चालन सचिव प्रभु अधिकारीले गर्नुभएको थियो ।

‘इन्ड क्लाप’ कार्यक्रममा चलचित्रकी मुख्य कलाकार साम्राज्ञी राज्यलक्ष्मी शाह भने उपस्थित हुनुभएन । आयोजकले निमन्त्रणा गर्दा भने उहाँ कार्यक्रममा उपस्थित हुने भनिएको थियो । कार्यव्यस्तता कारण उहाँ उपस्थित हुन नसकेको भनेर चलचित्र निर्माण पक्षले भनेपनि उपस्थित सञ्चारकर्मीले भने मिडिया फेस गर्न नचाएको कारण उहाँ उपस्थित हुन नसकेको हुन सक्ने भनेर आशंका व्यक्त गरेका थिए । कलाकार सन्दीप क्षेत्रीले भने साम्राज्ञीको बचाउ गर्दै सञ्चारकर्मीको आशंकालाई चिर्ने प्रयास गर्नुभएको थियो । त्यसोत ‘इन्ड क्लाप’ कार्यक्रमका आयोजक चलचित्र पत्रकार संघ नेपाल कास्की शाखाले सञ्चारकर्मीलाई बोलाउदा सामाज्ञी उपस्थित हुने भनिएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button