एउटै जिल्लाबाट ५०५ फरार अपराधी पक्राउ

पोखरा न्यूज । विभिन्न मुद्दामा कैद तथा जरिवाना सजाय पाएर फरार रहेका ५०५ अपराधीलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।

चालु आर्थिक वर्ष २०७७/७८ को साउनदेखि माघ मसान्तसम्मको अवधिमा पछिल्लो पटक विगत पाँच महिनादेखि हालसम्म फरार रहेका अपराधीलाई प्रहरीले विभिन्न ठाउँबाट पक्राउ गर्न सफल भएको प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले जानकारी दिनुभयो ।
जबरजस्ती करणीका फरार अभियुक्त सप्तरीको सुरुङ्गा नगरपालिका-५ बस्ने २० वर्षीय मो. सहादतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार फरार प्रतिवादीमा कुटपिट मुद्दाका सर्वाधिक छन् भने सवारी ज्यान, कर्तव्य ज्यान, गाली बेइजती, ठगी, जबरजस्ती करणी, लेनदेनलगायत मुद्दाका फरार प्रतिवादी पनि रहेको तथ्याङ्कमा उल्लेख छ ।

पक्राउ परेका फरार प्रतिवादीबाट ६५ वर्ष छ महिना २२ दिन कैद बक्यौता तथा जरिवानाको बक्यौता रु १२ लाख ७७ हजार ७२६ असुली गरिएको जिल्ला प्रहरी कार्यालय प्रनाउ साहको भनाइ छ । पक्राउ परेका सबैलाई अदालतमा उपस्थित गराई कैद भुक्तानका लागि राजविराज कारागार चलान गरिएको उहाँले बताउनुभयो ।

त्यस्तै यस अवधिमा भन्सार छली गरी भित्र्याइएका ८८ मोटरसाइकल, आठ अटोरिक्सा, पाँच ट्र्याक्टर, तीन पिकअप तथा दुई टेम्पो नियन्त्रणमा लिई कारवाही प्रक्रिया अगाडि बढाइएको छ । सवारीसाधनको रु दुई करोड ३४ लाख १७ हजार ५७२ अनुमानित मूल्याङ्कन गरी भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस अवधिमा जिल्लामा विभिन्न अपराधका ४३७ मुद्दा दर्ता भएका छन् । यो आँकडा गत आवको तुलनामा कम रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसैगरी सप्तरी प्रहरीले भारतबाट मोटरसाइकलमा तस्करी गरी ल्याउँदै गरेको ६४१ थान विभिन्न तयारी कपडा नियन्त्रणमा लिएको छ ।

गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कडोरबोनाको टोलीले पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिकास्थित बलान खोला पुलमा जाँच गर्ने क्रममा तयारी कपडा नियन्त्रणमा लिएको हो । प्रहरीले तस्करीका कपडा र तस्करीमा प्रयोग भएका तीन वटा मोटरसाइकसहित दुई तस्करलाई नियन्त्रणमा लिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button