लमजुङ्गे ठाडो भाका ‘भन्छ र यसै माया जाल’ को समीक्षा

पोखरा न्यूज । नमस्ते पोखराको प्रस्तुतिमा तयार हुँदै गरेको संस्कृतिकर्मी बुद्धिमान गुरुङ धम्पु र सीता दुराको लमजुङ्गे ठाडोभाका ‘भन्छ र यसै माया जाल’ को पोखरामा समीक्षा गरिएको छ ।

भिडियोमा देखिने सामान्य त्रुटिलाई सच्याउने उद्देश्यले गीत रिलिज गर्नु अगाडि भिडियो हेरेर समीक्षा गर्ने कार्यक्रम गरिएको भिडियोका निर्देशक छवि सुवेदीले बताउनुभयो । भिडियो हेरेपछि केही महत्वपूर्ण सुझाब प्राप्त भएको सुवेदीले बताउनुभयो । यसरी सुझाब दिनेमा वरिष्ठ लोक गायिका प्राज्ञ हरिदेवी कोइराला, नेपथ्य व्यान्डका गायक अमृत गुरुङ, दुरा समाज कास्कीका अध्यक्ष लालजंग दुरा, तुलसी प्रभास, कल्याण पन्त, ईश्वर चिलुवाल, दीपक घिमिरे हुनुहुन्थ्यो ।

उहाँहरुले दिएका सुझाबको आधारमा गीतलाई सम्पादन गरेर सार्वजनिक गर्ने आफूहरुको तयारी रहेको निर्देशक सुवेदीले खुलाउनुभयो । ‘भिडियो रिलिज गरिसकेपछि आएका सुझाबलाई सम्बोधन गर्न नसकिने भएकोले रिलिज हुन पूर्वनै भिडियो हेरेर समीक्षा गर्दै भिडियोलाई अझै ओजनदार बनाउने प्रयास गरिएको हो’ सुवेदीले भन्नुभयो ।

यो ठाडो भाका गाउन धम्पु र सीतालाई आवाजमा जित सुब्बा दुरा, सुबेदार लालबहादुर दुरा, हरि मुखिया, हस्तमाया दुरा, केशु दुरा, उमा गुरुङ, मिना गुरुङले समेत साथ दिनुभएको छ । गीत नमस्ते पोखरा ब्रोडकास्टिङ स्टुडियो महेन्द्रपुलमा रेर्कड भएको हो । लाइभ बाजाको बजाएर गीतको रेर्कड गरिएको थियो ।

बेलायतबाट कान्छो साला हिमानसिंह दुराले तपाईले आफ्नै ससुराली गाउँमा गएर किन गीत तयार पार्न सक्नुभएको छैन एकपटक पहल गरिदिनु भन्ने आग्रह गरेपछि त्यसलाई सहर्ष स्वीकार गरेर एक दिनमानै यो गीत तयार भएको गीतका सर्जक धम्पु बताउनुहुन्छ । ‘बेलायतबाट मेरो कान्छो साला हिमानसिंह दुराले फोन गरेर तपाईले आफ्नै ससुराली गाउँमा गएर किन गीत तयार पार्न सक्नुभएको छैन, एकपटक पहल गरिदिनु भन्ने आग्रह गरे, उनको आग्रहलाई स्वीकार गरेर गीत तयार पार्न खोजे, यो गीत मैले एक दिनमानै सिर्जना गरेको थिए’ धम्पुले भन्नुभयो ।

गीत तयार भएपछि भिडियो छायाकंनको लागि टिम धम्पुको ससुराली गाउँ लमजुङ जिल्लाको मध्यनेपाल १० नास्के, वर्घानमा पुगेको थियो । छायाकंन टिले भिडियोलाई उत्कृष्ट बनाउन निकै मेहनत गरेको छ । यो ठाउँ गीतका सर्जक बुद्धिमान गुरुङको ससुराली गाउँ हो ।

भिडियोको छायाकंन वर्घानमा रहेको देउबहादुर दुरा स्मृति संग्रालयमा गरिएको छ । धेरै चरणमा लमजुङको ठाडो भाका गाइसक्नुभएको धम्पुले पहिलोपटक ससुराली गाउँलाई लक्षित गरेर गीत तयार पारेको पोखरा न्युजसँग सुनाउनुभयो ।

भिडियोका छायाकंन प्रेमबहादुर गुरुङ, टेकमाया गुरुङ, सन्देश गुरुङ, आशिष गुरुङले गर्नुभएको हो । छवि सुवेदीको निर्देशनमा तयार भएको भिडियोलाई सम्पादन प्रेमबहादुर गुरुङले गर्नुभएको छ । भिडियोको प्रोष्ट प्रोडक्सनको काम सुपर युनिक फिल्मस् पोखरामा भएको हो ।

यो ठाडो भाका झण्डै २ घण्टा अवधिको हुनेछ । गीतलाई केही दिनमा नमस्ते पोखराको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिनेछ । भिडियोमा ठाडो भाका लोककला प्रतिष्ठान लमजुङका अध्यक्ष नवराज पहाडी, लमजुङ मध्ये नेपाल १० का वडाध्यक्ष रामचन्द्र भण्डारी, वडा सदस्य पूर्णबहादुर दुरा र दुरा समाज कास्कीका अध्यक्ष लालजंग दुराले लमजुङको ठाडो भाकाको बारेमा भन्नुभएका केही महत्वपूर्ण भनाईलाई समेत समावेश गरिएको छ ।

लमजुङको ठाडो भाकाको आफ्नै महत्व रहेको छ । ठाडो भाका लमजुङ, गोरखा, तनहूँ, कास्की तथा स्याङजा जिल्लामा बढी प्रचलित छ । ठाडो भाकाको शुुरुवात देउबहादुर दुराले गर्नुभएको हो । देउबहादुर दुराबाट सिर्जना भएकोले ठाडो भाकालाई ‘दुरा भाका’ समेत भन्ने गरिन्छ । देउबहादुरसँगै ठाडो भाका पञ्चसुब्बा गुरुङले गाउनुभयो । त्यसपछि दीर्घराज अधिकारी भेडिखर्के साहिंलाले ठाडो भाकालाई स्थापित गर्न सघाउनुभयो ।

पछिल्लो समयमा बुद्धिमान दुरा धम्पु, हस्तमाया दुरा, उत्तम गुरुङ, नन्दमाया दुरा, सीता दुरा, पदमदेवी दुरा, शिवकुमारी दुरा, कृष्ण गुरुङ, हरिमाया गुरुङ आदि ठाडो भाका संरक्षणमा लाग्नुभएको छ । सुरुवाती चरणमा पुरुषले मात्र गाउने गरेको ठाडोभाकामा पछिल्लो समयमा महिलाको समेत महत्वपूर्ण उपस्थिति हुन थालेको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button