फेवाताल संरक्षण हुन नसक्दा पोखरेलीलाई चिन्ता

पोखरा न्यूज । पोखराको फेवाताल संरक्षणमा तीन तहका सरकारको समन्वय आवश्यक भएको सोमबार पोखरामा आयोजित एक कार्यक्रमका वत्ताहरुले जोड दिएका छन् ।

पोखराको एक एफएमद्वारा आयोजित एक छलफल कार्यक्रममा सहभागीहरुले उक्त कुरा बताएका हुन्। कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले हाल फेवातालको बाँध मर्मतको क्रममा महानगरसँगकोे समन्वय बिना गण्डकी प्रदेश सरकारले काम गर्दा तालबाट माटो निकाल्नेलगायतका कार्य गर्न नसकिएको बताउनुभयो ।

लेकसाइडदेखि घाँटीछिनासम्म एक वर्ष भित्रमा बाटो खनिएकोमा माटो व्यबस्थापन गरिने दाबी गर्दै मेयर जिसीले आगामी वर्ष भन्ज्याङसम्म बाटोको व्यबस्थापन गरी फेवातालमा आउने माटो रोक्नु पर्ने बताउनुभयो । अझै पनि फेवातालको संरक्षणमा प्रदेश र संघीय सरकारले उचित कदम चाल्न नसकेको उहाँको गुनासो छ । फेवातालको मापदण्ड मिचेर बनाएका भौतिक संरचना ढिलोचाँडो महानगरले भत्काउने मेयर जिसीले चेतावनी दिनुभयो ।

फेवाताल सीमाङकन नक्शाकन समितिका संयोजक पुण्य पौडेलले फेवातालको सीमाङकनको काम सकिएसँगै नक्साङकनको काम सजिलैसँग गर्ने दाबी गर्नुभयो । वि.स २०१० साल देखि २०७२ सालसम्म भए गरेका फेवाताल सम्बन्धी अध्ययन एवं प्रतिवेदनहरु हेर्दा एकरुपता नभएको उहाँले तथ्य पेश गर्नुभयो ।

“वर्षायाममा पानीले ढाकेको जमीन, निरन्तर रुपमा बग्ने भकुण्डे खोला, सर्वेसमेत गरेका छौं । ” सर्वोच्च अदालतले खटाएको विश्व प्रकाश लामिछानेको प्रतिवेदनमा चार किल्लामा आफूहरु समेत सहमत भएको पौडेलले बताउनुभयो ।

पृथ्वीनारायण क्याम्पसका पूर्व प्रमुख डा. देवेन्द्र लामिछानेले करिब २५ सय वर्ष अगाडि फेवाताल निर्माण भएको दाबी गर्दै त्यतिबेला फेवातालको लम्बाई करिब १० किलोमिटर भएको जनाए । फिस्टेल लजबाट शुरु भएर पश्चिममा ठूलाखेत हुँदै हर्पन खोलाको पञ्चासे पहाडको फेदीसम्म फेवाताल फैलिएको उहाँको दाबी छ । त्यसपछि क्रमशः विभिन्न चरणमा आएका बाढी पहिरोले फेवाताललाई पुर्दै जाँदा फेवातालको आकार अहिलेको अवस्थामा पुगेको लामिछानेले बताउनुभयो ।

बाँध खोल्नुभन्दा अगाडि तालले ओगटेको क्षेत्रफल तालको वास्तविक क्षेत्रफल भएको डा. लामिछानेको भनाई छ । दिगो रुपमा फेवातालको संरक्षण गर्नको लागि ताल भन्दा माथिल्लो भेगबाट आउने र खहरे खोलाले ल्याउने ढुंगा, माटोलाई नियन्त्रण गर्नुपर्ने तर्क उहाँको छ ।

नापी कार्यालय कास्कीका प्रमुख इन्जिनियर खिमलाल गौतमले समितिको सहकार्यमा आफूहरुले फेवातालको सीमाङकन तथा नक्साङकनको ४५ प्रतिशत काम सम्पन्न गरेको दाबी गर्नुभयो । “ऐतिहासिक तथ्य, सर्वे र अग्रजको भनाइलाई आधार बनाएर हामीले फिल्ड सर्वे गर्दै छौं ।” उहाँले भन्नुभयो । फेवातालको बारेमा यस अघि भएका अध्ययनको आधारलाई पनि आफूहरुले अध्ययन तथा अवलोकन गरेको उहाँको भनाई छ ।

पोखरा उपत्यका नगर विकास समितिका पूर्व अध्यक्ष विश्वप्रकाश लामिछानेले ९ हजार ९ सय ५५ रोपनी जग्गा पानीले ढाकेको जानकारी गराउनुभयो । बाँध फुटेको अबस्थामा २०३४/०३५ साल तिर सर्पट नापीले फिल्डमा नगई कागजी रुपमा केही व्यक्ति बिशेषले दर्ता गरेको भेटिएको पूर्व अध्यक्ष लामिछानेले बताउनुभयो । १० हजार ६३ रोपनी जग्गा मध्ये २१ सय १ रोपनी जग्गा विवादित भएको पाइएको हाँको भनाई छ । १६ सय ९२ रोपनी जग्गा पानीमुनि भएकोले राज्यको ध्यान पुग्नुपर्छ भनेर आफूहरुले सुझाव दिइँदै आएको उहाँको भनाई छ ।

पर्यटन व्यवसायी हरि पौडेलले फेवातालको कारण पोखराको लेकसाइडमा मात्र करिब ५० हजार जनाले प्रत्यक्ष रुपमा रोजगार प्राप्त गरेकोले फेवातालको दिगो रुपमा संरक्षणको लागि अब योजना बनाएर काम गर्नुपर्ने बताउनुभयो । अधिवक्ता सुरेन्द्र थापा मगरले कुनै व्यक्तिले सरकारी जग्गा अधिग्रहण गरेमा कुनै पनि बेलामा बदर हुने कानुनी व्यबस्था रहेको बताउनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button