आँखा परीक्षण गर्न पाउँदा …

पोखरा न्यूज । तनहुँ जिल्लाकाे व्यास नगरपालिका–४ सिमलटार निवासी गोपनास सापकोटा ७९ वर्ष पुग्नुभयो । उहाँलाई आँखामा आँसु बगिरहने समस्या छ । ७० वर्ष नाघेपछि उहाँलाई यस्तो समस्या देखिएको छ । यही समस्या सुनाउँदै उहाँ व्यास नगरपालिकाले आयोजना गरेको आँखा परीक्षण शिविरमा आउनुभयो ।

व्यास नगरपालिकाले ज्येष्ठ नागरिकलाई लक्षित गरेर मङ्गलबारदेखि आँखा परीक्षण शिविर शुरु गरेको छ । शिविरमा आउनुभएका सापकोटालाई चिकित्सकले चस्मा लगाउन सुझाव दिनुभयो । “आँखाबाट आँसु आइरहन्थ्यो, परीक्षण गर्ने अवसर पनि जुटेको थिएन, नगरपालिकाले आयोजना गरेको शिविरमा आएर आँखा जँचाउन पाइयो, खुशी लागेको छ”, उहाँले भन्नुभयो ।

व्यास नगरपालिका–२ निवासी ८७ वर्षीया वेदमाया वाग्लेले घरआँगनमै आँखा परीक्षण गराउन पाउँदा खुशी लागेको बताउनुभयो । “बूढेसकालमा घरआँगनमै आँखा परीक्षण गराउन पाउँदा सजिलो भयो”, उहाँले भन्नुभयो । ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई लक्षित गरी हिमालयन आँखा अस्पताल घारीपाटन पोखराको प्राविधिक सहयोगमा नगरपालिकाले चारदिने आँखा शिविर शुरु गरेको छ । शिविरमा नगरपालिकाका १४ वटै वडाका ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको आँखा परीक्षण गरिनाका साथै आवश्यकताअनुसार निःशुल्क औषधि र चस्मा वितरण गरिनेछ ।

आँखा परीक्षण गर्दा शल्यक्रिया गर्नुपर्ने अवस्था भएकालाई निःशुल्क शल्यक्रिया सेवासमेत प्रदान गरिने नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताउनुभयो । उमेर ढल्किँदै जाँदा आँखासम्बन्धी समस्याका कारण कठिनाइ भोग्न नपरोस् भन्ने उद्देश्यले सबै वडा समेटिने गरी शिविर सञ्चालन गरिएको नगरप्रमुख न्यौपानेले बताउनुभयो । “ढल्ँिकदो उमेरसँगै आँखाको ज्योति कमजोर हुन्छ । ज्येष्ठ नागरिकका सामान्य दैनिकी समेत प्रभावित हुने हुँदा शिविर आयोजना गरेका हौँ”, उहाँले भन्नुभयो ।

प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलका अनुसार शिविरको पहिलो दिन व्यास नगरपालिका–१, २, ३ र ४ का ज्येष्ठ नागरिकको आँखा जाँच गरिएको छ । फागुन १२ गते व्यास नगरपालिका–५, ६, ७ र ८ का ज्येष्ठ नागरिकको आँखा परीक्षण गरिनेछ । त्यस्तै फागुन १३ गते व्यास नगरपालिका–९, १०, ११, १२ र फागुन १४ गते व्यास नगरपालिका–१३ र १४ का ज्येष्ठ नागरिकको आँखा परीक्षण गरिनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button