मध्यपहाडी लोकमार्गको पोखरा-बागलुङ खण्डमा धमाधम कालोपत्र

पोखरा न्यूज ।  मध्यपहाडी पुष्पलाल लोकमार्गको पोखरा-बागलुङ खण्डमा धमाधम सडक कालोपत्र भइरहेको छ । साँघुरो र धेरै ठाउँमा जीर्ण प्रायः बनेको भूपि शेरचन राजमार्गलाई अहिले राष्ट्रिय गौरवको आयोजनाको रुपमा मध्यपहाडी लोकमार्गका रुपमा स्तरोन्नति गर्ने क्रम तीव्र छ ।

पश्चिम क्षेत्रको सर्वाधिक चल्तीको मार्ग भए पनि यस सडकमा यात्रा गर्न सकसपूर्ण भएकाले अहिले लोकमार्गको विस्तार र स्तरोन्नतिसहित धमाधम सडक कालोपत्र भइरहेको मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजनाले जनाएको छ । पोखराबाट पर्वत हुँदै बागलुङसम्मकोे ६२ किलोमिटर सडकमा धमाधम कालोपत्रको काम भइरहेको छ । अहिले कास्की जिल्लाको हेम्जाको छ लेन र पर्वत जिल्लाको कुश्मा बजारबाट अर्मादीसम्मको दुई लेन सडकमा कालोपत्रको काम भइरहेको छ भने घट्टेखोलाको पूलबाट कास्की नयाँ पुलसम्मको २५ किलोमिटर सडक कालोपत्र सम्पन्न भइसकेको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख मेघराज मरासिनीले जानकारी दिनुभयो ।

“कोरोना कहरका कारण केही ढिला भएको थियो, अहिले निकै द्रुत गतिका साथ सडक कालोपत्र भइरहेको छ”, उहाँले भन्नुभयो, “भवितव्य नभए पोखरा-बागलुङ खण्डको काम यही असारसम्म सक्नेमा हामी विश्वस्त छौँ ।” विसं २०७४/७५ मा पोखरा–बागलुङ खण्ड स्तरोन्नति गरी कालोपत्र गर्न उक्त ६२ किलोमिटर सडकलाई चार खण्डमा विभाजन गरी तीन वर्षका लागि ठेक्का लगाइएको थियो । ठेक्का अवधिभित्र कोरोनाका कारण पाँच महिना मात्रै समय अवधि थप गर्न सकिने आयोजना कार्यालय पर्वतका इञ्जिनीयर उज्वल शर्माले बताउनुभयो ।

मध्यपहाडी पुष्पलाल लोकमार्गको पोखरा–बागलुङ खण्डको ६२ किलोमिटरमध्ये झण्डै ४० किलोमिटर सडक कालोपत्र भइसकेको छ । अहिले सबै खण्डमा पूर्वाधार निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । अहिले पर्वत खण्डमा समेत सडक विस्तार र कालोपत्र दुवै काम शुरु भइसकेको छ । कास्कीको हेम्जा खण्डको ८० प्रतिशत सडक कालोपत्र सम्पन्न भइसकेको छ भने नयाँपुलबाट कुस्मा-बागलुङ खण्डमा करिब ३० प्रतिशत सडक कालोपत्र भइसकेको छ । अन्य स्थानमा धमाधम कालोपत्रका लागि बेस, सव बेस तथा ग्राभेल बिच्छ्याउने काम भइरहेको छ । साँघुरो कालोपत्र सडक भत्काएर दुई, चार र छ लेनमा विस्तार गरी कालोपत्र भइरहेको छ ।

लोकमार्गअन्तर्गत पोखरा-बागलुङ खण्डको कास्कीको हेम्जास्थित याम्दी पुलदेखि यताको छ किलोमिटर सडक शर्मा एण्ड कम्पनी जेभी, हेम्जाको दोस्रो खण्डको घट्टे पुलसम्मको छ किलोमिटर सडक स्वच्छन्द/इलाइन्ट जेभी, घट्टेखोलादेखि कास्की नयाँपुलसम्मको २५ किलोमिटर सडक श्रेष्ठ/दिवा/एपेक्स जेभी र नयाँपुलदेखि बागलुङ र पर्वतको सिमानास्थित मालढुङ्गासम्मको २५ किलोमिटर सडक लामा कन्ट्रक्सनले निर्माणको जिम्मा लिएको छ । छ लेनको सडक रहेको कास्कीको याम्दी पुलदेखि फेदीखोला नजिकैको ११ किलोमिटर र फेदीखोलासम्मको दुई लेनको एक किलोमिटर सडकको भौतिक प्रगति ८० प्रतिशत पुगेको आयोजना कार्यालयका कास्की खण्डका इञ्जिनीयर अनन्त बरालले बताउनुभयो ।

बैसठ्ठी किलोमिटर सडकको लागत अनुमान झण्डै रु चार अर्बको रहेको मध्यपहाडी लोकमार्गले जनाएको छ । शुरुमा झण्डै ५.५ मिटर चौडा रहेको भूपि शेरचन राजमार्गलाई मध्यपहाडी लोकमार्ग भएपछि हेम्जामा छ लेनको झण्डै ११ किलोमिटर ३० मिटरको चौडा, कुस्मा बजारमा दुई किलोमिटर सडक चारलेनको २२ मिटर चौडा र अन्य सडक दुई लेनको १० मिटर चौडा पारिएको हो ।

छ लेनको ११ किलोमिटर र अन्य सडक छुट्टाछुट्टै प्रविधिबाट कालोपत्र गरिरहेको आयोजनाका इञ्जिनीयर शर्माले जानकारी दिनुभयो । छ लेनको सडक अलकत्रासँग घोलिएरको चिप्स गिट्टीले कालोपत्र गरिएको छ भने अन्य सडकखण्ड अलकत्रा बिच्छ्याइएपछि चिप्स गिट्टी मात्रै हालेर कालोपत्र भइरहेको छ । आयोजनाको पोखरा बागलुङ खण्डले तीव्रता पाए पनि ठेक्का शुरु गरेको चार वर्षसम्म बागलुङदेखि रुकुम खण्डको १४० किलोमिटर सडकमा अझै ४६ किलोमिटर सडक कालोपत्र हुन बाँकी छ ।

निसीखोला खण्डमा कालोपत्र गर्ने कामको सन्तोषजनक अवस्था रहे पनि बागलुङ बजारबाट घोडाँबाधेसम्मको २५ किलोमिटर सडक कालोपत्र हुन सकेको छैन । घोडाबाँधेदेखि खर्बाङसम्मको ३५ किलोमिटरमा सबै भागको काम सकिएको छ । छब्बीस जिल्लाका सर्वसाधारणलाई फाइदा हुने गरी विसं २०६४ मा डिजाइन गरिएको लोकमार्ग अहिले निर्माण चरणमै छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button