तनहुँमा ‘एग्रो कृषि टुरिजम क्षेत्र’ पर्यटन प्रवद्र्धन गरिँदै

पोखरा न्यूज । तनहुँ जिल्ला व्यास नगरपालिका–१० ले आफ्नो वडामा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ‘कृषि एग्रो टुरिजम क्षेत्र’ बनाउने गरी निर्माण कार्य अघि बढाएको छ ।

देवीडाँडा पर्यटन प्रवद्र्धन विकास समिति र नारेश्व ताल पर्यटन प्रवद्र्धन विकास समिति बनाएर वडालाई कृषि एग्रो टुरिजम क्षेत्र बनाउन लागेको हो । समुन्द्री सतहदेखि उचाइमा रहेको ऐतिहासिक पर्यटकीयस्थल देवीडाँडा वनभोजस्थल दृश्यावलोकन खम्बा (भ्यूटावर) निर्माण गरेर फूलैफूलको बगैँचा बनाउने योजनाअनुरुप काम भइरहेको वडाध्यक्ष तुलसीराम सापकोटाले बताउनुभयो ।

सो स्थानमा अहिले सार्वजनिक शौचालय र ट्रष्ट निर्माण गर्ने काम भइरहेको छ । उहाँले भन्नुभयो, “सो स्थानबाट सिधै फुड ट्रयाक बनाएर खहरेस्थित छाङ्गबाराही मन्दिर जोड्ने लक्ष्य रहेको छ ।” चालिस फिट अग्लो उचाइको भ्यूटावर निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) गरिसकिएको छ । टावर निर्माणका लागि व्यास नगरपालिकाले रु १५ लाख बजेट विनियोजन गरिसकेको वडाध्यक्ष सापकोटाले जानकारी दिनुभयो ।

व्यासमार्ग हँुदै पर्यटक छाङ्गबाराही मन्दिरको अवलोकनपश्चात् निर्माण गरिएको सिंढी चढ्दै देवीडाँडा पुग्न सकिने छ । देवीडाँडामा निर्माण गरिएको भ्यूटावरबाट दृश्यावलोकनपश्चात् दुम्सीचौरस्थित कालिका मन्दिरको दर्शन गरी थालीडाँडा होमस्टेमा पुगेर बास बस्ने व्यवस्था मिलाइने छ । भ्यूटावरबाट जिल्लाको अधिकांश भाग देख्न सकिन्छ । पहाडकी रानी नामले परिचित बन्दीपुर, दमौली, फराकचौर, गजौडे, मादी, दरबार, मिर्लुङकोट, क्यामिनकोट, मानुङकोट र गलेखामकोटलगायतका स्थानको अवलोकन गर्न सकिन्छ ।

नारेश्वर तालमा जलविहार गराई तालघरे मार्ग हँुदै पृथ्वी राजमार्गमा पुगेर पर्यटक गन्तव्यमा पुग्न सक्नेछन् । तालमा डुङ्गा चलाउने, तालको दायाँबायाँ कटेज तथा फुड ट्रयाक बनाउने कालिका जङ्गलमा रिसोर्ट निर्माण गर्नेलगायतका संरचना निर्माण गरिने छ । तालको प्रक्रिया बल्ल सकिएको छ । उहाँले भन्नुभयो, “जग्गाको मुआब्जा, पर्यटन मन्त्रालय, विभाग र प्रदेश स्वीकृति, प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बैठक बसेर ३५ दिने सूचना प्रकाशित, मुआब्जा यकीन गरी सार्वजनिक सूचना प्रकाशित गर्ने कार्य टुङ्गिएको छ ।”

पच्चीस रोपनी पुर्जा र २० रोपनी ओइलेनी जग्गा गरी ४५ रोपनी क्षेत्रफलमा ताल निर्माण गर्न लागिएको छ । व्यास नगरपालिकाको रु डेढ करोड र गण्डकी प्रदेशको रु एक करोड ३७ लाख विनियोजन भएको छ । तालको पानीलाई लिफ्टिङमार्फत सिँचाइ प्रबन्ध मिलाएर फलफूल तथा तरकारी बालीलाई प्रोत्साहन गर्ने लक्ष्य रहेको छ ।

प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत व्यासमार्गदेखि देवीडाँडासम्मको करीब ३०० मिटर दूरीमा सिंढी र पर्खाल लगाउने कार्य भइरहेको छ । व्यास नगरपालिकाको रु तीन लाखको लागतमा सिंढी र करीब ५० मिटर पर्खाल लगाउने कार्य भइरहेको छ । दुम्सीमा हरियो दुबोमा दुम्सी चरिहेको प्राकृतिक किसिमको मूर्तिसमेत निर्माण गर्ने योजना रहेको बताइएको छ । नाउँअनुरुपको ठाउँको परिचित गर्दै पर्यटन प्रवद्र्धनका लागि जोड गरिएको वडाध्यक्ष सापकोटाले बताउनुभयो ।

गोब्रे पोखरीको संरक्षण

देवीडाँडा नजिक रहेको गोब्रे पोखरीको संरक्षण गरिने भएको छ । स्थानीय गोवद्र्धन शर्मा पोख्रेलले खन्नुभएको गोब्रेपोखरी गोब्रे पोखरी संरक्षण गर्न लागेको हो ।

देवीडाँडाबाट प्रजातन्त्रका सेनानी पोख्रेलले बनाएको पोखरीको बाटो हुँदै व्यासमार्ग–खहर निस्किने गरी सामानन्य बाटो खोल्न लागिएको छ । माहिन्दी नदीमा स्नान गरी छाङ्ग बाराही मन्दिरको दर्शन गरी फर्किने गरी दीर्घकालीन योजनाका साथ अघि बढाइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button