राजनीतिलाई सही मार्गमा डोर्याउन जनताको साथ चाहिन्छ :नेता सिंह

पोखरा न्यूज । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले देशको राजनीति ठीक नभई अरु क्षेत्र नसुध्रने भएकाले राजनीतिलाई सही मार्गमा डो¥याउन जनताको साथ हुनुपर्ने बताउनुभएको छ ।

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रालिको नवौँ वार्षिकोत्सवका अवसरमा आज राजधानीमा आयोजित चिकित्सक एवं सञ्चारकर्मीको सम्मान र ‘स्वास्थ्य दर्पण विशेष–४’ विमोचन समारोहलाई सम्बोधन गर्नु हुँदै उहाँले आर्थिक परिवर्तन नभई राजनीतिक परिवर्तनले स्थिरता नपाउने बताउनुभयो । “स्थिरता र समृद्धिको जति भाषण गरे पनि तीन वर्षमा उल्लेख्य काम हुन सकेन, यो बीचमा ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदनमा नेपाल बढी भ्रष्टाचार हुने देशमा सूचीकृत भयो”, पूर्व उपप्रधानमन्त्री समेत रहिसक्नुभएका नेता सिंहले भन्नुभयो ।

पूर्व सांसद रामहरि खतिवडाले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेर संविधानको बाटोमा हिँडाएपछि ढिलो छिटो जनमतमै जानुपर्ने बताउनुभयो । गण्डकी प्रदेशसभा सदस्य विष्णुप्रसाद लामिछानेले शिक्षा र स्वास्थ्यजस्ता मौलिक हकका विषयमा राज्यले सबै जिम्मेवारी लिनुपर्ने बताउनुभयो । चिकित्सकले ढुक्कसँग काम गर्ने वातावरण सरकारले बनाउनुपर्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा लोचन कार्कीले स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीले निर्धक्कसँग काम गर्ने अवस्था अझै हुन नसकेको बताउनुभयो । शहीद धर्मभक्त अङ्ग प्रत्यारोपण केन्द्रका पूर्व निर्देशक प्रा डा पुकारचन्द्र श्रेष्ठले चिकित्सकले रातदिन दुःख गरे पनि जस पाउने अवस्था नरहेको बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घका महासचिव रमेश विष्टले प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने काला कानून अझै संसदीय समितिमा विचाराधीन रहेकाले त्यसविरुद्ध सञ्चारकर्मी एकजुट हुनुपर्ने बताउनुभयो । कोभिडका कारण पेशाबाट विस्थापित भएका पत्रकारलाई पुनः काम गर्ने वातावरण बनाउन राज्यले पनि सहयोग गर्नुपर्ने उहाँको माग थियो ।

चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगञ्जका डिन डा दिव्या सिंहले आधारभूत आवश्यकता पूरा गर्न पनि चिकित्सकको शुल्क समायोजन हुनुपर्ने बताउनुभयो । कलेज अफ मास कम्युनिकेसन एण्ड जर्नालिज्मका प्राचार्य डा मञ्जु मिश्रले स्वास्थ्यकर्मीको सुरक्षाका लागि कानून बनाउन आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा मिडिया प्रालिका अध्यक्ष सन्दीपकुमार श्रेष्ठले झापाबाट कर्णालीसम्मका ५०० चिकित्सा क्षेत्रका व्यक्तित्वलाई हालसम्म सम्मान गरिएको बताउनुभयो । सो अवसरमा मिर्गौला रोग विशेषज्ञ डा ऋषिकुमार काफ्ले, डा इश्वरी लौडारी, स्वास्थ्य पत्रकार मञ्चका अध्यक्ष रामप्रसाद न्यौपाने, नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घका अध्यक्ष डण्ड गुरुङ, नेवाः पत्रकार राष्ट्रि दबुका अध्यक्ष सुरजवीर बज्राचार्य, नेपाल टेलिभिजनका पत्रकार गजुरधन राई, गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय परिषद्का सदस्य अर्जुनकुमार श्रेष्ठलगायतले चिकित्सकलाई सुरक्षाका लागि कानून निर्माण गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button