स्वयंसेविकालाई आँखा रोगबारे प्रशिक्षण

पोखरा न्यूज । आँखामा लाग्ने रोगका विषयमा सचेतना जगाउने ध्येयले महिला स्वास्थ्य स्वयंसेविकालाई प्रशिक्षण दिइएको छ ।

काभ्रेकाे नमोबुद्ध नगरपालिका र रेयुकाइ एईको मासुनागा आँखा अस्पतालद्वारा संयुक्त रुपमा आयोजित तालीमको शुभारम्भ गर्दै नगर प्रमुख टङ्कप्रसाद तिमल्सिनाले नगरपालिकालाई मोतियाविन्दु मुक्त नगर बनाउने अभियान सञ्चालनमा रहेको जानकारी दिनुभयो । उहाँले नगरपालिकाले उपलब्ध गराएको मोबाइल फोन प्रयोग गरेर गाउँघरमा भएका स्वास्थ्य समस्याबारे सूचना उपलब्ध गराउन स्वयंसेविकालाई आग्रह गर्नुभयो ।

नगरपालिकाले रेयुकाई आँखा अस्पतालसँग सहकार्य गरी आँखा शिविर सञ्चालन गरिरहेको छ । आँखा अस्पतालका सचिव धर्मभक्त प्रधानले कोही पनि अन्धोपनको शिकार बन्न नपरोस् भन्ने उद्देश्यले अस्पताल स्थापना गरिएको बताउनुभयो ।
कार्यक्रममा प्रमुख प्रशिक्षक विमल पौडेलले सामान्य लापर्वाहीले पनि अन्धोपनको समस्या देखिने उल्लेख गर्नुहुँदै यसलाई न्यूनीकरण गर्नका लागि तालीम आयोजना गरिएको बताउनुभयो ।
तालीममा नगरपालिकाका विभिन्न वडाका ३६ महिला स्वास्थ्य स्वयंसेविकाको सहभागिता रहेको थियो ।

जनप्रतिनिधि र कर्मचारीका लागि सदाचार प्रवद्र्धन कार्यक्रम

राष्ट्रिय सतर्कता केन्द्रको आयोजनामा जनप्रतिनिधि र कर्मचारीका लागि सदाचार प्रवद्र्धन कार्यक्रम सम्पन्न भएको छ ।

नमोबुद्ध नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीका लागि शुक्रबार भकुण्डेमा आयोजना गरिएको सो कार्यक्रममा नगर प्रमुख तिमल्सिनाले जनप्रतिनिधि र कर्मचारी मिलेमा मात्रै सुशासन कायम गर्न सकिन्छ भन्नुभयो ।

प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले नगरपालिकामा सुशासन कायम गर्ने क्रममा सेवाग्राहीका लागि टोकन प्रणालीको व्यवस्था गरिएको बताउनुभयो ।
केन्द्रका सहसचिव ज्ञानराज सुवेदीले केन्द्रको परिचय, सुशासन प्रवद्र्धन एवं भ्रष्टाचार नियन्त्रणमा जनप्रतिनिधि र कर्मचारीको भूमिका र उपसचिव हरिप्रसाद शर्माले सम्पत्ति विवरण र आयको अनुगमनबारे विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button