
पोखरा न्यूज संवाददाता । नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापा वादलले वर्तमान सरकार जनतालाई कसरी सुखी बनाउन सकिन्छ भनेर दिनरात चिन्तित भइरहेको बताउनुभएको छ ।
नेकपा ओली समूहको गण्डकी प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सोमबार पोखरामा बोल्दै मन्त्री बादलले वर्तमान सरकार समाजबादको बाटोबाट समृद्धि र सुखी नेपाली बनाउने लक्ष्य लिएर अगाडि वढेको बताउनुभयो ।
‘वर्तमान सरकार नेपाली जनता कसरी सुखी हुन्छन भनेर दिनरात चिन्तित छ, हामी स्वदेश तथा प्रवासमा रहेका तीन करोड नेपाली जनताको मुहार खुसी देख्न चाहन्छौ, मन्त्री वादलले भन्नुभयो– अब विकासका ढोकाहरु खेल्नु पर्छ ।’
‘अबको बाटो समाजबादको हो, समाजबाद बिना कुनै पार्टी अगाडि वढ्न सक्ने अवस्था छैन, हाम्रा केही मित्रहरु बाटो बिराएर गुट खडा गरेर अर्को बाटोमा हिडेका छन्, उनीहरु वर्तमान सरकार गिराउने षणयन्त्रमा छन्, मन्त्री थापाले भन्नुभयो– बर्तमान सरकार जनताको सरकार हो, हामी जनताका पक्षमा छौ, यसलाई बलियो बनाएर लानुपर्छ ।’
सो अवसरमा पशुपंछी तथा कृषि मन्त्री पद्मा अर्यालले बाटो बिराएर गुट खडाखरी पार्टी छोडेकाहरु अहिले पछुताइरहेको बताउनुभयो । ‘तपाइहरु केही दिनपछि ठूलो धोका र बज्रपातको शिकार बन्नुहुनेछ, मन्त्री अर्यालले भन्नुभयो,- छिट्टै आफ्नो मूल पार्टीमा फर्कनुहोस् ।’
दुई धारका भएका कारण माधव प्रचण्ड समुहमा आत्मीयतादेखि नै मिलन हुन नसकेकाले उनीहरुबीच छिट्टै फाटो आउने दावी मन्त्री अर्यालले गर्नुभयो ।





