
पोखरा न्यूज संवाददाता । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि शारीरिक हमला सम्म हुन सक्ने भन्दै त्यसो भयो भने पनि अनौठो नमान्न कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।
सोमबार पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय भेला तथा प्रशिक्षणलाई सम्बोधन गर्दै उहाँले आफूमाथि शारीरिक हमला भइहाल्यो भनेपनि अनौठो नमान्न तथा प्रतिक्रियावादी तत्त्वसँग घुँडा नटेक्न भन्दै कार्यकर्तालाई निर्देशन दिनुभएको हो ।
उहाँले भन्नुभयो “सम्पूर्ण रूपमा म माथि प्रहार अत्यन्तै तीव्र गतिले भइरहेको छ । तपाईँहरू अनौठो नमान्नुहोला यदि म माथि शारीरिक हमला नै भयो या मेरो ज्यान तलमाथि भइहाल्यो भने पनि भने अनौठो नमान्नुहोला तर त्यस्तो हुन दिइने छैन । सतर्कता अपनाइने छ । म रहिन भने पनि केही छैन । आन्दोलन छ, पार्टी छ । यस आन्दोलनले प्रतिक्रियावादी तत्त्व र तीनका मतियारहरू सँग घुँडा टेक्न हुँदैन । देशको भविष्य अन्धकारमा जान दिनुहुँदैन ।”
अदालतको फैसलापछि देश फेरि अन्यौलता फसेको दाबी उहाँले गर्नुभयो । राष्ट्रिय राजनीति अस्थिरतातर्फ धकेलिए पनि पार्टी किञ्चित विचलित नभई अगाडि बढ्ने र मुलुकलाई अलोकतान्त्रिक बाटोमा जान नदिने प्रतिबद्धता जनाउनुभयो । सरकारले ठिक ढङ्गले र प्रभावकारी ढङ्गले काम गरिरहेकाले, विकास कामले गति लिएकाले आफूमाथि प्रहार गर्ने काम भएको दाबी उहाँले गर्नुभयो ।
उहाँले पार्टीलाई देशी विदेशी शक्तिहरूबाट आक्रमण भइरहेको दाबी गर्दै देश बिगारेर अरूका लागि कम्र्फटेबल सरकार बनाउने खेलमा प्रचण्ड माधव समूह लागेको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो “तपाईँहरूको चेतना र जागरणलाई धन्यवाद भन्न चाहन्छु । सलाम भन्न चाहन्छु म देशी विदेशी शक्तिहरू हाम्रा विरुद्ध लागेका छन् । तर पनि पार्टी कार्यकर्ताहरूमा निराशा छैन । अन्यौल छैन । पार्टीमा कुनै अन्यौल छैन । पार्टी ठिक ढंंगले अघि बढिरहेको छ ।”
प्रधानमन्त्री ओलीले प्रचण्ड माधव समूहले पार्टी फोडेर केन्द्रीय कमिटी बैठक बोलाएको ठाउँबाट भागेर हिँडेको र आफूखुसी ढङ्गले बहुमत आफूहरूसँग रहेको दाबी गरेको बताउनुभयो ।





