निर्वाचन आयोगमा गरेको सेटिङ भत्किन्छ, पार्टीको आधिकारिकता हामीले पाउँछौं : अध्यक्ष प्रचण्ड

पोखरा न्यूज संवाददाता ।  नेपाल कम्युनिस्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिन भित्रै निर्वाचन आयोगले आफूहरूको पक्षमा निर्णय गर्ने बताउनुभएको छ ।

सोमबार पेसागत महासंघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासङ्घको एकता घोषणा सभामा बोल्दै अध्यक्ष प्रचण्डले केही दिनभित्रै पार्टीको आधिकारिकता आफूहरूले पाउने दाबी गर्नुभएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगमा गरेको सेटिङ भत्किने टिप्पणी गर्दै उहाँले केही दिन भित्रै आधिकारिक पार्टी बहुमतवाला पार्टी नै भएको र सूर्य चिन्ह र नाम बहुमतवाला पार्टीकै हो भनी फैसला गर्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘अर्को सेटिङ पनि भत्किँदै छ, निर्वाचन आयोगवाला सेटिङ । हेर्नुहोला, मैले त्यत्तिकै भनेको होइन मैले बुझेर भन्दै छु केही समय भित्रै निर्वाचन आयोगले उहाँलाई यो पार्टी उहाँको आधिकारिक हुन सम्भव होइन, आधिकारिक पार्टी बहुमतवाला पार्टी नै हो र सूर्य चिन्ह र नाम वहाँहरूकै हो भन्ने फैसला हुन्छ । यसमा एक इन्च पनि शङ्का गर्नु पर्दैन ।’

अध्यक्ष प्रचण्डले केपी ओली पाहा झैँ पछारिएको टिप्पणी गर्नुभयो । ओली पाहा पछारिएझैँ पछारिए पनि हामीले जित्यौ झन् बलियो भयौँ भन्दै हिँडेको उहाँको भनाई छ । सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीको कदमलाई खारेज गरिदिएपछि प्रधानमन्त्रीको पदमा एक क्षण पनि बस्न लायक नभएको उहाँले बताउनुभयो ।

त्यसै गरी कार्यक्रममा बोल्दै नेकपा प्रचण्ड–माधव पक्षका अर्का अध्यक्ष माधवकुमार नेपालले पार्टीले दलको नेताबाट केपी शर्मा ओलीलाई हटाएर पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरिसकेकोले प्रधानमन्त्री ओलीले कसैलाई हटाउने अधिकार नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘यो पार्टीको सदस्य नभएको व्यक्तिले, संसदीय दलको नेताको पनि दाबा गरिरहेका छन् । अनि मुख्य सचेतकबाट देव गुरुङजीलाई हटाएको पनि सुन्नु भा छ । अधिकार नै नभएको कुरा कहाँ बाट हटाउने ? किनभने संसदीय दलको बैठकबाट पुष्पकमल दाहाल प्रचण्डलाई नै दलको नेता त हामीले चयन गरिसकेका छौँ । अब केपी ओली दलको नेता पनि रहनुभएको छैन । त्यस हुनाले पनि उहाँले आफ्नो हिसाबले उहाँको डायरीमा नोट गरेका नाम जति काटे हुन्छ । हामीलाई भन्नु केही पनि छैन । रिस उठेपछि कलमले केरकार गरे पनि हुन्छ ।’

अध्यक्ष नेपालले संस्थागत कुरा विधानमा लेखिए बमोजिम मात्रै हुने बताउनुभयो । कुनै एक व्यक्तिको सनकको भरमा देश अगाडी जान नसक्ने भन्दै उहाँले आफूहरूले विधि विधानलाई मान्ने देश बनाउन चाहेको उल्लेख गर्नुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button