घरबासमा लोकसंस्कृति र पञ्चेबाजा

पोखरा न्यूज । चितवनको माडीमा ग्रामीण पर्यटनको विकास र प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यले घरबास (होमस्टे) सञ्चालनमा ल्याइएको छ । पर्यटकीय दृष्टिकोणले निकै सम्भावना भएर पनि ओझेलमा रहेको क्षेत्रलाई नमूनास्थलका रूपमा चिनाउन घरबासको शुरुआत गरिएको हो ।

माडी नगरपालिका–६ लक्ष्मीनिवासमा माडी भ्यू सामुदायिक घरबास दुई महिनादेखि सञ्चालनमा आएको सञ्चालक समितिका अध्यक्ष खडानन्द अधिकारीले बताउनुभयो । घरमै पर्यटन व्यवसाय गर्न सकिन्छ भन्ने लागेर घरबास सञ्चालन गरिएको उहाँले बताउनुभयो । “गाउँ सुनसान भयो । भएका मानिसहरु पनि शहर जान थाले । गाँउमा बस्नेले पनि झुप्रो बनाएर बस्न थाले । जग्गा बाँझो छ । यसलाई पनि सदुपयोग गरौँ भन्ने लाग्यो”, अधिकारीले भन्नुभयो ।

एघार घरपरिवार मिलेर घरबास सञ्चालन गर्न शुरु गरे पनि अहिलेसम्म छ घरधुरीले मात्र घरबास निर्माण गर्न सफल भएका छन् । अरु घर निर्माण गर्ने क्रममा छन् । घरबास निर्माणका लागि कल्याणपुर मध्यवर्ती सामुदायिक वन र रेवा मध्यवर्ती उपभोक्ता समितिले रु तीन लाख ५० हजार सहयोग गरेका छन् । स्थानीय सरकारबाट भने कुनै सहयोग नपाएको अधिकारीले बताउनुभयो ।
घरबासमा रहेका पाँच घरमा १९ शय्या छन् । एउटा घर रु सातदेखि आठ लाखमा तयार भएको छ । दुई महिनाको अवधिमा ५०० पाहुनालाई स्वागत गरिसकिएको घरबास सञ्चालक समितिका सचिव प्रेम विष्टले जानकारी दिनुभयो । “शान्त ठाउँ छ । शहरको कोलाहलबाट केही समय भए पनि शान्त हुन यहाँ आउन सकिन्छ । यहाँको संस्कृति बुझ्न र खानपानका परिकारमा रमाउन यहाँ आउन आग्रह गर्छौँ”, उहाँले भन्नुभयो ।

घरबासमा आउने पाहुनाका लागि घुमाउन पुष्पमदन स्मृति बाटिका छ । सङ्ग्रहालय र वनभोज स्थल तयारी अवस्थामा छ । बाटिकामा रहेको दृश्यावलोकन स्तम्भबाट माडीको फाँट, नवलपुरको दाउन्ने क्षेत्र र धौलागिरि, अन्नपूर्णलगायतका हिमाल देख्न सकिन्छ । मूर्ति राख्ने संरचना, फुलबारी, कम्पाउण्ड निर्माण र खानेपानीको काम भइरहेको छ । स्मृति बाटिका निर्माणका लागि गत वर्ष वाग्मती प्रदेश सरकारले रु ७२ लाख बजेट विनियोजन गरेको थियो । यस वर्ष पनि प्रदेश सरकारबाट रु ४० लाख र सङ्घीय सरकारबाट रु १० लाख बजेट विनियोजन भएको छ । पुष्पमदन स्मृति बाटिका जननेता मदन भण्डारी र कुशल सङ्गठक जीवराज आश्रितको अस्तु विसर्जन गरेको ठाउँ हो ।

संस्कृति र प्रकृतिलाई पर्यटनसँग जोडेर आयआर्जन गर्ने अवधारणाका साथ घरबास सञ्चालन गरिएको सल्लाहकार श्रीप्रसाद दवाडीले बताउनुभयो । “हामीले यो काम गर्न ढिलो गरे जस्तो लाग्छ । घरबास थोरै भएको छ । थप्ने तयारीमा छौँ । विदेश गएर फर्किएकाहरु पनि घरबासमा आबद्ध भएका छन् । अन्यलाई पनि फर्कन आग्रह गरिरहेका छौँ”, उहाँले भन्नुभयो । राज्यका निकायबाट सहयोग प्राप्त भए अझै आठदेखि १० घरबास तत्काल थप्न सक्ने अवस्था रहेको उहाँले बताउनुभयो । घरबासमा आवासीय तालिम हलको अभाव रहेको दवाडीको भनाइ थियो ।

भरतपुर-माडी–ठोरी हुलाकी राजमार्गको तमुचोकबाट साढे दुई किलोमिटरको दूरीमा घरबास पुग्न सकिन्छ । घरबासको एउटा कोठाको रु ५०० लिइन्छ । एउटा कोठामा तीनवटा शय्या छन् । सादा खानाको रु एक सय ५० लिइन्छ । सादा खानामा दूध, दही र घ्यूमध्ये एक अनिवार्य गरिएको छ । चिकन खाना एक सय ५० र मटन खानाको रु ३०० मूल्य तोकिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button