सुन्तलामा असिनापानी र रोगको असर

पोखरा न्यूज । चितवनमा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ । असिनापानी र रोगका कारण सुन्तला उत्पादनमा कमी आएको हो । यस वर्ष प्रतिहेक्टर नौ दशमलव १३ टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र चितवनले जानकारी दिएको छ । यो गत वर्षको भन्दा कम हो । गत वर्ष प्रतिहेक्टर नौ दशमलव ५८ टन सुन्तला उत्पादन भएको थियो ।

कृषि ज्ञान केन्द्र चितवनका सूचना अधिकारी सुरुचि त्रिपाठीले सुन्तलामा रोग लागेका कारण यस वर्ष उत्पादनमा केही कमी देखिएको बताउनुभयो । चितवनमा १९९ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको छ । यस वर्ष उत्पादन भएको क्षेत्रफल भने ११० हेक्टर रहेको त्रिपाठीले जानकारी दिनुभयो । एक सय १० हेक्टर क्षेत्रफलमा यस वर्ष प्रतिहेक्टर ९.१३ टन अर्थात् एक हजार चार दशमलव तीन टन सुन्तला उत्पादन भएको छ ।

गत वर्ष पनि ११० क्षेत्रफलमै सुन्तला उत्पादन भएको थियो । सो क्षेत्रफलमा गत वर्ष प्रतिहेक्टर ९.५८ टन अर्थात् एक हजार ५४ दशमलव नौ टन सुन्तला उत्पादन भएको थियो । यस वर्ष कविलासमा गरिएको सुन्तला खेतीलाई असिनापानीले नोक्सान पुर्याउनुका साथै विभिन्न रोग लागेका कारण उत्पादनमा कमी आएको त्रिपाठीले बताउनुभयो ।

उहाँका अनुसार यस वर्ष किसानले सुन्तालाको बजार मूल्य राम्रो पाएका छन् । चितवनको पहाडी क्षेत्र इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिका–२९ मा सुन्तला खेती गरिन्छ । इच्छाकामना-३ र ५ मा अत्यधिक सुन्तला उत्पादन हुन्छ । इच्छाकामनाका तामिन, दारेचोक, दाहाखानी, काउले, चण्डीभन्ज्याङ र भरतपुर–२९ कविलासमा धेरै सुन्तला खेती गरिएको छ । कृषि ज्ञान केन्द्र चितवनले इच्छाकामनाका विभिन्न स्थानमा सुन्तला पकेट क्षेत्र घोषणा गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button