फेदीखोला गाउँपालिकाले ल्यायो मजदुर संचित कोष कार्यान्वयनमा

पोखरा न्यूज । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मजदुर संचित कोष कार्यान्वयनमा ल्याएको छ । जीवनभर अर्काको लागि श्रम गर्ने तर अफ्ठ्यारो परेको बेला कोही नहुने तथा आर्थिक अवस्था कमजोर हुने मजदुर वर्गलाई लक्षित गरि गाउँपालिकाले मजदुर संचित कोष कार्यान्वयनमा ल्याएको हो ।

दैनिक ८ सयदेखि १५ सयसम्म आम्दानी गर्ने भएता पनि न्युन बचतका कारण संकटको अवस्था सामाना गर्न असहज हुने तथा शिक्षा, स्वास्थ्य, आवास लगातका मानवीय एवम् सामाजिक विकासको अवस्था न्यून भएका मजदुर वर्गका लागी यो कोषको स्थापना गरिएको हो ।

गाउँपालिकाले बिहीबार एक कार्यक्रमका वीच मजदुरहरुलाई परिचय पत्र वितरण कार्य शुरु गरेको हो । मजदुरहरुलाई परिचयपत्र वितरण गर्दै गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले दैनिक ज्यालादारी गर्ने मजदुरहरुलाई लक्षित गरि गाउँपालिकाले कार्यन्वयनमा ल्याएकोमा मजदुर संचित कोशेढुंगा सावित हुने बताउनुभयो । मजदुरका परिवारको आर्थिक अवस्था मजबुत बनाउन तथा उनीहरुको शिक्षा, स्वास्थ्य, आवास निर्माण, पोषण जस्ता आधारभूत आवश्यकत्ताको सुनिश्चित गर्ने गरि ल्याईएको मजदुर संचित कोषले मजदुरहरुको जीवनयापनमा परिर्वत ल्याउने विश्वास व्यक्त गर्नुभयो ।

प्रदेश सभा सदस्य मोहन प्रसाद रेग्मीले मजदुर संचित कोष, युवा उद्यम जस्ता लोकप्रिय कार्यक्रमहरु ल्याई फेदीखोला गाउँपालिकाले जनताले प्रत्यक्ष विकासको अनुभूति गर्ने गरी काम गरेको बताउनुभयो ।

पालिकाको मजदुर संचय कोष सञ्चालन कार्यविधि, २०७७ बमोजिम पालिका भित्रका १८ देखि ५९ वर्षका दैनिक ज्यालादारीमा काम गर्ने विपन्न मजदुरलाई लक्षित गरी कोष स्थापना गरिएको फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाले आफ्नै घर भए÷ नभएको, परिवारमा रोजगार छ छैन आश्रित परिवारको सख्या लगायत मजदुर छनौटका आधारहरु तयार पारेको छ ।

कोषमा सुचिकृत हुन चाहानेका लागि गाउँपालिकाले नागरिकताको प्रतिलिपि, पासपोर्ट साईजको दुईप्रति फोटो सहित सम्बन्धित वडा कार्यालयहरुमा निवेदन दिन अनुरोध गरेको थियो । गाउँपालिकाको मजदुर सूचिमा सूचीकृत मजदुर मात्र उक्त सञ्चयकोषमा आवद्ध हुन पाउने छ । सूचीकृत मजदुरले सार्वजनिक विकास निर्माणका काममा संलग्न हुदाँ प्राप्त गर्ने ज्याला रकम अनिवार्य रुपमा बैंकिङ प्रणालीबाट भुक्तानी प्राप्त गर्ने छन् । भुक्तानीको क्रममा रकम ज्यालाबाट १५ प्रतिशत कट्टा गरे पश्चात पालिकाको तर्फ बाट १५ प्रतिशत रकम चौमासिक रुपमा मजदुरको बैंक खातामा बचत गर्ने व्यवस्था छ । उक्त मजदुरले पालिकाबाट थप हुने १५ प्रतिशत रकम बाहेक स्वास्थ्य विमा लगायतका अन्य सुविधा समेत पाउने व्यवस्था गरिएको छ ।

गाउँपालिकाले मजदुर संचितकोष कार्यन्वयनमा ल्याए सँगै यहाँका मजदुरहरु हर्षित भएका छन् । फेदीखोला गाउँपालिकाले युवा उद्यमी कार्यक्रम सञ्चालन गरि कृषकसँग सम्झौता समेत गरेको छ । पालिका भित्र रहेका उद्यमी व्यवसायीको समूहलाई प्रोत्साहन गर्न गाउँपालिकाले बिना व्याज बिना धितो ५ लाख रकम ऋण दिने व्यवस्था गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button