प्रतिष्ठान स्थापनाको उद्धेश्यलाई साकार पार्ने कुलपति ढकालको प्रतिवद्धता

पोखरामा सिर्जना ग्राम र सांस्कृतिक ग्राम आवश्यक

पोखरा न्यूज सम्वाददाता । पोखरा प्रज्ञा प्रतिष्ठानका नवनियुक्त कुलपति पद्मराज ढकालले आफूलाई यतिबेला जिम्मेवारी सहित चुनौती समेत थपिएको बताउनुभएको छ । हालै कुलपति पदको सपथ लिएपछि पोखरा न्युजसँग कुराकानी गर्दै उहाँले प्राप्त जिम्मेवारीलाई कुशलतापूर्वक पूरा गरेर प्रतिष्ठान स्थापनाको उद्धेश्यलाई साकार पार्ने प्रतिवद्धता जनाउनुभएको छ । ‘जिम्मेवारी सँगै यसलाई कुशलतापूर्वक पूरा गर्ने चुनौती मेरो सामु आएको छ । यो एकदमै गरुङ्गो जिम्मेवारी हो । गर्नुपर्ने काम धेरै छन् । सबैको हातेमालोमा यात्रा सहज हुने अपेक्षा गरेको छुँ’ उहाँले भन्नुभयो ।

आफ्नो बलबुता र क्षमताले भ्याएसम्म साहित्य, कला, संगीत र संस्कृतिको संरक्षण सर्वद्धन, प्रर्वद्धन गर्न लाग्ने उहाँको भनाइ छ । प्रतिष्ठानले विशेष गरेर अनुसन्धानमुलक काम गर्नेछ । ‘प्रज्ञा प्रतिष्ठान नहुँदा पनि विभिन्न संघ संस्थाहरुले लागेकै थिए । अहिले पनि गरिरहेका छन् । प्रज्ञा प्रतिष्ठानले गर्ने कामभन्दा धेरै गरेका संस्था पोखरामा छन् । ती सबै संघ संस्थाको सहकार्य आवश्यक छ’ उहाँले थप्नुभयो ।

सबै संघ संस्थालाई सहकार्यको निमित्त उहाँले अनुरोध गर्नुभएको छ । सबैको सहकार्य, सहयोग विना काम अगाडि बढाउन सम्भव नहुने उहाँको बुझाई छ । सबै संस्थासँगको छलफलबाट योजना बनाउने लक्ष्य आफ्नो रहेको उहाँले खुलाउनुभयो ।

प्राज्ञ सदस्यमा लोकदोहोरी गायक जीवन दाहाल, जनवादी गायक कृष्ण भण्डारी, साहित्यकार प्रकाश ज्ञवाली, कलाकार मिलन शेरचन, कवयत्री सरस्वती श्रेष्ठ र संगीतकार दिलीप गायक हुनुहुन्छ ।

उहाँहरु सबैले जिम्मेवारी लिएकोले अब बैठक बसेर प्राज्ञहरुको कार्य विभाजन गरिनेछ । विभिन्न विधाबाट आउनुभएका प्राज्ञहरु भएकोले उचित जिम्मेवारी दिएर कार्यविभाजन गर्ने कुलपति ढकालको तयारी छ । ‘ललितकला सम्बन्धी मिलन शेरचन, साहित्यमा सरस्वती श्रेष्ठ र प्रकाश ज्ञवाली, लोक साहित्यमा जीवन दाहाल, संगीतमा दिलिप गायक र कृष्ण भण्डारी हुनुहुन्छ । उहाँहरुको विधागत क्षमता छ सोही अनुसारको जिम्मा लिने गरेर कार्यविभाजन गरिनेछ’ उहाँले प्रष्ट्याउनुभयो ।

प्रतिष्ठानलाई थप मजबुत बनाउन विनियम परिवर्तन गर्नुपर्ने आवश्यकता देखिएको उहाँले बताउनुभयो । विनियम परिवर्तन गर्न नगरसभा कुनुपर्ने भएकोले सबैलाई समेट्न केही समय लाग्ने उहाँको भनाई छ । प्रतिष्ठानलाई स्वायत्त बनाउनुपर्छ भन्ने आफूहरुको उद्धेश्यमा महानगरका प्रमुखको समेत साथ रहको उहाँले खुलाउनुभयो ।

‘महानगरबाट दुई सदस्य छान्ने भन्ने छ, प्रतिष्ठान स्वायत्त भयो भने विधागत रुपमा बाहिरबाट ल्याउन सकिन्छ । यही महानगरबाट दूई जना छान्नुपर्ने भएकोले स्वायत्त हुन सक्दैनकी भन्ने लागेको छ’ कुलपति ढकालले भन्नुभयो ।

प्रतिष्ठानमा नाटक तथा नृत्य क्षेत्रको प्रतिनिधित्व हुन सकेको छैन । उपकुलपति नै नियुक्त हुन नसकेकोले त्यसको निमित्ति पहल गर्ने उहाँले खुलाउनुभयो । ‘यसअघि सिफारिस हुनुभएको मेनकाजी गुरुङ हुनुहुन्छ । उहाँलाई अनुरोध समेत गरेका छौँ । उहाँ भैदिए राम्रो हुने थियो । उहाँ मान्नु भएन भने बल्ल अर्को छान्ने काम हुनेछ’ ढकाल भन्नुहुन्छ ।

विधागत रुपमा साथीहरुले जिम्मा लिएपछि विधागत रुपमानै कार्यक्रमहरु गर्ने प्रतिष्ठानको तयारी छ । यो आर्थिक वर्षमा कम्तिमा एउटा र बढीमा दुईवटा विधागत रुपमा कार्यक्रम गर्ने योजना बनाइएको उहाँले सुनाउनुभयो । कार्यक्रम साहित्य, कला, संगीत र संस्कृतिको बारेमा हुनेछन् । पोखरामा सिर्जना ग्राम र सांस्कृतिक ग्राम आवश्यक भएकाले ग्राम स्थापना गर्न प्रतिष्ठानले पहल गर्ने उहाँले सुनाउनुभयो ।

हाम्रो संस्कृति हाम्रो पहिचान हो, लोक संगीतलाई जोगाउन सकेनौ भने हाम्रो पहिचान गुम्छ । प्रतिष्ठानको स्थापना लोक संगीतलाई जोगाउन कोशेढुंगा बन्नेछ । वाङमयिक क्षेत्रमा भएका विकृति हटाउन समेत प्रतिष्ठानले भुमिका खेल्ने ढकालले बताउनुभयो । प्रतिष्ठानले रोकिएको नवरत्न सम्मान कार्यक्रमलाई पुनः निरन्तरता दिने तयारी गरेको छ । राज्यको निमिक्त योगदान गर्नें श्रष्टालाई यो सम्मान प्रदान गरिनेछ ।

प्रज्ञा प्रतिष्ठानमा उपकुलपति र दुई सदस्य रिक्त छन् । ती पदमा पछि नियुक्त गरिने महानगरले जनाएको छ । ११ सदस्यीय सांगठनिक ढाँचाको महानगर प्रज्ञा प्रतिष्ठानमा २ जना कार्यपालिका बोर्ड सदस्य समेत रहनेछन् भने महानगरकै प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव रहने महानगर प्रज्ञा प्रतिष्ठान ऐनले व्यवस्था गरेको छ ।

कुलपति ढकालको यात्रा

पोखरा महानगरपालिका ३१ लामास्वाँरा कास्कीमा बुबा चन्द्रकान्त र आमा मधुमाया ढकालको कोखबाट उहाँको जन्म भएको हो । सानैदेखि लोक सँगीतमा तर्फ उहाँले रुचि राख्नुहुन्थ्यो । रातभरि दोहोरी तथा भजन हेर्ने गर्दागर्दै उहाँको झुकाब गीतसंगीततर्फ बढ्यो । उहाँका गाउँमा गुरुङको बाहुल्यता थियो । रोधी बस्ने चलनले समेत उहाँलाई अगाडि बढ्न हौसायो । स्कुलमा अध्ययन गर्दा विद्यालयस्तरमा हुने निबन्ध, गीत, कविता प्रतियोगीतामा भाग लिएर उहाँले थुप्रै पुरस्कार जित्नुभएको छ । गाउन नाच्न उहाँलाई साह्रै मनपथ्र्यो । रमाइलो गर्ने स्वभाव भएकोले शिक्षकले उहाँलाई ‘रमिला’ नामले बोलाउने गर्नुहुन्थ्यो । नेपाली ठेट गीतलाई फरक शैलीमा प्रस्तुत गरी संगीतपारखीको ध्यान खिच्न ढकाल खप्पिस हुनुहुन्छ ।

‘बाँचेर के सार भो’ कविता उहाँले पहिलो प्रकाशित कविता हो । यो कविता २०४१ सालमा प्रकाशित भएको थियो । उहाँले २०५१ सालमा रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र पोखरामा गीत रेकर्ड गर्नुभएको थियो । रेडियो नेपालमा स्वर परीक्षा उत्रिर्ण गरी पहिलो लोकदोहोरी एल्बम ‘फर्कि आएन’ २०५४ सालमा उहाँले बजारमा पस्कनुभयो । उहाँको दोस्रो एल्बम ‘नलेऊ पीर’ समेत चर्चामा थियो । त्यसपछि एकपछि अर्को गर्दै एल्बम निकाल्नुभयो । उहाँका एल्बममा जाँउ न वेगनास ताल, तालको शहर जाउँ, नेपाल घुम्ने हो, धरतीका गीतहरु, सात तालको बगैचा शहर, चिउरी पात झ¥यो, नयाँ घाम, चेतना छरौं, आभाष हुन् । सात तालको बगैचा शहरको भिसिडि एल्बम समेत निकाल्नुभयो ।

पोखराको ग्लोबल कलिजियट माविको संस्थापक भएपनि पेशासँगै गीत संगीतको क्षेत्रमा उहाँ निरन्तर क्रियाशील हुनुहुन्छ । बुझाउने कलाका कारण विद्यार्थीमाझ समेत उहाँ उतिकै प्रिय हुनुहुन्छ । आभास बिहानीको र पद्मराज ढकाल जीवनी, व्यक्तित्व र कृतित्व उहाँको प्रकाशित पुस्तक हुन् ।
यतिबेला तीनवटा पुस्तक प्रकाशनको तयारीमा रहेको ढकालले बताउनुभयो । ‘एउटा यात्रा सस्मरण, एउटा गीतको र अर्को कविताको सामाग्री तयारी गरिएको छ’ उहाँले भन्नुभयो ।

उहाँ लेखनाथ साहित्य प्रतिष्ठान, नेपाल, सप्तरङ्गी साँस्कृतिक प्रतिष्ठान नेपाल, नेपाल चीन प्रतिष्ठान पोखरा, प्रगतिशील लेखक सङ्घ कास्की, लोकतान्त्रिक वाङ्मय समाज पोखरा, राष्ट्रिय जनसंगीत मञ्च नेपाल, हरिदेवी कोइराला साहित्य–सङ्गीत सम्मान कोष, अलिमिया लोक वाङ्मय प्रतिष्ठान पोखरा, गण्डकी साहित्य सङ्गम पोखरा, गीताञ्जली साहित्य परिवार, तरेली साँस्कृतिक परिवार, अनुशिलन सङ्गीत पाठशाला पोखरा, लेखनाथ साँस्कृतिक परिवार, हिमाली साँस्कृतिक परिवार पोखरा, भानु वाङ्मय प्रतिष्ठान, राष्ट्रिय जनसाँस्कृतिक महासङ्घ आदी संस्थामा आवद्ध हुनुहुन्छ । पोखरा प्रज्ञा प्रतिष्ठानको कुलपति भएपछि अन्य संस्थामा रहेको आफ्नो मुख्य जिम्मेवारी हस्तान्तरण गर्ने उहाँको तयारी छ ।

अलिमिया लोकवाङ्मय प्रोत्साहन पुरस्कार, विश्व संगीत सम्मान पुरस्कार, जनकलाकारिता पुरस्कार, अ
नुशिलन संस्कृति पुरस्कार लगायत विभिन्न साहित्यिक तथा साँस्कृतिक प्रतियोगिताहरुमा पुरस्कार जित्नुभएका उहाँको यो योगदानको कदर गर्दै थुर्पै संघ संस्थाहरुले सम्मान समेत गरिसकेका छन् ।
उहाँको पोखरा र काठमाण्डौँमा गरेर चारवटा एकल सांगीतिक कार्यक्रम भइसकेको छ । हालसम्म एक सयभन्दा बढी गीतमा आफ्नो आवाज भर्नुभएका उहाँले १ सय ५० भन्दा बढी गीत रचना गर्नुभएको छ । केही गीतमा उहाँले संगीत समेत भर्नु भएको छ । संगीत गुरु काजिमान तामाङसँग एक महिना संगीतको ज्ञान लिएर औपचारिक यात्रा आरम्भ गरेको बताउने उहाँ साहित्यतर्फको ज्ञान स्व.चुडामणि त्रिपाठीबाट सिकेको बताउनुहुन्छ । उहाँले देश र विदेशका विभिन्न कार्यक्रममा सहभागी भएर आफ्नो प्रतिभा सुनाइसक्नु भएको छ । निरन्तर कला, साहित्य, संगीत र संस्कृतिको क्षेत्रमा लाग्ने उहाँको योजना छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button