सर्वोच्चको फैसलाले राजनीतिक अस्थिरता निम्त्यायो-मुख्यमन्त्री गुरुङ

ऋषिराम बराल । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सर्वोेच्च अदालतले गरेको संसद पुनस्थापनाको फैसला अप्रिय लागेपनि स्वीकार गर्न वाध्य हुनुपरेको बताउनुभएको छ ।

सामाजिक विकास मन्त्रालय अन्तरगत प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र गण्डकी प्रदेश पोखराले निर्माण शुरु गरेको कोभिड–१९ विरुद्धको खोप भण्डारण गृहको शुक्रवार पोखरामा शिलन्यास गर्दै मुख्यमन्त्री गुरुङले भन्नुभयो– लोकतन्त्रमा विश्वास राख्ने पार्टी भएपछि सर्वोच्च अदालतको फैसला अप्रिय भएपनि स्वीकार गर्नै पर्दो रहेछ ।

प्रधानमन्त्री ओलीले अस्थिर राजनीतिलाई स्थिरता तर्फ लान निर्वाचन घोषणा गर्नुभएको थियो तर सर्वोच्चको फैसला फरक तरिकाबाट आएपछि देशमा झनै वढी राजनीतिक अस्थिरता पैदा भयो, जसका कारण अहिले सरकार गठनका लागि जोडघटाउ चलिरहेको मुख्यमन्त्री गुरुङको आरोप छ ।

सर्वोच्च अदालतको फैसलाले नेकपा भित्र मात्र हैन अन्य पार्टीमासमेत विवाद र फुटको स्थिति सृजना गरेको छ, प्रधानमन्त्री ओलीले घोषणा गर्नुभएको संसद विघटनलाई सर्वोचले उल्ट्याउदा राजनीति अस्थिरता आयो, उहाँले भन्नु्भयो– सर्वोच्चको फैसलाले राजनीतिमा नयाँ मोड लिर्दै छ, यतिबेला सरकार गठनका लागि फोहोरी खेल भइरहेको छ ।

यतिबेला दुई तर्फ फर्केको नेकपालाई एकतावद्ध बनाउन सकिन्छ कि भनेर अन्तिम प्रयास भइरहेको छ, पार्टीभित्रैबाटै केही नेता पार्टी एकताका लागि अन्तिम प्रयास गर्दै हुनुहुन्छ, अहिले एकताका लागि अभियान नै चलाएका छौ, यो नेकपाको लागि ठूदलो हितको विषय मात्र हैन राजनीतिक स्थिरता पनि हो, मुख्यमन्त्री गुरुङले भन्नुभयो– नेकपा एकतावद्ध भएर अगाडि वढ्दा धेरै राम्रो हुन्छ ।

नेकपाभित्र अन्तरद्धन्द्ध सृजना गर्नेकाम विदेशी शक्तिले गरेको आरोप मुख्यमन्त्री गुरुङको छ । फरक पार्टीमा खेल्दै आएका विदेशी शक्तिले नेकपाको एकतालाई देख्न नसकेर नेकपा पार्टी भित्रका शीष नेतालाई नै फुटाउने खेलमा सक्रिय हुँदा फुटसम्मको अवस्था आयो, यसले नेकपामा ठूलो नोक्सान पुर्याएको छ ।

प्रधानमन्त्रीले संसद बैठक बोलाउनुभएको छ, अब सरकार कुनकुन पार्टीको मिलेर बन्ने भन्ने बारेमा चलखेल शुरु भएको छ, जुनसुकै पार्टीहरु मिलेर सरकार बनेपनि जनताको हितमा काम गर्नुपर्छ मुख्यमन्त्री गुरुङले भन्नुभयो– संचारकर्मीले पनि लोकतन्त्र, स्वाधिनता र जनताको हितमा कलम चलाउनुहोस् ।

नेपाल स्वतन्त्र देश हो, नेपालीलाई स्वाधिनताको अनुभूति दिने किसिमले अगाडि बढौ, विश्वमा स्वतन्त्र राज्यमध्यको नेपाल पनि एक हो, स्वतन्त्र नेपालको पक्षमा हामी उभिनु पर्छ, मुख्यमन्त्री गुरुङले भन्नुभयो–अग्रेजहरुसँग लडेर बहादुरी कमाएका हामी नेपाली अधिनमा रहन सक्दैनौ ।

विश्वभर फैलिएको कोरोनाले नेपालीको जनजीवनसमेत निकै कष्टपूर्ण बन्यो, यसै चुनौतिलाई स्वास्थ्य क्षेत्रको अवसरका रुपमा लिन पर्छ, । धेरै बर्ष बन्न नसक्ने स्वास्थ्य संरचना बनिरहेका छन, केही दिन अघि मात्र ३ सय ९ वटा स्वास्थ्य केन्द्रका भवन एकै साथ शिलन्यास भएका छन् यो स्वास्थ्य क्षेत्रको अवसर र सकरात्मक पक्ष हो, मुख्यमन्त्री गुरुङले भन्नुभयो–अब राज्य जनताको स्वास्थ्य सेवा निजी क्षेत्रलाई सुम्पिने पक्षमा छैन, जनताको स्वास्थ्य सेवाको दायित्व अव राज्यले नै लिनुपर्छ । गण्डकी प्रदेशमा यतिवेला १२ वटा अस्पतालमा पूर्वाधारका कामहरु भइरहेको जानकारी पनि उहाँले दिनुभयो ।

गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्री नरदेवी पुनले कोरोना संक्रमणबाट नेपाली जनतालाई बचाउने दायित्व सरकारको हो, त्यसैका लागि गण्डकी प्रदेश सरकार सक्रिय भएर लागेको छ । कोभिड–१९ विरुद्धको खोप गण्डकी प्रदेशका जनतालाई प्रदान गर्न सक्रिय भएर लागेका छौ,मन्त्री पुनले भन्नुभयो–जनताको स्वास्थ्यलाई मध्यनजर गर्दै स्वस्थ्य क्षेत्रमा जनशक्ति वृद्धि गर्ने अभियानमा छु ।

स्वास्थ्य तालिम केन्द्र रामघाटको परिसरभित्र ७५ लाख ३ हजार ५ सय ७३ रुपैयाँको लागतमा दुई महिनाभित्र निर्माण सम्पन्न गर्न लागिएको कोभिड–१९ खोप भण्डारण गृहमा ४० लाख मानिसलाई पुग्ने खोपको भण्डारण क्षमता रहेको जानकारी सो अवसरमा दिइएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button