नेपाल शान्तिपूर्ण युगमा प्रवेशः प्रम ओली

पोखरा न्यूज । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसंगको सहमतिसंगै नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको बताउनुभएको छ ।

संघीय राजधानी काठमाण्डौको राष्ट्रियसभागृहमा शुक्रबार आयोजित सहमति हस्ताक्षर समारोहलाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले सहमतिसंगै नेपालमा अब हिंसात्मक द्धन्द छैन भन्ने संदेश दिएको बताउनुभएको हो । उहाँले अघिल्लो बर्ष सिके राउतसंग भएको सहमति स्मरण गर्दे शान्तिपूर्ण युग प्रवेशको अन्तिम किस्ताको रुपमा विप्लवसंगको सहमति भएको बताउनुभयो । राष्ट्रिय राजनीतिको मुलधारमा प्रवेश गरेको बधाई अनि धन्यवाद दिदै प्रधानमन्त्री ओलीले यो राजनीतिमा विप्लव सफल हुने विश्वास आफुले लिएको बताउनुभयो ।

उहाँले भन्नुभयो “अन्तिम किस्तामा नेपाल शान्तिपुर्ण युगमा प्रवेश गरेको छ । अब नेपालमा हिंसात्मक द्धन्द छैन । हिंसात्मक बाटो र आन्दोलनको कार्यादिशा कसैले पनि अबलम्बन गरेको छैन । आजको कामको ठूलो उपलब्धि अब नेपालमा हिंसात्मक द्धन्द्ध छैन र शान्ति छ । यो सहमति संगै नेपाल शान्तिको मापदण्डमा धेरै अगाडि बढेको छ । शान्तिको प्यारामिटर माथि उठाउन सहयोग गरेकोमा विप्लवलाई धन्यवाद दिनचाहन्छु ।”

आफ्ना कार्यकर्तालाई पुर्वनिर्धारित कार्यदिशा र बाटोबाट मोड्न सफल भएकोमा पनि उहाँले विप्लवको प्रसंसा गर्नुभयो । प्रधानमन्त्री ओलीले शान्तिपुर्ण राजनीतिमा आएर एैतिहासिक र शाहसिक काम गरेको भन्दै आफ्नो सम्बोधनभरी पटक पटक नेकपाका महासचिव विप्लवलाई धन्यवाद दिनुभयो ।

प्रधानमन्त्री ओलीले बिप्लव समूहसंग भएको सहमति फोर्सफुल नभएको स्पष्ट पार्नुभयो । उहाँले लामो प्रयासपछि मात्रै वार्ता सफल भएको बताउनुभयो । यो रातारात भएको नभई लामो समयसम्मको वार्ताप्रतिको गम्भीरताका कारण भएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो “ यो फोर्स ल्याण्डिङ होइन । क्रयास ल्याण्डिङ पनि होइन । यो सेफ ल्याण्डिङ हो ।”
सम्मृद्ध नेपाली सुखी नेपाली बनाउने सपनाहरुलाई पुरा गर्ने अझै प्रवल संभावनाहरुको बाटोमा विप्लबले योगदान पुर्याएको बताउनुभयो । सहमतिमा उल्लेखित ३ बुँदा नै सहमतिका लागि पर्याप्त भएको पनि उहाँले दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो “तीनवटा बुँदा काफि हो । अठार पुराणामा व्यासले २ वटा कुरा भने । धेरै कुराहरुको निष्कर्ष तीनै कुराहरुले भन्छन् । कुनै समस्या आईपरे छलफल र वार्ताबाटै टुंग्याउँछौ । उहाँका नेताकार्यकर्ताहरुलाई प्रक्रिया पुरा गरेर छोड्छौ । छुट्ने सिलसिला त सुरु भईसक्यो । यसले नेपाललाई नया दिन मात्रै होइन नयाँ युगमा प्रवेश गराएको छ । ”

गतबर्ष पृथकतावादी आन्दोलनमा लागेका सिके राउतलाई राष्ट्रिय राजनीतिको मुल धारमा ल्याएको स्मरण गर्दे उहाँले फरक शैली र भाषामा हुर्किएकाहरु एकै ठाउँमा आउँदा भाषा मिलाउन केही समय लागेपनि अन्तत सबै सम्मृद्ध नेपाल सुखी नेपालीकै बाटोमा अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । आफुले ४० बर्ष अगाडि शान्तिपुर्ण राजनीतिको बाटोलाई अंगिकार गरेको स्मरण गर्दे उहाँले विप्लव संगको सहमति विश्वकै कम्युनिष्ट आन्दोलनका लागि ऐतिहासिक दृष्टान्त बन्ने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो “आजको उपलब्धिले विश्वकै कम्युनिष्ट आन्दोलनलाई कसरी कम्युनिष्ट आन्दोलनले शान्तिपुर्ण ढंगले समाज परिवर्तनको अगुवाई गर्न सक्छ, नेतृत्व गर्न सक्छ र सार्थक सफलता प्राप्त गर्न सक्छ । विभिन्न प्रकारका प्रतिक्रियावादी शक्तिहरुका जाल झेल , तिगडम हमला र दमन सबैलाई पराजित गरेर अगाडि बढ्न सक्छ ? र हामी असल मनसायका साथ अगाडि बढ्यौ भने कसरी नजिकिदै जान सक्छौ ? त्यो कुराको एउटा दृष्टान्त बनेको छ । हाम्रा सफलताहरु विश्व कम्युनिष्ट आन्दोलनका लागि दृष्टान्त बनेका छन् । ”

राजनीतिमा पौडी खेल्न विप्लवलाई आउँछ

प्रधानमन्त्री ओलीले राष्ट्रिय राजनीतिको मुलधारमा नेता विप्लब सफल हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो “नेपाल शान्तिको नयाँ युगमा प्रवेश गराएकोमा, त्यसका निम्ति म नेपाल कम्युनिष्ट पार्टी र नेता चन्दलाई धन्यवाद भन्न चाहन्छु । यस खुला परिवेशमा र शान्तिपुर्ण राजनीतिको यस राष्ट्रिय राजनीतिको मुलधारमा उहाँलाई स्वागत गर्न चाहन्छु । मलाई विश्वास छ यस राजनीतिमा पौडी खेल्न विप्लवलाई आउँछ । उहाँ यसमा पौडी खेलेर सफलताका साथ अगाडि बढ्नुहुनेछ भन्ने मैले विश्वास लिएको छ । म हार्दिक शुभकामना भन्न चाहन्छु उहाँलाई सफलताको । एउटा खुसीको दिन युग, परिर्वतनको दिन, सफलताको दिन । कसैले पनि नहारेको र सबैले जितेको र देशले जितेको दिनलाई सार्थकत बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद भन्न चाहन्छु । ”

प्रधानमन्त्री ओलीले वार्ता सफलतामा पुर्याएकोमा दुवै तर्फका वार्ता टोलीका सदस्यहरुलाई पनि धन्यवाद दिनुभयो ।

प्रचण्ड माधवप्रति व्यंग्य

प्रधानमन्त्री ओलीले प्रचण्ड माधव समूहले बहुमतको सरकार भाँडेर किस्तिमा प्रधानमन्त्रीको पद राखेर हिडेको आरोप लगाउनुभयो । संसदीय दलको नेता आफु भएको तर संसदीय दलको बैठक बोलाएको भन्दै उहाँले कुन दलको हो ? भनी व्यंग्य गर्नुभयो ।

उहाँले भन्नुभयो “केही मान्छेहरु बरबादै पार्न खोज्छन् देशलाई । त्यो उनीहरुको कुरा हो । संसदीय दलको बैठक गर्देछन् भन्ने सुन्या थेँ । कुन दलको हो थाहा छैन । दलको नेता म यहाँ छु । थाहा छैन । उहाँहरु लाग्नुभएको छ मरिमेटेर । मलाई उहाँहरु देखेर अचम्म लाग्छ पनि लाग्दैन पनि । उहाँहरु त्यस्तै हो । नग्नताको पनि यो हद ? आफ्नो दुईतिहाई फोडेर छोड्ने , भाँडेर छोड्ने ,भत्काएर छोड्ने आफ्नो प्रधानमन्त्री हटाएर छोड्ने अनि किस्तिमा प्रधानमन्त्री लिएर खाईदिनोस् न खाईदिनोस् न भन्न अन्त जाने । अन्त प्रधानमन्त्री खाईदिनोस् भन्न जाने । न प्रधानमन्त्री । लिईदिनोस् न प्रधानमन्त्री हामी बनाउँछौ नि तपाईलाई लिईदिनोस् न प्रधानमन्त्री । हामी छौ नि तपाईका पछाडि लाग्ने भन्ने । नेतृत्व गर्न छोड्ने नेतृत्व गरिदिनोस् न भन्न जाने । कुन आईडोलोजी भित्र पर्छ मलाई थाहा छैन । मैले पढेको माक्र्सवादमा यो पर्दैन ।”

प्रधानमन्त्री ओलीले आफुहरुले कसैलाई पनि प्रधानमन्त्रीको प्रस्ताव नगरेको र अनुचित ढंगले प्रस्ताव पनि नगर्ने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो “एउटा भ्रम छर्न खोजिएको छ । हामीले प्रधानमन्त्रीको यसलाई प्रस्ताव राख्यौ, उसलाई प्रस्ताव राख्यौ भनेर तर हामी कसैलाई पनि प्रधानमन्त्रीको प्रस्ताव अनुचित ढंगले राख्नेवाला छैनौ । हामी प्रधानमन्त्रीको प्रस्ताव कसैलाई राखेका पनि छैनौ राख्दा पनि राख्दैनौ । ”

मुलुकलाई राजनीतिक अस्थिरतातर्फ जान नदिन र लोकतन्त्रको रक्षाका लागि प्रतिनिधिसभा विघटन गरेको भन्दै उहाँले पुनस्थापित गर्ने सर्वोच्चको फैसला संगै नेपाली राजनीतिमा तमासा सुरु भएको टिप्पणी गर्नुभयो ।
उहाँले भन्नुभयो “हामीले भनेको त देशको राजनीतिलाई अस्थिरतातर्फ धकेलियो । लोकतन्त्रको हुर्मत लिने काम हुन लाग्यो त्यसकारण स्थिरता, स्थायित्वतर्फ लोकतन्त्रको सही अभ्यासतर्फ जाउँ भनेर हामीले प्रतिनिधिसभाका विघटनको प्रस्ताव गरेका थियौ र विघटन गराएका थियौ । अब फिर्ता आएको छ । फिर्ता आएपछिको तमासा सुरु भएको छ फेरी । यो तमासा नेपाली जनताले हेर्दै र भोग्दै जानुपर्ला । ”

सरकार ढाल्ने गम्भीर प्रयास 

प्रधानमन्त्री ओलीलले आफ्नो नेतृत्वको सरकार ढाल्ने प्रयास तिब्र ढंगले भएको दाबी गर्नुभयो । विगतमा पनि आफ्नो नेतृत्वको सरकार ढाल्ने काम भएको र निर्वाचनपछि आफु बहुमतसाथ सरकारको नेतृत्व गर्न आईपुगेको भन्दै उहाँले फेरि पनि जनताको विश्वास लिएर सिंहदरबार प्रवेश गर्ने उद्घोष गर्नुभयो ।

उहाँले भन्नुभयो “यो देशमा हाम्रो पार्टी पनि छ । अहिले सरकार ढाल्ने बहुतै गम्भीर प्रयास भईरहेको छ । उघुमको प्रयास भईरहेको छ । यो त ७३ सालमा पनि ढालेका थियो नि एकपल्ट सरकार । मैले त्यसबेला भनेको थिएँ । हामी जस्केलाबाट होइन, झ्यालबाट, भेन्टीलेसनबाट छिरेर होइन, हामी मुल सडकबाट, मुल ढोकाबाट छिरेर फेरि सरकारमा आउँछौ निर्वाचनको माध्यमबाट । नभन्दै ७४ को निर्वाचनको माध्यमबाट हाईवे बाट हिडेर सिंहदरबारको मुल गेटको ढोका खोलेर हामी भित्र पस्या हो । ”

उहाँले बैंकेटमा मान्छे जम्मा पारेर आफुखुसी ढंगले अध्यक्ष घोषणा गर्ने काम गरेको भन्दै प्रचण्ड माधव समुहलाई व्यंग्य गर्नुभयो । उहाँले भन्नुभयो “हाम्रो आदत के छ भने अध्यक्ष हुनुपर्यो भने महाधिवेशनमा लडेरै हुने बैंकेटमा मान्छे बोलाएर त्यहाँ म महासचिव भएँ म अध्यक्ष भएँ । त्यो तरिकाले होइना । प्रधानमन्त्री हुनुपर्यो भने निर्वाचनको माध्यमबाट चुनिएर छानिएर जनताको प्रतिनिधिको हैसियतले, जालझेल तिगडमको हैसियतले होइन, त्यस हैसियतले हामी फर्किन्छौ । ”

केही मान्छेहरुले कम्युनिष्ट आन्दोलनको बद्नाम गर्ने काम गरेपनि अहिलेको सरकार सफल रहेको दाबी उहाँले गर्नुभयो । उहाँले भन्नुभयो “अहिलेको सरकार विल्कुल सफल सरकार हो । विकासका काममा, भ्रष्टाचार विरुद्धमा कामहरुमा यसले सफलतापुर्वक अगाडि बढेको छ । “संयुक्तराष्ट्र संघले नेपाललाई अब अल्पविकसितबाट विकाससिल राष्ट्रमा स्तरोन्नति गर्ने सिफारिस गरिसकेको छ । हामी सन् २०३० भित्र दिगो विकासका लक्ष्यहरु प्राप्त गर्ने उद्देश्यमा डटेर लागेका छौ र त्यस अगावै हामीले ती लक्ष्यहरु प्राप्त गर्नेछौ । ”

हाम्रो त १४ बर्ष

कार्यक्रममा प्रधानमन्त्री ओलीले ठट्यौली शैलीमा आफुले १४ बर्ष जेल बस्नुपरेको भन्दै विप्लवका कार्यकर्ता धर्मेन्द्र बास्तोलालाई छिटै जेलबाट छुटेकोमा बधाई दिनुभयो ।

उहाँले भन्नुभयो “यति थोरै जेल बसेर छुट्न पाए पो हुन्थ्यो हाम्रो त १४ बर्ष । ”
४८ बर्ष अघि आजकै दिन नयाँ आन्दोलन, नया एकिकरण र नया संकल्प बोकेर हिडेका ५ जनालाई जेल सार्ने नाममा सुखानी जंगलमा लगेर सबैको एकै स्थानमा हत्या गरिएको घटनाको स्मरण गर्दै उहाँले सबै शहीद प्रति हार्दिक श्रद्धासुमन पनि व्यक्त गर्नुभयो । उहाँले नेपालको राजनीतिक परिर्वतनमा योगदान पुर्याउने क्रममा मृत्यु भएका केही व्यक्तिहरुलाई सरकारले विधिवत ढंगले सहिद घोषणा गरेको पनि जानकारी दिनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button