प्रचण्ड–नेपाल पक्षको संसदीय दलको नेतामा प्रचण्ड

पोखरा न्यूज । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधव कुमार नेपाल पक्षले संसदीय दलको नेतामा प्रचण्डलाई चयन गरेको छ ।

शुक्रबार नेकपा प्रचण्ड–नेपाल पक्षको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय दलको बैठकले संसदीय दलको नेताबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर अध्यक्ष प्रचण्डलाई संसदीय दलको नेतामा चयन गरेको हो । संसदीय दलको जेष्ठ सदस्य झलनाथ खनालको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले प्रचण्डलाई सर्वसम्मत् रुपमा संसदीय दलको नेतामा चयन गरिएको प्रमुख सचेतक देव गुरुङले जानकारी दिनुभयो ।

त्यसैगरी बैठकले अदालत र जनताको मर्म विपरित केपी शर्मा ओली प्रधानमन्त्रीको पदमा बसिरहने कार्य निन्दनिय र अलोकतान्त्रिक भएको पनि ठहर गरेको छ । प्रधानमन्त्री ओलीले देशमा राजनीतिक निकासलाई अवरुद्ध पारेकाले त्यसको विरोध गर्दै देशलाई राजनीतिक निकास दिने कार्यमा अग्रसर हुन सबै राजनीतिक दल तथा सांसदहरुलाई आब्हान गरिएको पनि प्रमुख सचेतक गुरुङले बताउनुभयो ।

प्रचण्ड–नेपाल पक्षका बरिष्ठ नेता झलनाथ खनालले फागुन १९ गते संसदीय दलका २५ प्रतिशत सदस्यले हस्ताक्षर गरी बैठक बोलाउन माग गरे बमोजिम शुक्रबार बैठक बसी प्रचण्डलाई संसदीय दलको नेतामा चयन गरिको बताउनुभयो । संसदीय दलको बैठकमा १ सय ११ जना सांसदहरुको हस्ताक्षर भएको भन्दै आफ्नो पक्षमा संसदीय दलमा अत्याधिक बहुमत रहेको दाबी पनि गर्नुभयो ।

बैठकले फागुन १८ गते ताप्लेजुङमा भएको आगलागीको घटनामा पीडितहरुको उद्दार र राहतको माग समेत गरेको छ । त्यसैगरी शुक्रबार नै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले शान्तिपूर्ण बाटोमा लाग्न गरेको निर्णयलाई बैठकले स्वागत पनि गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button