आफूले प्रधानमन्त्रीको दाबी नगरेको देउवाको स्पष्टोक्ति

पोखरा न्यूज संवाददाता । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले प्रधानमन्त्रीको दाबी नगरेको बताउनुभएको छ ।

शनिबार विपी. स्मृति सामुदायिक सहकारी अस्पतालको १३ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै सभापति देउवाले विपक्षी दलको नेता भावी प्रधानमन्त्री भएपनि आफू प्रधानमन्त्रीको लागि तयार नभएको बताउनुभएको हो ।

महाधिवेशन नजिकिएको भन्दै उहाँले पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने आवश्यकता रहेको औँल्याउनुभयो । उहाँले भन्नुभयो – ‘मैले प्रधानमन्त्रीको लागि तयार भएको होइन तर विपक्षी दलको नेता भनेको वेटिङ प्राइमिनिस्टर हो । विपक्षी दलको नेता भनेकै अल्टरनेटिभ प्राइमिनिष्टर हो । मैले प्राइमिनिष्टर खान्छु भनेकै छैन । अहिले पार्टीलाई एक गर्दै लानुपर्ने आवश्यकता छ । महाधिवेशन आइसकेको छ ।’

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसको पहिलो प्राथमिकता संसदको अवरोध हटाउने भएको बताउनुभएको छ । संसदीय प्रणालीको संरक्षक आफूहरु भएको र संसदीय प्रणालीमा आउनु अवरोध आफूहरुको असफलता हुने भन्दै वरिष्ठ नेता पौडेलले कांग्रेसले अरु आकांक्षा नराखी संसदको अवरोधलाई हटाउने कुरामा मात्रै केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । संसदीय व्यवस्थालाई क्षति पुर्याउने काम आफूहरुले गर्नुनहुने उहाँको भनाई छ । उहाँले भन्नुभयो – ‘संसदीय प्रणालीको संरक्षक हामी नै हौँ ।

संसदीय प्रणालीमा कुनै अवरोध आयो भने त्यो असफलता हाम्रो असफलता हो । त्यसकारण त्यो कुरा बुझेर हामीले संसदीय प्रणालीको डेडलकलाई हटाउने मात्रै कुरामा आफूलाई केन्द्रित गरौँ । हामीले त्यो भन्दा बढ्ता आकांक्षा यो बेलामा राख्नुहुन्न भन्ने मलाई लाग्छ । अहिले हाम्रो सबैभन्दा पहिलो प्राथमिकता डेडलक हटाउनेतिर हो । आजैबाट सोचौँ । डेडलक भोलि नै हटाऔँ । अरु कुराको स्वार्थमा नलागिदिनुस् । किनभने भविष्य हाम्रो हो । भविष्य लोकतन्त्रको हो । भविष्य लोकतान्त्रिक समाजवादको हो । कम्युनिष्ट फेल भइसकेका छन् । संसदीय व्यवस्था विरुद्ध हतियार उठाउनेहरु एक एक गरेर असफल भएका छन् । तर संसदीय व्यवस्थालाई क्षति पुर्याउने काम हामीले नगरौँ ।’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नेपाली कांग्रेसले आगामी निर्वाचनको नेतृत्व गर्ने गरी अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । नेकपा हालसम्म विभाजन नभएको भन्दै नेकपा विभाजन नभई कुनै कदम चालिए अप्ठ्यारो परिस्थिति सिर्जना हुनेतर्फ उहाँले सचेत गराउनुभयो । उहाँले भन्नुभयो – ‘नेकपा आजको दिनसम्म विभाजन भएको छैन । नेकपा विभाजन नभइ कुनैपनि कदम चाल्दाखेरी त्यसले भोलि अप्ठ्यारो परिस्थिति सिर्जना गर्छकी भन्ने मलाइ चिन्ता छ । त्यो नहोस् । र मेरो चाहाना चाहिँ के हो भने २ वर्ष पछि त निर्वाचन हुने नै छ । त्यो निर्वाचनलाई हामीले सार्न सक्यौँ र त्यो निर्वाचनमा नेपाली कांग्रेसको नेतृत्वमा त्यो निर्वाचन हुन सक्यो भने, त्यो हिसाबले सोचेर अगाडि बढेमा पक्कैपनि नेपाली कांग्रेसको भविष्य छ ।’

नेता कोइरालाले नेपाली कांग्रेसको भातृ संगठनहरुको अधिवेशन नगरी निस्क्रिय बनाए पार्टी बनाउन सम्भव नभएको बताउनुभयो । पार्टीमा नयाँ पुस्ता नआएकोमा चिन्ता व्यक्त गर्दै उहाँले युवालाई आकर्षित गर्नुपर्नेमा जोड दिनुभयो ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button