मेलम्चीको पानी केही दिनमा घरघरमा : प्रधानमन्त्री ओली

सरकार ढाल्न प्रचण्ड-माधव पक्ष काँग्रेस कहाँ निवेदन हाल्न गएको आरोप

पोखरा न्यूज संवाददाता । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी  केही दिनमै घरघरमा पुग्ने बताउनुभएको छ । फागुन १० गते सुरुङमा हालिएको पानी शनिबार साँझ फ्लसिङ टनेलको हाइड्रो मेकानिकल गेटको बटन थिचेर सुन्दरीजलमा खसाल्दै प्रधानमन्त्री ओलीले जनताको लामो समयको प्रतिक्षा पुरा भएको र केही दिनमै धारामा पानी वितरण गरिने पनि बताउनुभयो ।

प्रधानमन्त्री ओलीले मेलम्ची खानेपानी आयोजनमा कुनै दुर्घटना नहुने गरी काम अगाडी बढाउन पनि निर्देशन दिनुभयो ।  काठमाडौँमा पानी झरेको भन्दै  प्रधानमन्त्री ओलीले काठमाडौँलाई पानी दिएकोमा मेलम्ची, हेलम्बु र सिन्धुपाल्चोक बासीलाई धन्यवाद दिनुभयो । “मेलम्चीको पानी सुन्दरीजलबाट बागमतीमा झारेका छौँ, कोशीमा बग्ने पानी अब बागमतीमा आएको छ, प्रदेश नं १ मा जाने पानी बागमतीबाट प्रदेश नं २ हुँदै गएको छ, पानी दिने सिन्धुपाल्चोकको हेलम्बु एवं मेलम्ची क्षेत्रवासीलाई धन्यवाद दिन्छु, नेपालमा प्रविधिका माध्यमबाट ठूलो आयोजना सम्पन्न भएको छ”, उहाँले भन्नुभयो । सुरुको पानी फोहोरसहित पानी आउने भएकाले प्रशोधन केन्द्रमा नहाली पानी अहिले बागमती नदीमा खसालिएको छ ।

सार्वजनिक कार्यक्रममा सधैँ मजाकी भावमा प्रस्तुत हुने प्रधानमन्त्रीले मेलम्चीको पानी काठमाण्डौ आइपुगेको अवसरमा आयोजित कार्यक्रमलाई पनि छोड्नुभएन । कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रचण्ड माधव पक्षलाई व्यङ्ग्य कस्दै भन्नुभयो, ‘यो खुसीको दिन हो । जति बेर पायो, त्यति बेर लड्डु खाने होइन । यस्तो बेलामा खाने हो ।’ सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गरेको दिन खुसी साट्दै लड्डु खाएका थिए । उहाँले मेलम्ची आयोजनाको कुरा चल्दा आफ्नो कपाल कालै रहेको, तर काम सम्पन्न हुँदा कतै कालो बाँकी नरहेको बताउनुभयो ।

अर्को एक प्रसङ्गमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढाल्नको निम्ति प्रचण्ड–माधव पक्ष काँग्रेस कहाँ निवेदन हाल्न गएको आरोप लगाउनुभएको छ । प्रधानमन्त्री ओलीले सरकार ढाल्नको निम्ति प्रचण्ड–माधव पक्षका एक हल काँग्रेस कहाँ निवेदन हाल्न गएको आरोप लगाउनु भएको हो । प्रत्यक्षमा १ सय १६ सिट जितेको पार्टीलाई हटाएर २३ सिट जितेको काँग्रेसलाई नेतृत्व लिन आग्रह गरिएको भन्दै उहाँले जनताको आदेश र इच्छा त्यस्तो नभएको बताउनुभयो । लोकतान्त्रिक विधि र पद्धतिको कुरा गरेर भ्रममा पारिएको पनि उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘यो सरकारले उधुम गर्न लाग्यो यसलाई तुरुन्तै ढाल्नुपर्‍यो भनेर केही गर्दा ढाल्न सकिन्न भने हाम्रै पार्टीका हौँ भन्ने केही काँग्रेस कहाँ दुइटाका दायाँबायाँ औँठाछाप गरेर निवेदन हाल्न गएका छन् दुई जना, एक हल । निवेदन हाल्न गएका छन् काँग्रेस कहाँ, लौ न यो केपी ओलीले त उधुम नै गर्न लाग्यो हटाऊ यसलाई । यसलाई हटाउनको लागि तपाईँहरूले कमसेकम नेतृत्व लिइदिनु प¥यो । हाम्रो पार्टीले १ सय १६ सिट प्रत्यक्षमा जितेको छ । प्रत्यक्ष १ सय १६ सिट जितेकोलाई हटाउने २३ सिट जितेको काँग्रेसलाई लौन प्रभु नेतृत्व गरिदिनुपर्‍यो । यो जनताको आदेश हो ? जनताको इच्छा हो ? जनताले आदेश दिएको त्यसैगरी हो ? यिनीहरू लोकतन्त्रका विधि पद्धतिका प्रक्रियाका कुराहरू गर्छन् । झुटा र नक्कली कुरासँग भ्रम नपर्न म साथीहरूलाई आग्रह गर्न चाहन्छु । त्यतापट्टी तपाईँहरू चिन्ता नगर्नुस् हामी ठेगान लाइहाल्छौ तिनीहरूलाई ।’

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button