‘हाम्रो रङ्गशाला, मेरो कुर्ची’ अभियान शुरु

पोखरा न्यूज । धुर्मुस–सुन्तली फाउण्डेशनको अगुवाइमा चितवनको भरतपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई समयमै सम्पन्न गर्न ‘हाम्रो रङ्गशाला, मेरो कुर्ची’ अभियान शुरु गरिएको छ ।

यो अभियानअन्तर्गत रु एक लाख सहयोग गरेर एउटा कुर्चीमा आफ्नो नाम लेख्न सकिने छ । अहिले सहयोगी दाताले रु एक लाख हस्तान्तरण गर्दै कुर्चीमा आफ्नो नाम लेखाउन थालेका छन् । यसैक्रममा ‘ओखती’ साबुनले रङ्गशालालाई रु एक लाख सहयोग गरेको छ । ओखती उत्पादक कम्पनी श्री जयकाली जडीबुटी उद्योग काठमाडौँले रु एक लाख सहयोग गर्दै कुर्चीमा कम्पनीको नाम लेखाएको हो । कम्पनीका प्रबन्ध निर्देशक शोभाकान्त बस्याल रङ्गशाला निर्माणस्थलमै पुगेर धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’लाई रु एक लाखको चेक हस्तान्तरण गर्नुभयो ।

सो क्रममा प्रबन्ध निर्देशक बस्यालले ‘हाम्रो रङ्गशाला, मेरो कुर्ची’ अवधारणा निकै सान्दर्भिक रहेको भन्दै सानो सहयोगको रुपमा आफू रङ्गशालासँग जोडिएको बताउनुभयो । उहाँले आफ्ना पितृदेखि परिवार तथा संस्थाको नाम लेखेर सहयोग गर्न सकिने भएको यस अवधारणामा सामेल हुन देश तथा विदेशमा रहेका सबै नेपालीमा आग्रह गर्नुभयो । उहाँले आगामी दिनमा अझै यस्तो सहयोग जारी राख्ने प्रतिबद्धता जनाउनुभयो ।

प्रबन्ध निर्देशक बस्यालले पाँच नम्बरको कुर्ची बुक गर्नुभएको छ । फाउण्डेशनले काठमाडौँमा पत्रकार सम्मेलन गरी ‘हाम्रो रङ्गशाला, मेरो कुर्ची’ अवधारणा सार्वजनिक गरेपछि अहिले धमाधम कुर्ची बुक गर्दै सहयोग गर्न थालेका छन् । फाउण्डेशनका अध्यक्ष धुर्मुसले रङ्गशाला निर्माणमा अझै पनि रकमको आवश्यकता भएकाले यो अवधारणा ल्याइएको बताउनुभयो । उहाँले यो अवधारणा कुर्ची बेच्ने अर्थमा नलिन आग्रह गर्दै सानो सहयोगबाट आफ्नो नाम लेखाउन सकिने अवधारणाको रुपमा लिन आग्रह गर्नुभयो । “यो कुर्ची खरिद, बिक्रीको कुरा होइन, सहयोगबाट कुर्चीमा नाम लेखाउन सकिन्छ भन्ने सन्देश दिन हो, यसअघि सहयोग गर्ने महानुभावको पनि हामीले रङ्गशालामा नाम उल्लेख गर्छौं”, अध्यक्ष धुर्मुसले भन्नुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button