नेपाली सेनालाई अनावश्यक विवादमा तानियो – प्रम ओली

पोखरा न्यूज संवाददाता ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्कीर्ण स्वार्थका लागि समय समयमा नेपाली सेनालाई अनावश्यक ढङ्गले विवादमा तान्ने गरिएको बताउनुभएको छ ।

राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको वार्षिकोत्सवको अवसरमा बुधबार सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले सेनालाई विवादमा तान्नका लागि हुने गरेका प्रयासहरूप्रति सजग र सतर्क रहन पनि सबैलाई आग्रह गर्नुभयो । कानुन उलङ्घन भए सम्बन्धित निकायले हेर्ने भएकाले वादप्रतिवाद नउत्रने संस्थालाई वादविवादमा तान्ने खालमा काम गर्नु उचित नहुने तर्क उहाँले गर्नुभयो ।

उहाँले भन्नुभयो “आफ्ना सङ्कीर्ण स्वार्थका लागि नेपाली सेनालाई अनावश्यक ढङ्गले विवादमा तान्न खोज्ने, अपमान वा प्रोभोग गर्न खोज्ने लगायत विभिन्न खालमा प्रवृत्तिहरु देखिन्छन् र नेपाली सेनालाई घिसारेर विवादमा ल्याउन खोज्ने । नेपाली सेनाका सदाशयतापूर्ण र राम्रा क्रियाकलापमा पनि जस नदिने,श्रेय नदिने बरु कसरी त्यसको आलोचना गर्न सकिन्छ, विरोध कसरी गर्न सकिन्छ भनेर ठाउँ खोज्ने र अनुत्तरदायी ढङ्गले हिलो छ्याप्ने खालका कुराहरू उचाल्ने । त्यस्तो कुराहरू गर्नहुँदैन । नेपाली जनताको चेतनालाई समय समयमा अलमल्याउन खोज्ने, भ्रममा हाल्न खोज्ने प्रयास पनि हुने गरेका छन् । हामी त्यस्ता प्रयासहरूसँग सतर्क हुनुपर्छ । ”

उहाँले सुरक्षा परिषद्को संवैधानिक कानुनी र व्यवहारिक रूपमा सही प्रयोग भइरहेको दाबी गर्नुभयो । विशेष गरी प्रतिरक्षा र राष्ट्रिय सुरक्षाको मामिलामा नेपाली सेनाको परिचालन एवं प्रयोग सही ढङ्गले गर्ने सवालमा परिषद्ले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको उहाँले उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो “सुरक्षा परिषद्को संवैधानिक कानुनी र व्यवहारिक रूपमा सही प्रयोग भएको छ । र यसले आफूलाई नीति निर्माणको तहमा र कार्यक्षेत्रमा खास गरी प्रतिरक्षा र राष्ट्रिय सुरक्षाको मामिलामा नेपाली सेना र सेनाको परिचालन एवं प्रयोग कसरी उपयुक्त ढङ्गले हुन सक्छ भन्ने नीतिहरू र अभ्यासका अनुभवहरूले हामीलाई परिमार्जित स्थितिमा पुराएको छ । र हामी अहिले अन्यौलको स्थितिमा होइन बहुतै स्पष्टताको स्थितिमा छौ । विगतको अनुभवहरूलाई लिएर हामी अझ स्पष्टताका साथ अगाडि बढ्न जरुरी छ । ”

तुलनात्मक रूपमा विश्वमा शान्तिको स्थिति भए पनि ठुलो सानो सबै राष्ट्रले अनुचित ढङ्गले प्रभाव विस्तारको मुद्दालाई अघि सारेको भन्दै उहाँले आफ्नो राष्ट्रिय हितको रक्षा गरिरहँदा अरूको राष्ट्रिय हितको कहीँ कतै उल्लङ्घन हुन्छ कि भन्ने कुरामा सबैले ध्यान दिनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो “प्रतिरक्षा र सुरक्षाको विषय र सैन्य परिचालन सम्बन्धी प्रश्नहरूलाई मूलतः राष्ट्रहरूले दुई हिसाबले सोचेको पाइन्छ । प्रभाव विस्तार र सम्प्रभुताको रक्षा । हामी प्रभाव विस्तारको पक्षमा होइन हामी न्यायोचित सम्प्रभुताको रक्षा र शान्ति सुरक्षाको पक्षमा छौ । ठुलो होस् वा सानो सबैले आफ्नो अनुचित ढङ्गले प्रभाव विस्तारमा होइन न्यायोचित हकको रक्षामा सैन्य शक्तिको प्रयोग गर्नुपर्दछ भन्ने हामी ठान्दछौ । कहीँ पनि अन्यथा ढङ्गले प्रयोग गरिनु उचित हुँदै होइन । कुनै पनि राष्ट्रले आफ्नो न्यायोचित हितको रक्षा र संवर्द्धनमा केन्द्रित गर्नुपर्छ । आफ्नो राष्ट्रिय हितको रक्षा गरिरहँदा अरूको राष्ट्रिय हितको कहीँ कतै उल्लङ्घन हुन्छ कि भन्ने कुरामा हरेक राष्ट्र सजग सचेत हुनुपर्छ । यस अर्थमा हामी ग्लोबल र सर्वकालिक ढङ्गले सही सिद्धान्त, नीति र व्यवहारमा छौ । ”

नेपाल सरकार सधैँ शक्तिको आडमा नभई सत्यको आडमा न्यायका कुरा स्थापित गर्न चाहने भएकाले सोही अनुसार प्रतिरक्षा र सुरक्षा लगायत नीति तय गरिएको उहाँले स्पष्ट पार्नुभयो । राष्ट्रिय र प्राकृतिक विपतको समयमा नेपाली सेनाले नै अग्र भागमा बसेर काम गर्ने गरेको उल्लेख गर्दे उहाँले सुरक्षा,सेवा र निर्माण सम्बन्धी कामलाई समुचित र व्यवस्थित ढङ्गले अघि लैजाने कुराको व्यवस्थापन सुरक्षा परिषद्ले गर्ने बताउनुभयो ।

नेपाली सेनाको राष्ट्र निर्माण, सुरक्षा र प्रतिरक्षामा महत्त्वपूर्ण योगदान र गौरवपूर्ण इतिहास रहेको तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पनि ख्याति कमाएको भन्दै उहाँले नेपाली सेनाको प्रशंसा गर्नुभयो ।

प्रधानमन्त्री ओलीले हिंसाको बाटोमा लागेकालाई शान्तिपूर्ण राजनीतिको मूलधारमा फर्काएकाले आन्तरिक हिंसा टुङ्गिएको र विखण्डनवादको पनि अन्त्य भएकाले नेपाल राष्ट्रिय एकताको शान्तिपूर्ण र नयाँ युगको उचाइमा प्रवेश गरेको बताउनुभयो । उहाँले समृद्ध नेपाल,सुखी नेपालीको राष्ट्रिय उद्देश्य र गन्तव्य प्राप्त गर्न सबै व्यवधानहरू हटेकाले अब नेपाल सजिलै सम्वृद्धिको बाटोमा अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button