प्रदेश स्तरीय लोकदोहोरी प्रतियोगिताका उत्कृष्ट ९ टिम छनोट

शनिबार पोखरामा फाइनल प्रतिष्पर्धा हुने

पोखरा न्यूज सम्वाददाता । प्रदेश स्तरीय लोक दोहोरी गीत प्रतियोगिता २०७७ को अन्तर्गत अघिल्लो चरणका लागि उत्कृष्ट ९ टिम छनोट भएका छन् । प्रतियोगिताको आयोजना राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समिति पोखराले गरेको हो ।

गण्डकी प्रदेशका कास्की, तनहुँ, लमजुङ, स्याङजा, बागलुङ, पर्वत, म्याग्दी, गोरखा र नवलपुर जिल्लाबाट लोक दोहोरी गीत प्रतिष्ठानको प्रतिनिधित्व गर्दै ती टिम अघिल्लो चरणका लागि प्रवेश गरेका हुन् । यसरी छानिनेमा गोरखा जिल्लाबाट चित्र गुरुङ र देवी आले रहनुभएको छ । कुल ६ टिमले सहभागीता जनाएको गोरखामा गुरुङ र आलेको टिम उत्कृष्ट बन्दै अघिल्लो चरणका लागि छानिएको हो ।

कुल ५ टिमले सहभागीता जनाएको पर्वतबाट विष्णु प्रसाद तिवारी र करुणा धमालको टिम अघिल्लो चरणका लागि छानियो । कुल ५ टिमले भाग लिएको कास्कीबाट उमेश अधिकारी र सुष्मा वि.सी.को टिम उत्कृष्ट बन्न सफल भयो । बागलुङबाट सुमन खड्का र शर्मिला वि.सी.को टिम छनोट भएको छ । बागलुङमा कुल ५ टिमबीच प्रतिष्पर्धा भएको थियो । लमजुङबाट प्रशान्त तामाङ र प्रिती गिरीको टिम अब्बल बन्यो । जहाँ सबैभन्दा धेरै १२ टिमकाबिच अघिल्लो चरण प्रवेशका लागि प्रतिष्पर्धा भएको थियो । म्याग्दीबाट बल बहादुर परियार र हिरा किसानको टिम छनोट हुन सफल भयो । म्याग्दीमा ५ टिमबिच प्रतिष्पर्धा भएको थियो ।

यसैगरी तनहुँमा ४ टिम बिच प्रतिष्पर्धा हुँदा शान्तराज वि.क. र सीमा शाहीको टिम छनोट भयो । स्याङजा जिल्लाबाट प्रकाश पराजुली र सपना रोकाको टिम छानिएको छ । स्याङजामा ४ टिमबीच प्रतिष्पर्धा भएको थियो । ४ टिमबीचमानै प्रतिष्पर्धा भएको नवलपुरबाट डिलसिंह सुमलिङ मगर र सपना परियारको टिम अघिल्लो चरणका लागि छनोट भयो ।

गण्डकी प्रदेशको मुस्ताङ र मनाङ जिल्लाले भने प्रतियोगितामा सहभागिता जनाएनन् । यस अगाडि प्रदेश समिति पोखराको टिमले समेत प्रतियोगितामा भाग लिने भनिएपनि प्राविधिक टिमको सल्लाह अनुसार प्रदेश समितिले सहभागिता नजनाउने निर्णय गरेको आयोजक संस्थाका अध्यक्ष सुरेन्द्र गुरुङले पोखरा न्युजलाई बताउनुभयो ।

प्रतियोगिता अन्र्तगत अब क्वाटर फाइनल प्रवेशका लागि शुक्रबार प्रतिष्पर्धा हुनेछ । शुक्रबार साइमन पार्टी प्यालेस सिर्जनाचोकमा विहान १० बजे प्रतिष्ठान म्याग्दी र प्रतिष्ठान लमजुङबीच सेमी फाइनल प्रवेशका लागि प्रतिष्पर्धा हुनेछ । प्रतिष्ठान बागलुङ र प्रतिष्ठान पर्वतका बीच बिहान ११ बजे प्रतिष्पर्धा हुनेछ । प्रतिष्ठान कास्की र प्रतिष्ठान तनहुँका बीचको प्रतिष्पर्धा मध्यान्न १२ बजेलाई तय भएको छ । प्रतिष्ठान स्याङजा र प्रतिष्ठान गोरखाबीच दिउँसो १ बजे क्वाटर फाइनल प्रवेशका लागि प्रतिष्पर्धा हुनेछ । सोही दिन दिउँसो २ बजे समूह १ को विजेतासँग प्रतिष्ठान नवलपुरले प्रतिष्पर्धा गर्नेछ । यसबाट विजेता हुने टिमले सेमी फाइनल प्रवेशका लागि समुह २ को विजेतासँग प्रतिष्पर्धा गर्नेछ । यसैगरी समुह ३ को विजेता र समुह ४ को विजेतासँग शुक्रबारनै सेमीफाइनल प्रवेशका लागि प्रतिष्पर्धा हुने तय भएको छ । सेमी फाइनल र फाइनल प्रतिष्पर्धा शनिबार पयर्टन बोर्डको सभाहल ड्यामसाइडमा विहान १० बजेबाट सुरु हुनेछ ।

यो प्रतियोगिताको मुख्य निर्णायकमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश विजी हुनुहुन्छ । यसैगरी जुरी निर्णायकको संयोजकमा प्राज्ञ प्रजापति पराजुली रहनुभएको छ । सदस्यमा पुरुषोत्तम न्यौपाने र शान्ति गुरुङलाई जिम्मेवारी दिइएको छ ।

यसैगरी प्राविधिक निर्णायक टिमको संयोजकमा प्रतिष्ठानका केन्द्रियसचिव जीवन दाहाल र सहसंयोजकमा प्रतिष्ठानका गण्डकी प्रदेश समितिका संस्थापाक अध्यक्ष शंकर बिरहि गुरुङ रहनुभएको छ । प्राविधिक निर्णायक टिमको सदस्यको रुपमा सरला पान्डे, तारानाथ आचार्य, चोलेन्द्र पौडेल, तारापति सुबेदी र पार्वती जिसीलाई जिम्मेवारी दिइएको छ ।
यस अगाडि बृहत लोक सांस्कृतिक महोत्सवको रुपमा हुँदै आएको कार्यक्रमलाई गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको विशेष सहयोगमा प्रदेश स्तरीय लोक दोहोरी गीत प्रतियोगिता आयोजना गरिएको हो । फाइनल प्रतियोगिता गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङको प्रमुख आतिथ्यतामा हुने तय गरिएको प्रतिष्ठान गण्डकीका सचिव राजन कार्कीले जानकारी दिनुभयो । अन्तिम प्रतिष्पर्धा लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको स्थापना दिवसको दिनमानै गर्न लागिएकोे हो ।

प्रतियोगितामा प्रथम हुने टिमले एक लाख ११ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार हात पार्नेछ । यसैगरी द्धितीय हुने टिमलाई ७७ हजार ७ सय ७७ रुपैयाँ, तृतीय हुने टिमलाई ३३ हजार ३ सय ३३ रुपैयाँ र सान्त्वना हुने टिमलाई ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरिनेछ । यसका साथै पुरुष तर्फ उत्कृष्ट गायक घोषित हुनेले ५ हजार ५ सय ५५ रुपैयाँ र महिला तर्फ उत्कृष्ट घोषित हुने गायिकाले ५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार स्वरुप पाउनेछन् ।
लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको स्थापना दिवसको दिनमा हुने कार्यक्रममा लोक दोहोरी क्षेत्रमा लामो समयदेखि क्रियाशील कास्कीका अम्मर धिताल र बाग्लुङकी रेवती पौडेललाई सम्मान गरिने भएको अध्यक्ष गुरुङले बताउनुभयो ।

प्रतियोगिताको आयोजनाका कारण गण्डकी प्रदेशको लोक दोहोरी क्षेत्रमा सकारात्मक सन्देश प्रवाह भएको प्रतिष्ठान गण्डकी प्रदेश समिति पोखराका अध्यक्ष गुरुङले सुनाउनुभयो ।

पोखरा न्युजसँग कुरा गर्दै गुरुङ भन्नुहुन्छ–‘लामो समयपछि दोहोरीगीत प्रतियोगिता आयोजना गरेका छौँ । यसले दोहोरी क्षेत्रमा नयाँ उर्जा थपेको छ । आज भोलि मेला महोत्सवमा समेत दोहोरी प्रतियोगिता राखिदैन किनकि प्रतियोगिता खर्चिलो हुन्छ । निर्णायक भत्ता, प्रतियोगीलाई भत्ता, सगितकर्मीलाई भत्ता सहित पुरस्कार समेतको कारणले गर्दा दोहोरी गीत प्रतियोगिता आफैमा कठिन काम हो । हामीले नै प्रदेश स्तरीय प्रतियोगिता गर्दा धेरै दुःख गर्न पर्‍यो । तर, यस्ता प्रतियोगिता गर्न पर्दोरहेछ भन्ने हामीलाई अहिले लागेको छ । नयाँ उर्जा सहित दोहोरीको माहोल प्रतियोगिताले बनाएकोे छ । जिल्ला–जिल्लामा छनोट प्रतियोगिता गर्दै गर्दा भाग लिने कलाकार साथै दोहोरीलाई मन पराउने दर्शकको अपार माया मात्र नभएर कार्यक्रमको निरन्तरताको सल्लाह सुझाब पाएका छौ । प्रदेश सरकारको सहयोगमा प्रतिष्ठान गण्डकी प्रदेशले प्रतियोगिता गर्दै गर्दा नया तथा पुराना कलाकारको पुनरमिलन हुने स्थान बनेको छ ।’

फागुन २८ गते शुक्रबार र २९ गते शनिबार पोखरामा हुने प्रतिष्पर्धाको लागि सम्पूर्ण तयारी पूरा भएको आयोजकको भनाइ रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button