प्रदेश स्तरीय लोकदोहोरी प्रतियोगिताकाे उपाधि बागलुङलाई

पोखरा न्यूज सम्वाददाता । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समिति पोखराले आयोजना गरेको प्रदेश स्तरीय लोक दोहोरी गीत प्रतियोगिता २०७७ को उपाधि बागलुङले जितेको छ । नेपाल पर्यटन बोर्ड पोखराको सभाहल ड्यामसाइडमा आयोजित फाइनल प्रतिष्पर्धामा स्याङ्जलाई पराजित बागलुङले उपाधि हात पारेको हो । बागलुङबाट सुमन खड्का र शर्मिला वि.सी.को टिम छनोट भएर प्रतिष्पर्धाको लागि पोखरामा आएको थियो । बागलुङमा कुल ५ टिमबीच अब्बल बनेको यो टिम अन्तत प्रदेशकै अब्बल टिम बन्न सफल बन्यो । उपाधिसँगै बागलुङले एक लाख ११ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार हात पार्‍यो ।

उपविजेता बनेको स्याङजाले ७७ हजार ७ सय ७७ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्‍यो । स्याङजा जिल्लाबाट प्रकाश पराजुली र सपना रोकाको टिम छानिएर पोखरा आएको थियो । स्याङजामा ४ टिमबीच प्रतिष्पर्धा भएको थियो ।

यसैगरी आफ्नो जिल्लामा १२ टिमकाबीच प्रतिष्पर्धा हुँदा उत्कृष्ट बन्दै पोखरा आएको लमजुङका प्रशान्त तामाङ र प्रिती गिरीको टिम तृतिय बन्न सफल भएको छ । सेमी फाइनलमा बागलुङ सँग पराजित भएको यो टिमले तृतिय स्थानको प्रतिष्पर्धामा तनहुँलाई पराजित गरेको थियो । तृतिय हुन सफल यो टिमले ३३ हजार ३ सय ३३ रुपैयाँ आफ्नो पोल्टामा पार्‍यो । तनहुँको टिम सान्त्वना भयो । तनहुँमा ४ टिम बीच प्रतिष्पर्धा हुँदा उत्कृष्ट बनेको शान्तराज वि.क. र सिमा शाहीको टिम सेमी फाइनलमा स्याङजा र तृतिय स्थानको लागि भएको प्रतिष्पर्धामा लमजुङसँग पराजित भएको हो । सान्त्वना बनेको यो टिमले ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्‍यो ।

यसका साथै उत्कृष्ट गायक गायिकाको पुरस्कार गोरखाका चित्र गुरुङ र देवि आलेले जित्नुभयो । अनुशासित गायकमा उमेश अधिकारी र हिरण थापामगर तथा हाउभाउ सहितको मौलिक प्रस्तुतीमा सिमा शाही र हिरा किसान अब्बल बन्नुभयो । उहाँहरुलाई केन्द्रिय सल्लाहकार पृथ्वि थकालीले नगद पुरस्कार प्रायोजन गर्नुभएको थियो ।

प्रतियोगितामा गण्डकी प्रदेशका कास्की, तनहुँ, लमजुङ, स्याङजा, बागलुङ, पर्वत, म्याग्दि, गोरखा र नवलपुर जिल्लाबाट लोक दोहोरी गीत प्रतिष्ठानको प्रतिनिधित्व गर्दै उत्कृष्ट ९ टिमले उपाधिका लागि पोखरामा प्रतिष्पर्धा गरेका थिए ।

उत्कृष्ट ९ मा छानिनेमा गोरखा जिल्लाबाट चित्र गुरुङ र देवी आले, पर्वतबाट विष्णु प्रसाद तिवारी र करुणा धमाल, कास्कीबाट उमेश अधिकारी र सुष्मा वि.सी., म्याग्दीबाट बल बहादुर परियार र हिरा किसान, नवलपुरबाट डिलसिंह सुमलिङ मगर र सपना परियारको टिम रहेको थियो । गण्डकी प्रदेशको मुस्ताङ र मनाङ जिल्लाले भने प्रतियोगितामा सहभागिता जनाएनन् ।
प्रतियोगिताको मुख्य निर्णायकमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश विजी हुनुहुन्थ्यो । यसैगरी जुरी निर्णायकको संयोजकमा प्राज्ञ प्रजापति पराजुलीलाई जिम्मेवारी दिइएको थियो । सदस्यमा पुरुषोत्तम न्यौपाने र शान्ति गुरुङ हुनुहुन्थ्यो ।

प्राविधिक निर्णायक टिमको संयोजकमा प्रतिष्ठानका केन्द्रियसचिव जीबन दाहाल र सहसंयोजकमा प्रतिष्ठानका गण्डकी प्रदेश समितिका संस्थापा अध्यक्ष शंकर बिरहि गुरुङ रहनुभएको थियो । प्राविधिक निर्णायक टिमको सदस्यको रुपमा सरला पान्डे, तारानाथ आचार्य, चोलेन्द्र पौडेल, तारापति सुबेदि र पार्वती जिसीलाई जिम्मेवारी दिइएको थियो ।

यस अगाडि बृहत लोक सांस्कृतिक महोत्सवको रुपमा हुँदै आएको कार्यक्रमलाई गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको विशेष सहयोगमा प्रदेश स्तरीय लोक दोहोरी गीत प्रतियोगिता आयोजना गरेको हो । फाइनल प्रतियोगिता गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङको प्रमुख आतिथ्यतामा भएको हो । लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको स्थापना दिवसको दिन पारेर आयोजना गरिएको कार्यक्रमले गण्डकी प्रदेशमा मात्रै नभएर नेपालमानै लोकदोहोरी क्षेत्रमा सकारात्मक सन्देश दिएको आयोजकको दावी छ ।

कार्यक्रममा लोक दोहोरी क्षेत्रमा लामो समयदेखि क्रियाशिल कास्कीका अम्मर धिताल र बाग्लुङकी रेवति पौडेललाई सम्मान गरिएको थियो । सोही कार्यक्रममा विभिन्न क्षेत्रका १२ जनालाई प्रतिष्ठानको आजिवन सदस्यता प्रदान गरिएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समिति पोखराका अध्यक्ष सुरेन्द्र गुरुङले जानकारी दिनुभयो ।

यसैगरी पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकाल, भुमी सम्बन्धी आयोग कास्कीका संयोजक दामोदर वैरागी, कल्याणकारी कोषमा सहयोग गर्नुहुने पूर्व सल्लाहकार भिम भट्टराईलाई सम्मान गरियो ।

प्रतिष्ठान गण्डकी प्रदेशका अध्यक्ष सुरेन्द्र गुरुङको सभापतित्वमा भएको कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष पूर्ण परियार र सञ्चालन सचिव राजन कार्कीले गर्नुभएको थियो । राम्जी खाँड सहितका कलाकारको प्रस्तुतीले कार्यक्रममा थप रौनकता थपेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button