खास्टे र न्युरेनी तालको प्रचार गर्न महोत्सव

महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको दैनिक प्रस्तुति रहने

पोखरा न्यूज सम्वाददाता । कास्कीका खास्टे र न्युरेनी तालको प्रचार गर्नको लागि खास्टे ताल महोत्सव–२०७७ को आयोजना गरिएको छ । पोखरा २६ खास्टेमा आयोजना हुने महोत्सव चैत्र १२ गतेबाट सुरु हुने आयोजक खास्टे ताल मत्स्य तथा कृषि सहकारीका अध्यक्ष हरि प्रसाद अधिकारीले बताउनुभयो । चैत्र २२ गतेसम्म चल्ने प्रथम खास्टे ताल महोत्सवको मुख्य उद्धेश्य ओझेलमा परेका पोखरा महानगरपालिका वडा नम्बर २६ का खास्टे, न्युरेनी र गुँदे ताललाई चिनाउनु रहेको अध्यक्ष अधिकारीले पोखरा न्युजलाई बताउनुभयो ।

‘हामीले महोत्सव आयोजना गर्नुको उद्धेश्य ओझेलमा परेका पोखरा २६ का खास्टे, न्युरेनी र गुँदे ताललाई चिनाउनुनै हो । यसका अलावा ताल उत्पादन हुने माछाको बारेमा जानकारी दिने हाम्रो अर्को उद्धेश्य छ’ उहाँले भन्नुभयो । महोत्सवको आयोजनाले पोखरा २६ खास्टेसँग आसपासका पर्यटकीय गन्तव्यको समेत प्रचारप्रसार भई आन्तरिक तथा बाह्रय पयर्टकको आर्कषण थपिने विश्वास आफूहरुको रहेको उहाँले बताउनुभयो ।

महोत्सव हेर्नको लागि विद्यार्थीको लागि ३० रुपैयाँ र अन्य सर्वसाधरणका लागि ५० रुपैयाँ प्रवेश शुल्क लाग्नेछ । साँझमा हुने कन्सर्टको लागि भने एक सय रुपैयाँ प्रवेश शुल्क तोकिएको छ । महोत्सवलाई भव्य बनाउन तयारी तिव्र पारिएको आयोजकको भनाई रहेको छ ।
हुनत पछिल्लो समयमा खास्टे र न्युरेनी ताल पछिल्लो समयमा आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको थियो । घुम्नको लागि मात्र नभएर पिकनिकमा रमाउनको लागि तथा अध्ययनको लागि समेत यहाँ पुग्नेहरु दिनप्रतिदिन बढ्दै थिए । महोत्सवको आयोजनाले यहाँ पूग्ने व्यक्तिको संख्यामा मात्र वृद्धि नभई यो ठाउँको बारेमा धेरैले जान्ने मौका पाउने आयोजकको विश्वास रहेको छ ।

डुंगामा बसेर खास्टे ताल घुम्न समेत पाइन्छ । जसकोे लागि साना डुंगाको एक घण्टाको दुईसय र ठूलो पाइडल भएको डुंगाको एक घण्टाको पाँच सय रुपैया शुल्क तिर्नुपर्छ । पाइडल भएकोमा ८ जनाले यात्रा गर्न सकिन्छ । विगत दुईवर्ष देखि यहाँ पुगेर डुंगा मार्फत अवलोकन गर्ने व्यवस्था मिलाइदै आएको छ ।

तालको अवस्थामा सुधार हुनमा हरियो वन कार्यक्रमको महत्वपूर्ण भुमिका रहेको छ । हरियो वन कार्यक्रमसँग खास्टे र न्युरेनी ताल संरक्षणको लागि पाँच वर्षीय कार्यक्रम सम्झौता भएको थियो । सोही सम्झौता बमोजिम हरियो वनले आर्थिक सहयोग ग¥यो । यसरी गरिएको आर्थिक सहयोगबाट यहाँ पुर्वाधार निर्माण गरियो । यसका अलावा स्थानीय निकाय, नेपाल सरकारले समेत यो तालको लागि पछिल्ला दिनमा चासो देखाएको छ ।

‘भुसंरक्षण तथा जलाधारले गत वर्ष कोभिडकै बेलामा ४० लाख रुपैयाँ बजेट दिएको थियो । सो रकमबाट लगभग साढे ४ सय मिटर फुट ट्रयाक तयार पारेका छौ । डेढ सय मिटर पर्खाल लगायौ । ५० वटा जाली लगाएका छौ’ खास्टे न्युरेनी ताल संरक्षण विकास समितिका संस्थापक सदस्य मध्येका एक हेमराज बरालले भन्नुभयो । देश संघियतामा गइसकेपछि प्राप्त बजेटका कारण खास्टे तथा न्युरेनी तालले केही पृथक रुप लिएको बरालले बताउनुभयो । यसका अलावा ताल संरक्षण गर्नको लागि विभिन्न व्यक्ति तथा संस्थाको सहयोग समितिलाई मिलेको छ ।
‘कास्कीका तालहरुमध्ये संस्थागत रुपमा हामीले राम्रो गर्न सक्यौं कि भन्ने लागेको छ’ अधिवक्ता समेत रहनुभएका बरालले भन्नुभयो ।

संरक्षणको अभावमा कुनै समयमा ओझेलमा परेको खास्टे तथा न्युरेनी ताललाई व्यवस्थित रुपमा अगाडि बढाउन समिति क्रियाशील बन्दै गएको छ । समितिको पूर्व कोषाध्यक्ष समेत रहनुभएका बरालले पोखरा न्यूजसँग कुरा गर्दै भन्नुभयो–‘पहिला खास्टे प्राली मार्फत वसन्त लिगल, श्रीकान्त ढुंगाना लगायतले माछा पाल्ने काम गर्नुभएको थियो । तत्कालिन लेखनाथ नगरपालिकासँग १५ वर्ष भाडामा लिएर सुरुवात उहाँहरुबाट भयो । तर प्राविधिक रुपमा उहाँहरु सफल हुन सक्नुभएन । पछि त्यहीँ कामलाई आधार बनाएर हामीले काम सुरु ग¥यौ । हरि अधिकारीको नेतृत्वमा २०७२ सालको असोज महिनामा खास्टे न्युरेनी ताल संरक्षण विकास समिति विधिवत दर्ता गरियो । त्यसपछि ताललाई नयाँ स्वरुप दिन सुरु भएको हो । जालो तान्नेदेखि लिएर विभिन्न संघसंस्थाको सहयोगमा सुरुवातमा सरसफाइका कार्यक्रम भएका थिए ।’

सो समितिलले खास्टे तथा न्युरेनी तालमा माछाको सम्भावना बढी देख्यो । अनि माछाको हब बनाएर सप्लाई गर्न सकिन्छ भनेर काम सुरु गरियो । स्थानीय स्रोत साधनको प्रयोग गरेर स्थानीयको जीवनस्तर उकास्न अवसर समेत सिर्जना गर्नुपर्छ भन्ने सोच बनाएर खास्टे ताल मत्स्य तथा कृषि सहकारी दर्ता भयो । अनि सहकारी मार्फत नै माछा पाल्न थालियो । समिति दर्ता भएको एक वर्ष पछाडि २०७३ साल माघमा सहकारी दर्ता भएको हो । अहिले सहकारीले माछा पाल्छ । सहकारीमा ७ सय २८ जना सेयर सदस्य रहेको खास्टे न्युरेनी ताल संरक्षण विकास समिति तथा खास्टे ताल मत्स्य तथा कृषि सहकारीका अध्यक्ष अधिकारीले बताउनुभयो ।
‘ताल संरक्षण विकास समितिलेनै सहकारी सञ्चालन गरेको कारण काममा समस्या नहोस् भनेर सहकारी र विकास समितिको नेतृत्व एउटैले लिने गरेका छौ’ अध्यक्ष अधिकारीले भन्नुभयो ।
ताल संरक्षण समितिले तालको संरक्षण, पुर्वाधार विकास, पर्यटकीय विकासलाई जोड्छ भने सहकारीले आर्थिक वृद्धि गर्ने काम गर्छ ।

समितिले ताल संरक्षण र यसको आर्कषण बढाउन दीर्घकालिन योजना बनाएको छ । पुरै ताललाई फुट ट्रयाकले जोड्ने समितिको योजना छ । यस्तै यहाँ रहेको जेष्ठ ताल बाराही मन्दिरको प्रचारप्रसार र संरक्षण गर्न समितिले काम गर्दैछ ।

‘खास्टे तालमा रहेको ताल बाराही मन्दिरलाई जेष्ठ ताल बाराही मन्दिर भनिन्छ । फेवातालमा रहेकोलाई कान्छी ताल बाराही भन्ने गरिन्छ । सोही कारण धार्मिक पर्यटनको नयाँ गन्तव्यको रुपमा विकास गर्ने सोच हामीले राखेका छौ’ अध्यक्ष अधिकारीले बताउनुभयो ।

मन्दिर नजिकै रहेको थुम्कीमा एक्लाख रूपैयाँमा ढुंगाबाट निर्मित शिबजी मुर्ति ल्याउन लागिएको छ । त्यसपछि सो ठाउँलाई धार्मिक पार्कको रुपमा विकास गर्ने समितिको लक्ष्य हो । मुर्तिको लागि अडर दिइसकिएको उहाँले बताउनुभयो । यसका अलावा सुविधासम्पन्न ट्वाइलेट, वाथरुम, बाटो निर्माण गरेर योगा हबको रुपमा विकास गर्ने तयारी समेत गरिएको छ ।
तालको बीचमा टिपीकल खालको चौतारी निर्माण गर्ने, तालको लागि केही जग्गा अधिकरण गर्ने तयारी समितिले बनाएको छ । यसको लागि प्रदेश सरकार र संघ सरकारसँग पहल भैरहेको छ ।
यहाँ ३० लाख हाराहारीमा माछा रहेका छन् । माछा हाल्ने र झिक्ने भइरहन्छ । सहकारीले विक्रि गर्ने लोकल सहर माछाको एक केजीको एक हजार रुपैयाँ, भ्याकुरको ५ सय, ग्रास, कमन, नैनी लगायतकाको ४ सय ५० र सानो माछाको प्रति केजी ३ सय मुल्य तोकिएको छ । यहाँ उत्पादन भएका माछाको माग बढ्दै गएको छ ।

पृथ्विराजमार्ग अन्तर्गत लेखनाथ बुढीबजारबाट झण्डै डेढ किमी दुरिमा खास्टे र न्युरेनी ताल रहेको छ । खास्टे तालको पानीले ढाकेको क्षेत्रफल १३ हेक्टर रहेको छ । यसैगरी न्युरेनी तालको पानीले ढाकेको क्षेत्रफल २ दशमलव ७ हेक्टर रहेको छ । खास्टे तालको पानीको श्रोत ठूलो खोला तथा नुवाराको खोला हो ।

खास्टे ताल महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको दैनिक प्रस्तुति समेत आर्कषणको रुपमा रहनेछ । महोत्सवको सह–आयोजकमा राष्ट्रिय संगीतकर्मी संघ नेपाल जिल्ला कार्यसमिति कास्की रहेको छ । महोत्सवलाई सफल पार्न अध्यक्ष अधिकारीको संयोजकत्वमा १ हजार ५ सय १ सदस्यीय मूल समारोह समिति विभिन्न ३२ वटा उपसमिति सहित गठन गरेर तयारी तिव्र पारिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button