प्रतिनिधि सभाले विस्तारै लय समात्छ-सभामुख सापकोटा

पोखरा न्यूज संवाददाता । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाले बिस्तारै लय समात्ने बताउनुभएको छ ।

शनिबार जीपी कोइराला मेमोरियल(सामुदायिक) कलेजको आठौँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै सभामुख सापकोटाले प्रतिनिधिसभा सञ्चालनमा केही समस्या भएका कारण त्यसलाई लयमा फर्काउन मेहनत गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको हो ।

संसद छलफल, बहस, बादविवाद र सम्वाद हुँदै अघि बढ्ने भन्दै उहाँले चुनौतीहरुको सामना गर्न प्रतिकुलतामा पनि अनुकुलता खोज्ने उपायहरु खोजिरहेको बताउनुभयो । संसदको अनेकौ चुनौतीहरुको सामना गर्दै गुणस्तरीय कानून निर्माणको लागि प्रयत्न गरिरहेको पनि उहाँको भनाई छ । उहाँले भन्नुभयो -‘अलिकति समस्याहरु छन् । त्यसलाई लयमा फर्काउनको लागि बढी नै मेहनत गर्नुपर्ने आवश्यकता छ । तर हिजोबाट तपाईंहरुलाई लाग्यो होला अब त्यसले लय समात्छ । त्यसले गति लिन्छ । त्यो जिवन्त र जनमुखि हुने नै छ ।

हामीले संसदलाई जीवन्त र जनमुखी बनाउने प्रण गरेका छौँ । संसदको मुख्य काम कानून निर्माण गर्ने हो । कानून निर्माण गर्ने कुरामा हामी अनेकन चुनौतीको सामना गर्दै त्यसलाई गुणस्तरीय कानून निर्माण गर्नका लागि भगिरथ प्रयत्न गर्दैछौँ र त्यसपछि बनेको कानूनहरु कार्यान्वयन गर्ने हाम्रो कर्तव्य हुनेछ । चुनौतीहरु अवश्य छन् । समस्याहरु अवश्य छन् । नयाँ नयाँ उपायहरु प्रतिकुलतामा पनि अनुकुलता खोज्ने उपायहरु खोजिरहेका छौँ र बिस्तारै समय लाग्छ तर म विश्वास दिलाउन चाहन्छुकी त्यसले फेरि गति लिनेछ । जीवन्त र जनमुखी हुनेछ । संसद भनेको छलफल, वहस, वादविवाद, सम्वाद हुँदै अगाडि जाने कुरा हो । वादविवाद छ अब सम्वाद हुँदै अगाडि बढ्छ ।’

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले राजनीतिक पार्टीहरु बीच सहमती र सहकार्य हुन नसकेको भन्दै सहमती साथ मुलुकलाई राजनीतिक स्थिरतातर्फ लैजानु आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो -‘मुलुक तरलताको अवस्थामा छ । अझैपनि राजनीतिक पार्टीमा सहमती, सहकार्य र एकता हुन सकेको छैन । मुलुकलाई समृद्धितर्फ, राजनीतिक स्थिरता तर्फ लगेर जान आवश्यक छ ।’सांसद प्रधानले राजनीतिक सहमती नभए मुलुकमा अस्थिरता हुनाले देशमा विकास र शान्ति नहुने पनि बताउनुभयो ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button