पार्टीमा लागेको खिया फाल्न लागेका छौं-वरिष्ठ नेता नेपाल

पोखरा न्यूज संवाददाता । नेपाल कम्युनिष्ट पार्टी एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले पार्टीमा ३ वर्ष देखि लागेको खिया हटाउने प्रयास आफूहरुले गरेको बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी एमाले नेपाल खनाल पक्षको युवा संघको राष्ट्रिय कार्यकर्ता भेलालाई सनिबार काठमाण्डौमा सम्बोधन गर्दै बरिष्ठ नेता नेपालले ३ बर्षदेखि पार्टीमा खिला लागेको र आफुहरुले खिया फाल्ने प्रयास गरिरहेको बताउनुभएको हो । पुर्ववत रुपमा रहेका पार्टीका सवै संरचनाहरुको बैठक, भेला लगायत कार्य गर्दै कार्यकर्तामा फेरि उही उत्साह र एकता भर्ने गरि विचारलाई सफा बनाउने काम भईरहेको उहाँले स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो “३ वर्षसम्म सबै तिर काईलागेको थियो खिया लागेको । खियालाई हामी विस्तारै हटाउदैछौ । काईलाई हटाउदै छौ । खिया हटाउदैछौ । फेरि हामी दाँत माझ्दैछौ । अब फेरि ब्रसिङ गरेर दाँतले हामी फ्रेस एयर दिनेछौ । गन्हाएको थियो मुख । फेरि ब्रस गरेर उत्साहित बनाउदैछौ । झण्डै झण्डै हाम्रो मुख गन्हाएर हैरान भइसकेको थियो । फेरि हामीले त्यो फोहर मैलालाई तुतपेष्टले क्लीयर पारेर सफा र स्वच्छ वायुको साथसाथ प्राणवायु अनि फ्रेस अक्सिजन भरिन्छ फ्रेस अक्सिजन के हो ? प्राणवायु के हो ? माक्र्सवादको विचार हो । जसरी शरीरमा अक्सिजन चाहिन्छ त्यसैगरी संगठनमा विचार चाहिन्छ । त्यो विचारले उर्जा र शक्ति दिएर अघि बढ्नलाई प्रेरित गर्ने बताउनुभयो । ”

उहाँले पार्टी एकीकरणपछि एकता अगाडिकै अवस्थामा फर्कनु भनेर सर्वौच्च अदालतले फैसला गर्नु भनेको “जन्मेको बच्चा मान्दैनौ फेरि गर्भमा लैजाउ” भने जस्तै भएको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो “सर्वोच्च अदालतले फैसला गरेछ, दुईवटा पार्टीले नेपाल कम्युनिष्ट पार्टी नेकपा बनाएको भएतापनि त्यो चाहिँ हामी मान्दैनौ तिमीहरु पुरानै ठाउँमा फर्क भनेर उसले फैसला गरिदिएछ । यो जन्मेको बच्चा मान्दैनौ फेरि गर्भमा लैजाउ भने जस्तै फैसला हो । बच्चा जन्मिईसकेको छ । नयाँ संगठन अस्तित्वमा आईसकेको छ । त्यो मान्दिनँ भन्दियो सर्वोच्च अदालतले । फैसला गलत भएतापनि सर्वोच्च अदालतको फैसला भएकाले असहमति भएर पनि मान्दैनौ भन्न मिलेन । नाम मिलेन नाम जुध्यो भन्न सकिन्थ्यो । नाम फेरेर आउनुहोस् भन्न सकिन्थ्यो । नाम फेर्न पो भन्ने हो एकताको कुरै मान्दैनौ भन्न्ने । त्यो फैसलामा बहस फैसला त गर्दैगरौला तर हामी निर्णय मान्न बाध्य छौ । ”

पार्टीमा सबैभन्दा ठूलो समस्याको जड नै अध्यक्ष केपी ओली भएको भन्दै उहाँले सर्वोच्च अदालतको फैसलापछि पुर्ववत संरचनालाई नै अस्तित्वमा ल्याउँ भन्ने आफुहरुको प्रस्ताव ओलीले नमानेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो “पुर्व एमाले व्युँतनुको अर्थ के हो भने ? पूर्व एमालेमा केपी ओली पनि आउनुपर्यो । हामी पनि त्यही ठाउँमा पुग्न पर्यो । केपी ओलीमा जाने होइन । यो कुरा प्रष्ट हुनुपर्यो । पुर्व एमाले व्युँतनु भनेको पुरानो संगठन फेरि व्युँताउने हो । आज पार्टी भित्र विवाद भईरहेको कुरा त्यही छ । पुर्व एमाले व्युँतिईसकेपछि कहिले कहाँ कुन मितिमा सुरु हुन्छ ? आज पार्टीमा सबैभन्दा विवादको विषय त्यही छ । केपी ओली त्यो कुरा मान्न तयार हुनुहुन्न । ”

मुलुकभर पार्टीका सबै संगठनको राष्ट्रिय भेला गरिने भन्दै उहाँले किसान संघ, उत्पिडीत समुदाय लगायतको राष्ट्रियभेला गरि पुर्नजीवन र पुर्नताजगी दिने बताउनुभयो । उहाँले लोकतन्त्रको पक्ष र प्रतिगमनकारी विरुद्धको आन्दोलनमा आफूहरु एकताबद्ध भएर अघि बढ्ने बताउनुभयो । पार्टीको सुदृढीकरण र विस्तारका लागि धेरै भन्दा धेरै युवालाई संगठनमा आवद्ध गर्न पनि उहाँले कार्यकर्तालाई निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो “हामी सानो चित्तका छैनौ । मन सानो छैन । चित्त सानो छैन । सबैलाई समावेश गर्ने गरि हामी जानेछौ । त्यसैले धेरै भन्दा धेरै युवालाई संगठनमा आवद्ध गर्नुहोस् ।”पार्टीको अवस्था देखेर झोक््रयाएर नबस्न उहाँले युवाहरुलाई निर्देशन दिनुभयो । उहाँले नयाँ उत्साह र जोशका बैचारिक अभियानमा पार्टी लागेको भन्दै यो अभियानले कम्युनिष्ट विरोधीलाई परास्त गर्ने दाबी गर्नुभयो ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button