जातीय भेदभाव उन्मूलन दिवसमा मुख्यमन्त्री गुरुङद्वारा शुभकामना व्यक्त

पोखरा न्यूज । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ५६औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन दिवस (२१ मार्च) को अवसरमा सम्पूर्ण नेपालीहरुमा शुभकामना सन्देश व्यक्त गर्नुभएको छ ।

शुुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीविहिनी तथा दाजुभाइहरुमा सु–स्वास्थ्य, सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्नुभएको हो ।

सन् १९६० मार्च २१ का दिन दक्षिण अफ्रिकाको सार्पभिल्लेमा रंगभेद विरुद्ध प्रदर्शनमा उत्रिएका विद्यार्थीमाथि भएको प्रहरी दमनका विरुद्धमा विश्वभर आवाज उठेपछि संयुक्त राष्ट्रसंघले सन् १९६५ मा सबै प्रकारका जातीय भेदभाव उन्मूलन महासन्धि पारित गर्दै सन् १९६६ मार्च २१ लाई अन्तर्राष्टिय जातिभेद तथा रंगभेद उन्मूलन दिवसका रुपमा घोषणा गरेको थियो । त्यसपश्चात नेपालमा विशेष गरी उत्पीडित दलित जाति/समुदायको तर्फबाट आर्थिक, सामाजिक, राजनीतिक तथा सांस्कृतिक अधिकारका लागि आवाज बुलन्द गर्दै यस दिनलाई अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसका रुपमा मनाउने गरेको पाइन्छ, मुख्यमन्त्री गुरुङले सन्देशमा भन्नुभएको छ ।

वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेद र सबै प्रकारका जातीय छुवाछूत अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने हाम्रो संवैधानिक संकल्प हो । यस संकल्पलाई व्यवहारमा उतार्न सक्दा मात्रै सामाजिक न्यायसहितको समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा हुनेछ, उहाँले भन्नुभयो ।

नेपाली समाजमा विद्यमान सबै खालका विभेद र उत्पीडनको अन्त्य गर्दै समानतामूलक समाज स्थापनाको दिशामा अघि बढ्न यस दिनले हामी सबैलाई थप प्रेरणा प्रदान गर्ने विश्वाससमेत लिएको छु ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button