पाँचौँ पोखरा स्पोर्टस अवार्डको तयारी तीव्र

पोखरा न्यूज  । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा वैशाख २० गते पोखरामा हुने पाँचौँ पोखरा स्पोर्टस अवार्डको तयारी तीव्र पारिएको छ ।कोरोनाका कारण गत वर्ष स्थगित अवार्ड कार्यक्रमलाई यस वर्ष २०७६ र ०७७ दुवैलाई जोडेर एकै पटक गर्न लागेको मञ्चले जनाएको छ ।

यस वर्ष  दुवै वर्षलाई आधार मानेर खेलाडीको प्रतिभा प्रदर्शनका आधारमा विभिन्न ८ विधामा अवार्ड प्रदान गरिने मञ्चका अध्यक्ष एकराज गिरीले जानकारी दिनुभयो । मञ्चले खेलकुद क्षेत्रमा लाग्ने खेलाडीहरूलाई प्रोत्साहन गर्न मञ्चले अवार्ड कार्यक्रम आयोजना गर्दै आएको अध्यक्ष गिरीले बताउनुभयो । उहाँले भन्नुभयो ‘यो कार्यक्रम गण्डकी प्रदेशले गौरव गर्न लायक हो, विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा यस वर्ष हुने कार्यक्रमलाई सफल बनाउन सबैको साथ र सहयोगको अपेक्षा गरेका छौ ।’

कार्यक्रममा लाइफ टाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेल संघ र वर्ष उत्कृष्ट पत्रकारिता अवार्ड प्रदान गरिनेछ। अवार्डलाई विभिन्न व्यवसायीक र व्यक्तिहरूले आर्थिक सहयोग गरेका छन् । पोखराको लेकसाइडमा सञ्चालित माई होटलले नवप्रतिभा खेलाडी पुरस्कार प्रायोजन गरेको छ ।

त्यस्तै अवार्डका लागि राष्ट्रिय खेलकुद परिषद् र पोखरा महानगरपालिकाले पोखरा स्पोर्टस अवार्डका लागि आफ्नो वार्षिक बजेट पुस्तिकामै ३/३ लाख रुपैयाँ विनियोजन गरेका छन् । अवार्डका लागि गण्डकी प्रदेश सरकारले सहयोगका लागि आश्वासन दिएको तर रकम एकिन नभएको समेत मञ्चले जनाएको छ । प्रदेश सरकारले विगतमा राम्रै सहयोग गरेका कारण अहिले पनि अपेक्षा अनुसार नै बजेट उपलब्ध गराउने विश्वास मञ्चले लिएको अध्यक्ष गिरीको भनाई छ ।

अवार्डका लागि विदेश तथा स्वदेशबाट सहयोग आउने क्रम जारी रहेको मञ्चका कोषाध्यक्ष शशि पौडेलले जानकारी दिनुभयो । कार्यक्रम सम्पन्न गर्न मञ्च अध्यक्ष गिरीको संयोजकत्वमा १ सय १ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ ।

अवार्डलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न विभिन्न उपसमिति समेत गठन गरेको मञ्चले जनाएको छ । जसअनुसार मञ्चका संस्थापक अध्यक्ष एवं नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीको संयोजकत्वमा सल्लाहकार उपसमिति गठन गरेको छ । सल्लाहकार समितिमा पत्रकार महासंघ गण्डकी प्रदेशका ११ वटै जिल्लाका महासंघ अध्यक्ष, विभिन्न खेल सम्बद्ध सङ्घका अध्यक्ष समेत सदस्य रहनु भएको छ ।

विगतमा जिल्ला स्तरको उक्त अवार्ड चौथो संस्करणदेखि गण्डकी प्रदेशस्तरीय बनाइएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button