गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता शुक्रबारदेखि

पोखरा न्यूज । राष्ट्रका लागि दक्ष खेलाडी उत्पादन गर्ने उद्देश्यसहित तनहुँको शुक्लागण्डकीमा गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुनेभएको छ । ‘स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद’ भन्ने नारासहित शुक्लागण्डकी नगरपालिकाले मेयर कप गण्डकी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता गर्न लागेको हो ।

शुक्लागण्डकी नगरपालिका–८ गाउँफर्कोदय माध्यमिक विद्यालयको खेलमैदानमा चैत १३ गतेदेखि १५ गतेसम्म खेल सञ्चालन हुनेछ । शुक्लागण्डकी नगरपालिकाले आज पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता बारे जानकारी गराएको छ । प्रतियोगिताका संयोजक एवं वडाध्यक्ष दीर्घबहादुर थापाले प्रतियोगितामा सहभागिताका लागि प्रदेशका ८५ वटै पालिकालाई आमन्त्रण गरिएको जानकारी दिनुभयो । प्रतियोगिता सम्पन्न गर्न करिब रु २५ लाख खर्च हुने अनुमान गरिएको छ ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः रु एक लाख ५० हजार, रु एक लाख, रु ५० हजार र रु २५ हजार नगदका साथै शिल्ड र कप प्रदान गरिनेछ । उत्कृष्ट खेलाडीलाई रु दश हजार प्रदान गरिने प्रतियोगितामा उत्कृष्ट स्पाइकर, उत्कष्ट ब्लकर, उत्कृष्ट डिफेन्डरलाई पनि रु पाँच पाँच हजार नगद पुरस्कार प्रदान गरिनेछ । नगरप्रमुख किसान गुरुङले दक्ष र अनुशासित नागरिक उत्पादनका लागि खेलको महत्वपूर्ण भूमिका रहने बताउँदै स्थानीय तहमा निर्वाचित भएको लामो समयपछि पहिलो पटक पालिकास्तरीय भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिनुभयो । “खेलकूदले मानिसलाई स्वस्थ र अनुशासित बन्न त सहयोग पुग्छ नै साथै देशका लागि पनि दक्ष जनशक्ति उत्पादन गर्न मद्दत मिल्छ,” उहाँले भन्नुभयो ।
उपप्रमुख सविता रसाइलीले युवाशक्तिलाई विकृति र विसङ्गतिबाट मुक्त गराउन खेलको भूमिका रहने बताउनुभयो । नगरपालिकाको आयोजनामा केही समय अगाडी मात्रै राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता समेत सम्पन्न भइसकेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button