कृषिगण्डकीसमाचारस्याङ्जा

तरकारीले धानेको नमूना गाउँ ‘पित्लेक’

पोखरा न्यूज । खेतबारी बाँझै राखेर बजार झर्ने पद्धतिको विकास भइरहेका बेला यहाँका स्थानीयवासी व्यावसायिक तरकारी खेतीमार्फत गाउँलाई नै नमूना बनाएका छन् । गाउँघरमा वृद्धवृद्धा मात्रै हुने अथवा गाउँघर छोडेर रोजगारी, व्यवसाय तथा अध्ययनका लागि बजार केन्द्रित हुने पद्धतिलाई अन्त्य गर्दै गाउँमै मौसमी तथा बेमौसमी तरकारी खेतीमार्फत मनग्य आम्दानी गर्न सफल भएका हुन् ।

तत्कालीन जिल्ला कृषि विकास कार्यालय स्याङ्जाका वरिष्ठ कृषि विकास अधिकृत वीरेन्द्र हमालको प्रेरणास्वरुप २७ वर्षअघि २०५० सालमा स्थानीयवासी यज्ञप्रसाद लामिछानेको करेसाबारीबाट शुरु भएको तरकारी खेतीले अहिले गाउँलाई नै तरकारीको नमूना गाउँका रुपमा परिचित बनाएको हो ।

स्याङ्जाको वालिङ नगरपालिका–५ पित्लेकमा रहेको जनकल्याण कृषि सहकारी संस्था स्थापना गरी यहाँका १४२ घरधुरीमध्ये ७२ घरधुरीले पूर्णरुपमा व्यावसायिक तरकारीखेती उत्पादनमा लागेका संस्थाका प्रबन्धक हुमनाथ लामिछानेले बताउनुभयो । यस गाउँका स्थानीयवासीको मुख्य आम्दानीको स्रोत नै तरकारीखेती हो । विशेष गरी गोलभेडा, बन्दा, काउली, सिमी, बोडी, अदुवालगायतका तरकारी यहाँका मुख्य उत्पादन हुन् । लामो समयदेखि तरकारी उत्पादनमा लागेका यहाँका स्थानीयवासी अनुभवी र पेशाप्रति निख्खरता देखिन्छ ।

घरमा मात्रै खान पुग्ने गरी निर्वाहमुखी तरकारी खेती गरेका यहाँका ७० वर्षीय जीतबहादुर गुरुङ २०५५ सालबाट व्यावसायिकरुपमा तरकारी खेतीको थालनी गर्नुभयो । चारजनाको परिवार रहेको उहाँको परिवारको मुख्य आम्दानीको स्रोत नै तरकारी खेती हो । “म कुनै विदेशी भूमीमा रोजगारीमा गइन, स्वदेशमै पनि अरु रोजगारीमा लागिन” कृषक गुरुङले भन्नुभयो, “मौसमी तथा बेमौसमी तरकारी खेतीमार्फत नै आम्दानी गर्दै आएका छौँ ।”

गुरुङले १० रोपनी क्षेत्रफलमा गोलभेँडा, बन्दा, काउली तथा मौसमअनुसारका तरकारी खेती गर्दै आउनुभएको छ । “तरकारी उत्पादन गर्न सिक्नु प¥यो बजारको कुनै समस्या छैन, बिक्रेता यहीँ आएर पनि तरकारी लिएर जाने गरेका छन्” कृषक गुरुङले भन्नुभयो, “मौसमी तथा बेमौसमी तरकारी बिक्रीबाट वार्षिक रु पाँच लाखभन्दा बढी आम्दानी हुने गरेको छ ।”

सोही ठाउँका ६३ वर्षीय हुमबहादुर पौडेलले पनि विगत २० वर्षदेखि व्यावसायिकरुपमा तरकारी खेती गर्दै आउनुभएको छ । आफ्नो तीन रोपनी जग्गामा तरकारी तथा १२ रोपनी जग्गा भाडामा लिएर कूल १५ रोपनी क्षेत्रफलमा गोलभेँडा, बन्दा, काउलीलगायतका मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आउनुभएको छ । शुरुमा सामान्य तालीम लिनुभएका पौडेल लामो अनुभवले खारिनुभएको छ । “तरकारी उत्पादन भएर बजार नपाएको भन्ने दुःखेसो आजसम्म छैन”, पौडेलले भन्नुभयो, “उत्पादन भएका तरकारी नजिकैको वालिङ बजार तथा अन्य स्थानीय बजारमा खपत हुने गरेको छ, जाँगर हुनुप¥यो आम्दानीको कुनै समस्या छैन ।”

पानीको अभावका कारण बाह्ैमास तरकारी लगाउन सकिने अवस्था नभएको उहाँको गुनासो छ । यस ठाउँका कृषकका मुख्य समस्याकोरुपमा सिँचाइ गर्ने पानीको अभाव रहेको छ । “अग्लो पहाडमा तरकारी खेती हुने गरेको छ” पौडेलले भन्नुभयो, “यहाँ किसानको मुख्य समस्या भनेकै पानीको हो, लिफ्टिङ गरिएको पानीले मान्छेका लागि खान तथा गाईबस्तुलाई खुवाउनका लागि ठिक्क छ, तरकारीमा सिँचाइ गर्न त निक्कै कठिनाइ छ ।”

यस ठाउँका व्यावसायिक कृषकले पानी अभावका कारण वर्षमा आठ÷नौ महिनामात्रै तरकारी लगाउनुपर्ने बाध्यता रहेको सहकारीका प्रबन्धक लामिछानेले बताउनुभयो । “गाउँभन्दा तलबाट लिफ्टिङ गरिएको पानी पिउन तथा गाईबस्तुका लागि प्रयोग गर्ने गरिएको छ” उहाँले भन्नुभयो, “यहाँ सिँचाइका लागि आकाशको पानी सङ्कलन गर्नुपर्ने बाध्यता छ, यसले गर्दा सिँचाइका लागि पर्याप्त पानी पुगेको छैन, पानीको व्यवस्थापन गर्न सकेको खण्डमा यहाँ बाह्ैमहिना तरकारी उत्पादन गर्न सकिन्छ ।”

सहकारीमा आवद्ध १४२ घरमध्ये ७२ घर परिवारले न्यूनतम वार्षिक एकसय क्वीन्टलभन्दा बढी तरकारी उत्पादन गरी बिक्रीवितरण गर्ने गरेका छन् । अहिले वालिङ नगरपालिकाको पहलमा पक्की सडक निर्माण गरिएसँगै तरकारीको ढुवानीमा सहज भएको छ भने बिना विद्युतीय ग्राभिटी रोपवेले पनि ढुवानीमा सहजता भएको सहकारीका प्रबन्धक लामिछानेले बताउनुभयो ।

यस गाउँबाट सहकारीमार्फत वार्षिक ७० मेट्रिक टनभन्दा बढी मौसमी तथा बेमौसमी तरकारी वालिङ, गल्याङ, स्याङ्जासँगै पोखरा तथा बुटबलमा खपत हुने गरेको प्रबन्धक लामिछानेको भनाइ थियो । यस गाउँमा २०७६ सालबाट गण्डकी प्रदेश सरकारले मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ घोषणा गरी तरकारी उत्पादनका क्षेत्रमा काम गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button