लमजुङमा अधिकांश सिसिटिभी बिग्रिए, अपराध नियन्त्रणमा समस्या

पोखरा न्यूज।  लमजुङका सार्वजनिक क्षेत्रमा जडान गरिएका अधिकांश सिसिटिभी क्यामरा बिग्रिएका छन् ।

सरकारी निकायको आवश्यक समन्वय र चासो नहुँदा सिसिटिभी मर्मत हुन नसकेका हुन् । त्यसले गर्दा आपराधिक घटना भइहाले पनि अपराधीलाई चाँडो पक्राउ गर्न र जनतालाई शान्तिसुरक्षाको अनुभूति दिलाउनमा प्रहरीलाई समस्या हुने गरेको छ । प्रहरीले सिसिटिभीको अभावले काममा कठिनाइ भएको बताउँदै आएको छ ।

जिल्लामा हालसम्म ४४ वटा सिसिटिभी सडकमा जडान भएका छन् । तीमध्ये आठ वटामात्र सञ्चालनमा छन् । त्यही पनि सामान्य खालका मात्र रहेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक तथा सूचना अधिकारी ओमप्रकाश पुनले बताउनुभयो । बेँसीशहर नगरपालिकामा जडान गरिएका ३२ वटा सिसिटिभीमध्ये हाल चार र मध्यनेपाल नगरपालिकामा जडान गरिएका १२ वटा सिसिटिभीमध्ये चार गरी आठ बटा मात्र सञ्चालनमा रहेको र अरु सबै बिग्रिएका छन् । बेँसीशहरमा जडान गरिएका सिसिटिभी गत वर्षको पुससम्म १२ वटा सञ्चालनमा आए पनि सोहीमध्ये पनि बिग्रिएर तीन महिनादेखि चार वटा मात्रै सिसिटिभीले काम गरिरहेको प्रहरी निरीक्षक पुनको भनाइ छ ।

बेँसीशहर बजारका फुलबारी, नारायणस्थान, भीमसेनस्थान, मनाङेचौतारा, शेराबजार, मजुवाखोला, ठाडोलाइन लगायतका स्थानमा सिसिटिभी जडान गरिएको छ । तर बिग्रए पश्चात् लामो समयसम्म पनि मर्मत नभएकाले अधिकांश सिसिटिभीले काम नगरेको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक पुनले भन्नुभयो, “हामीलाई अपराध नियन्त्रण तथा विभिन्न घटना सहज रुपमा पत्ता लगाउनलाई सिसिटिभीले मद्दत गर्ने गर्दछ, तर यहाँ जडान गरिएका अधिकांश सिसिटिभी नै बिग्रिएको समस्या भइरहेको छ ।”

उहाँले सिसिटिभी जडान भएका क्षेत्रमा विभिन्न पसलमा मोबाइल चोरी गरेका तीन÷चार जना र विभिन्न घटना घटाउँदै गएका केही व्यक्तिलाई समातेका थियौँ भन्दै सिसिटिभी बिग्रिँदा प्रहरीलाई पनि अपराध नियन्त्रणमा कठिनाइ भइरहेको बताउनुभयो । प्रहरी निरीक्षक पुनले भन्नुभयो, “विषेशगरी पसल चोरी, विभिन्न दुर्घटनादेखि रातिको समयमा आएका सवारी साधन, रातिको समयमा हिँडेका व्यक्तिले गरेका सबै क्रियाकलाप प्रहरी कार्यालयमा रहेको सिसिटिभीको कन्ट्रोल कक्षबाटै देख्न सकिन्थ्यो, सिसिटिभी बिग्रिएकाले प्रहरी नै विभिन्न स्थानमा खटिनु परिरहेको छ ।”

उहाँका अनुसार सिसिटिभीको अभाव हुँदा शान्तिसुरक्षा कायम गर्न, अपराध अनुसन्धान गर्न जटिल हुने गरेको छ । यस्तै, ट्राफिक व्यवस्थापन तथा दुर्घटना हुँदाको अवस्था बुझ्न पनि ट्राफिक प्रहरीलाई अप्ठ्यारो भएको छ । विभिन्न अनुसन्धान गर्नका लागि कुनै पसलले वा अफिसले राखेका सिसिटिभीमा गएर प्रहरीले हेर्नुपर्ने अवस्था रहेको उहाँको भनाइ छ । रु २० लाख बराबरको २४ वटा सिसिटिभी विसं २०७४ जेठ १८ गते जडान गरिएको थियो । बेँसीशहर नगरपालकाभित्रका सिसिटिभीको मर्मतसम्भारको जिम्मा दुई वर्षदेखि नगरपालिकाले लिँदै आएको छ । तर समयमै मर्मतसम्भार हुन नसक्दा अधिकांश क्यामराले काम गरेका छैनन् । बेँसीशहर नगरपालिकाका कार्यक्रम अधिकृत मेघेन्द्र पोख्रेलका अनुसार केही समयअघि बसेको कार्यपालिका बैठकले मर्मतसम्भारका लागि रु साढे चार लाख बजेट छुट्याएको हुँदा चाँडै मर्मतको काम शुरु हुने बताउनुभयो ।

 

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button