विश्व रंगमञ्च दिवसको अवसरमा पोखरामा ५ नाटक मञ्चन गरिने

विद्यालयमा नाटकको भएकंर सम्भावना देखियोः निर्णायक संयोजक घिमिरे

पोखरा न्यूज सम्वाददाता । विश्व रंगमञ्च दिवसको अवसरमा पोखरामा चैत्र १४ गते शनिबार ५ वटा नाटक मञ्चन गरिने भएको छ । पोखरा थिएटरले आयोजना गरेको गण्डकी प्रदेश स्तरीय विद्यालय नाटक महोत्सवमा उत्कृष्ट पुरस्कृत भएका ती नाटक पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन गर्न लागिएको हो ।

यसरी मञ्चन गरिने नाटकमा ‘न्यायको खोजी’, ‘लगानी’ ‘अभाव’ ‘कोरोनाको शैक्षिक प्रभाव’ र ‘म पछाडिको मेरो सत्य’ रहेका छन् । मञ्चन कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको महोत्सव निर्देशक परिवर्तनले पोखरा न्यूजलाई जानकारी दिनुभयो ।

प्रदेश स्तरीय विद्यालय नाटक महोत्सवका लागि गण्डकी प्रदेशका कास्की, गोरखा, तनहुँ, स्याङजा, बागलुङ, पर्वत, नवलपुर, म्याग्दि, तनहुँ, लमजुङ गरी १० जिल्लाका कुल ४० नाटक सहभागी भएका थिए । मनाङ जिल्लाबाट भने महोत्सवका लागि सहभागिता भएन । महोत्सव गण्डकी प्रदेश सरकारसँगको सहकार्यमा आयोजना गरिएको हो ।

उत्कृष्ट नाटक छनोट गर्न वरिष्ठ कलाकार प्रकाश घिमिरेको संयोजकत्वमा तीन सदस्यीय समिति बनाइएको थियो । जसको सदस्यमा कलाकार माओत्स गुरुङ र प्रमिला तुलाचन रहनुभएको थियो । निणार्यक संयोजक घिमिरेले विद्यार्थीले तयार पारेका सबै नाटक उतिकै आर्कषक रहेपनि तोकिएको मापदण्ड अनुसार प्रथम, द्धितीय, तृतीय, सान्त्वना छनोट गरिएको पोखरा न्यूजलाई बताउनुभयो ।

‘हामीले पहिलो चरणमा ४० नाटकलाई अवलोकन गरेका थियौ । ४० नाटकमध्येबाट दोस्रो चरणमा उत्कृष्ट १५ नाटकलाई छनोट गरेर तीनै १५ नाटक मध्येबाट प्रथम, द्धितीय, तृतीय, सान्त्वना स्थानमा आउन सफल नाटक छनोट गरिएको हो’ घिमिरेले भन्नुभयो । महोत्सवमा सहभागी भएका नाटकहरु हेर्दा विद्यालयमा नाटकको भएकंर सम्भावना आफूहरुको देखेको उहाँले बताउनुभयो ।

घिमिरे भन्नुहुन्छ–‘विद्यालयमा नाटकको भएकंर सम्भावना छ, भिडियो खिचेर हामीलाई पठाउनुपर्ने भएकोले अधिकांश नाटक फिल्मी शैलीका बनेछन्, सबैले विद्यार्थी लेभलबाट सोच्ने खालका विषयवस्तु बनाएर पठाएका थिए, सबै राम्रा थिए, तर हामीले रंगमञ्चीय हिसाबले हेर्‍र्याै । हामीले छनोट गरेभन्दा राम्रा नाटक बन्ने सम्भावना भएका भिडियो समेत थिए । वास्तविक ठाउँका दृश्यलाई समावेश गर्दै क्यामरा मुभ भएर खिचेको कारण ती छनोट भएनन् । किनकि ती नाटक जस्तो बनेनन् । तर केही सुधार गर्ने हो भने उत्कृष्ट बन्ने विषयवस्तु तीनमा समेत थिए । समग्रमा हेर्दा स्कूलका बच्चाहरुको प्रतिभा लोभलाग्दो छ ।’

महोत्सवमा ‘न्यायको खोजी’ प्रथम बन्न सफल भयो । यो भानुभक्त आवसीय माध्यामिक विद्यालय, कास्कीले तयार पारेको नाटक हो । अनुषा परियारको लेखन र आश्मा भुजेलको निर्देशनमा यो नाटक तयार भएको नाटक हो । नाटकमा लेखक अनिषा, निर्देशक आश्मा सहित ममता त्रिपाठी, मोनिका त्रिपाठी र विनिता दाहालले अभिनय रहेको छ । सबै जना कक्षा ९ मा अध्ययनरत हुनुहुन्छ । यो नाटक शनिबार दिउँसो ३ बजे मञ्चन हुनेछ । महोत्सवमा पोखराको जनप्रिय माध्यमिक विद्यालयले तयार पारेको नाटक ‘लगानी’ द्धितीय हुन सफल बनेको छ । संगम लामिछानेको लेखन, निर्देशन र अभिनय रहेको यो नाटक दिउँसो २ बजे मञ्चन हुनेछ । संगम कक्षा ९ मा अध्ययनरत हुनुहुन्छ ।

पर्वत जिल्लाको जलजला गाउँपालिका वडा नम्बर ३ बेनीमा रहेको न्यु होराइजन माध्यमिक विद्यालयले तयार पारेको नाटक ‘अभाव’ शनिबार दिउँसो १ बजे मञ्चन गरिनेछ । नाटकलाई विद्यालयका नेपाली शिक्षक मनोहर पौडेलले लेख्नुभएको हो । नाटकलाई शिक्षक मीना रेग्मीले निर्देशन गर्नुभएको छ । नाटकमा अभिनय गर्नेमा कक्षा १० का विद्यार्थी शुष्मा आचार्य, कक्षा ९ मा अध्ययनरत सञ्जीवनी शाही र दिपेश रोका, कक्षा ७ मा अध्ययनरत श्रद्धा रेग्मी, कक्षा ५ मा अध्ययनरत सोफिया गर्वुजा र रुपेश अधिकारी, कक्षा ४ मा अध्ययनरत आरोशि मल्ल तथा केजीमा अध्ययनरत विवेचना गुरुङ हुनुहुन्छ ।

सत्यवती माध्यमिक विद्यालय तनहुँले तयार पारेको नाटक ‘कोरोनाको शैक्षिक प्रभाव’ नाटक मध्यान्न १२ बजे मञ्चन हुने भएको छ । नाटक महोत्सवमा सान्त्वना हुन सफल भएको यो नाटकमा मौसम गुरुङ, सुकीया थापा, रविन ओझा, स्वेता धौलाकोटी, विपना रानामगर, उत्सव वाग्ले, प्रियाङ्का तिवारी, प्रकृति भण्डारी, रोजिना तिमल्सेना, सफल अधिकारीको अभिनय हेर्न पाइनेछ । नाटकको लेखन तथा निर्देशन गौरभ सापकोटाले गर्नु भएको हो । सापकोटाले कथा वाचकको भुमिका समेत निभाउनुभएको छ । नाटकमा आवद्ध रोजिना बाहेक सबै कलाकार कक्षा ९ मा अध्ययनरत विद्यार्थी हुनुहुन्छ । रोजिना भने कक्षा ८ मा अध्ययनरत रहनुभएको छ । नाटकमा संगीत संयोजन सत्यवती माध्यमिक विद्यालयका सांस्कृतिक संयोजक रहनुभएका शिक्षक नारायण तिमल्सेनाले गर्नुभएको छ ।

पोखराको बाराही माध्यमिक विद्यालयको प्रतिनिधित्व गर्दै महोत्सवमा सहभागी बनेको नाटक ‘म पछाडिको मेरो सत्य’ नाटक शनिबार विहान ११ बजे पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन हुनेछ । यो एकल नाटक हो । रन्जु दाहालको लेखन, निर्देशन तथा अभिनयमा यो नाटक तयार भएको हो । नाटक पोखरा थिएटरले आयोजना गरेको गण्डकी प्रदेश स्तरीय विद्यालय नाटक महोत्सवमा सान्त्वना हुन सफल भएको थियो । रन्जु कक्षा ९ मा अध्ययरत विद्यार्थी हुनुहुन्छ ।

दोसो चरणमा छनोट भएका नाटकहरुबाट अभिनय,निर्देशन, मञ्चीय प्रस्तुति, कथावस्तु, कथ्य शैली आदिलाई आधार मानेर प्रथम, द्धितीय, तृतीय र सान्तवना स्थानका आधारमा ५ नाटकलाई महोत्सवमा छनोट गरिएको हो । प्रथम पुरस्कार पचास हजार रुपैयाँ, द्वितिय पुरस्कार नगद पच्चिस हजार रुपैयाँ, तृतीय पुरस्कार १२ हजार ५ सय रुपैयाँ र सान्त्वना पुरस्कार पाँच हजार रुपैयाँ समेत रहेको छ ।

विश्व रंगमञ्च दिवसको अवसरमा नाटक मञ्चन तथा पुरस्कार वितरण कार्यक्रम हेर्न चाहने नाटक पारखीको लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजक पोखरा थिएटरले जनाएको छ । गत वर्षदेखि पोखरा थिएटरले विद्यालय स्तरीय नाटक महोत्सवको आयोजन गर्न थालेको हो । पहिलो संस्करणको महोत्सव पोखरा महानगरपालिका स्तरीय थियो । गण्डकी प्रदेश सरकारको सहयोगले यसपाली प्रदेश स्तरीय महोत्सव आयोजना गर्न सम्भव भएको महोत्सव संयोजक परिवर्तनले बताउनुभयो । महोत्सवको नारा ‘विद्यालयमा रंगमञ्च,अर्थपूर्ण बाल सहभागिताको आधार’ रहेको छ । विद्यालय स्तरीय नाटक महोत्सवलाई निरन्तर सञ्चालन गर्ने पोखरा थिएटरले योजना बनाएको छ ।

शनिबार हुने नाटक महोत्सवको शुभारम्भ कार्यक्रम नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले गर्नुहुनेछ । यसैगरी नाटक महोत्सवको समापन कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ सहभागी बन्ने तय भएको आयोजक पोखरा थिएटरले जनाएको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button