अर्थ व्यापारगण्डकीपर्यटनमनोरन्जनम्याग्दीशिक्षा/स्वास्थ्यसमाचारसमाज

कोरोना भाइरसको जोखिम बढेकाले महोत्सव स्थगित

पोखरा न्यूज । कोरोना भाइरसको दोस्रो लहरको जोखिम बढेकाले नयाँ वर्षको अवसरमा आयोजना गरिएको महोत्सव स्थगन गरिएको मूल आयोजक म्याग्दी उद्योग वाणिज्य सङ्घको मालिका बजार एकाइ समितिले जनाएको छ । म्याग्दीकाे मालिका गाउँपालिकाको केन्द्र दरबाङमा चैत २७ गतेदेखि आयोजना गरिएको प्रथम मालिका महोत्सव स्थगन भएको हाे ।

एकाइ अध्यक्ष लेकबहादुर पुनले आयोजक समिति र सरोकारवालाको शनिबार दरवाङमा बसेको बैठकले अर्को निर्णय नहुँदासम्मका लागि महोत्सव स्थगन गरिएको जानकारी दिनुभयो । चैत २७ देखि वैशाख ३ गतेसम्म महोत्सवको आयोजना गरिएको थियो । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन नीलगिरिखोला जलविद्युत् आयोजनामा भारतबाट काम गर्न आएका चार मजदुर र जिल्ला कारागारका एक कैदीलाई गत मङ्गलबार कोरोना सङ्क्रमण पुष्टि भएको थियो । पछिल्लोपटक मालिका गाउँपालिकाकै एक शिक्षकलाई कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

कोरोना जोखिम कम भएपछि महोत्सव गर्न नयाँ कार्यतालिकाको अर्को मिति तय गरिने अध्यक्ष पुनले बताउनुभयो । पर्यटन प्रर्वद्धन, कला र संस्कृतिको संरक्षण, ओझेलमा परेका पर्यटकीयस्थलको प्रचारप्रसार र खेल प्रतिभाको प्रोत्साहनका लागि महोत्सव आयोजना गर्ने तय भएको थियो । महोत्सवमा पुरुष महिला भलिबल, लोकदोहोरी, विद्यालयस्तरीय नृत्य प्रतियोगिता, घरेलु उत्पादन, कृषि उपजको प्रदर्शनी, पञ्चेबाजा, ख्याली, सोरठी नृत्य र कलाकारको गायन प्रस्तुति तय भएको थियो ।

दोस्रो लहरको कोरोनाको जोखिम बढेपछि गत बुधबार जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाको बैठकले भीडभाडमा कडाइ गर्दै भारतबाट आउनेलाई १० दिन अनिवार्य एकान्तबास बस्नुपर्नेलगायतका निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button