‘तोरन ल्ह’ मनाउँदै थकाली समुदाय

पोखरा न्यूज । म्याग्दी र मुस्ताङमा बसोबास गर्ने अल्पसङ्ख्यक जनजाति थकाली समुदायमा ‘तोरन ल्ह’ (फागु पूर्णिमा) पर्वको रौनक छाएको छ । नेपालका विभिन्न क्षेत्रमा करिब १० हजार जनाको सङ्ख्यामा बसोबास गर्ने थकाली समुदायले फागु पूर्णिमाको अवसरमा हरेक वर्ष तीन दिनसम्म परम्परागत तोरन ल्ह पर्व मनाउने गर्दछन् ।

तोरन ल्ह मनाउन घर बाहिर र विदेशमा रहेका थकालीहरु आफ्नो जन्मथलो फर्किएका छन् । तोरन ल्हमा थकाली समुदायले घर सिँगारपटार गरेका छन् । फागु पूर्णिमाको अघिल्लो दिन शुरु हुने तोरन ल्ह तीन दिनसम्म मनाउने चलन रहेको थकाली सेवा समिति बेनी क्षेत्रका उपाध्यक्ष कृष्णकुमार शेरचनले बताउनुभयो ।

“तीन दिन सबैरे उठेर चोखो निष्ठ भएर पितृलाई सम्झिएर पूजाआजा गर्ने र फूलप्रसाद चढाउनुपर्छ”, शेरचनले भन्नुभयो, “आफन्तलाई बोलाएर मिठामिठा परिकार खुवाउने र आर्चरी (तारो हान्ने) खेल्ने चलन छ ।” मुस्ताङको थासाङ गाउँपालिकाको कोवाङ थकाली समुदायको उद्गमस्थल मानिन्छ । घरपझोङ र थासाङ गाउँपालिकामा थकाली समुदायको बाहुल्य छ । म्याग्दीको दाना, भुरुङ तातोपानी, बेनी, दरवाङलगायत बजार क्षेत्रमा थकाली समुदायको बसोबास छ । परम्परागत तारो हान्ने खेलको संरक्षणका लागि थकाली सेवा समिति दरवाङ क्षेत्रले रातोढुङ्गा र दाना क्षेत्रको आयोजनामा तिप्ल्याङ तारो खेल (आर्चरी) शुरु गरेको छ ।

तारो खेल (धनुषवाण)लाई थकाली समुदायले आफ्नो जातीय पहिचानसँग जोडेका छन् । धार्मिकग्रन्थहरूमा विभिन्न युद्धमा धनुषवाणको प्रयोग भएको भेटिएकाले यसको विकास मानव समाजको उत्पत्तिकालदेखि नै भएको अनुमान गरिन्छ । कुनै समय युद्धको महत्वपूर्ण हतियार, जङ्गली जनावरको शिकार गर्ने माध्यम धनुषवाणले अहिले खेलकूदको एउटा विधाका रूपमा मान्यता पाएको छ ।

आर्चरी खेलमा प्रयोग हुने नियम र त्यसका शब्दहरु अल्पसङ्ख्यक थकाली समुदायको भाषासँग मिल्ने हुनाले यसलाई थकाली समुदायले आफ्नो जातीय पहिचान मानेको थकाली सेवा समिति दरवाङ क्षेत्रका अध्यक्ष विनोद भट्टचनले बताउनुभयो । एउटा समूहमा छ जनासम्म खेलाडी सहभागी भएर खेल्ने आर्चरीमा तिखो वाण र विशेष गरेर बाँसको धनुष प्रयोग हुन्छ । पछिल्लो समय अन्य धातुका समेत धनुष बनाउने गरिएको छ ।

एक सयदेखि डेढ सय मिटरको दूरीमा दुईतर्फ काठका फल्याक राखेर एकबाट अर्को ठाउँतर्फ वाण प्रहार गर्ने र वाण फल्याकभित्र कोपिएको आधारमा खेलको मूल्याङकन हुन्छ । फल्याकभित्र सानो गोलो आकारको घेराभित्र वाण कोपिएमा खोल पसेको भनिन्छ । खोल आर्चरी खेलमा महत्वपूर्ण उपलब्धि हो ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button