कास्कीगण्डकीमनोरन्जनसमाचारसमाज

होलीको मज्जा लिनेहरु लेकसाइडको फुट ट्रयाकमा (फोटो फिचर)

पोखरा न्यूज सम्वाददाता । होलीको मज्जा लिनेहरुको भिड आइतबार पोखरा लेकसाइडको फुट ट्रयाकमा देखियो । कोहि डिजेको तालमा नाच्दै थिए, कोहि रङ छ्याप्नमा व्यस्त, फेसबुकमा होली खेलेको लाइभ गर्न मात्र नभएर टिकटक बनाउनेहरुको संख्या समेत उस्तै थियो ।

यसरी रमाइरहेका अधिकांश पोखराका स्थानीय तथा आन्तरिक पर्यटक नै थिए । फाट्टफुट्ट रुपमा विदेशी पर्यटक समेत अनुहारमा रङ लगाएर रमाइरहेका भेटिए । बाराही चोकदेखि क्याम्पिनचोकसम्मका फुट ट्रयाकमा आ–आफ्नो तरिकाले रमाउदै होली मनाइरहेकाहरु देख्दा कोरोनाको त्रास हराइसकेको अनुभूति हुन्थ्यो ।

पोखरा घुम्न आएका केहि पर्यटक होली खेल्दै फेवातालमा डुङ्गा सयर समेत गर्दै थिए । कोहि तालको किनारामा समहुमा होली खेल्न व्यस्त थिए । रंग नदल्नेहरु समेत होली खेली रमाइरहेकाहरुको जमात हेर्नमा केन्द्रित बनेका दृश्य तहाँ देखिए । हुनपनि रंगहरुको पर्व होली भव्य रुपमा मनाइने ठाउँ हो पोखराको लेकसाइड । गएको वर्ष कोरोनाका कारण होली पर्वमा विशेष कार्यक्रमको आयोजना गरिएन । यसपाली समेत कोरोनाको त्रास बाँकी नै रहेकोले होलीको अवसरमा ठूलो भिड हुने कार्यक्रम आयोजना भएन । तर होलीलाई लक्षित गरेर डिजे सेसनमा झुम्ने अवसर पोखरा लेकसाइडका विभिन्न ठाउँमा थियो । होलीमा रङ नलगाएपनि घुम्नकालागि नै लेकसाइड पुग्नेहरु समेत उतिकै थिए । लेकसाइडको मुख्य सडकमा भने होलीको रौनकता खासै देखिएन । आन्तरिक पर्यटक घुमघाममा निस्किएको कारण पोखराका होटलको अकुपेन्सी यतिबेला बढ्न थालेको छ ।

होली खेल्नेमा बालबालिकाको संख्या बढी

यता पोखराका मुख्य बजार क्षेत्र तथा भित्री गल्लीहरुमा भने होली खेल्नेमा बालबालिकाको संख्या बढी देखियो । बालबालिकाले कसानो–सानो समूह बनाएर होलीको मज्जा लिए । अनुहार भरी रंग पोतीएका बालबालिका, कोहिको हातमा रंग । कसैसँग पिचकरी । केहिको हातमा सफापानी भरिएका बेलुन । यसरी एक आपसमा रंग पानी र पिचकरी छ्याप्दै रंगहरुको पर्व होलीमा बालबालिका रमे ।

हुनपनि होली खेल्ने तौड तरिकामा पछिल्लो समयमा परिवर्तन भएको छ । व्यवस्थित तरिकाले होली पर्व मनाउन थालिएकोले समेत पछिल्लो समयमा होली प्रतिको आर्कषण बालबालिकामा बढ्दै गएको छ ।

उनीहरुका होली खेल्ने आफ्नै नियम थिए । अनि होली खेल्न निर्धारित साथी । उनीहरु सबैसँगै बसेर रंग, पानीको लोला, पिच्कारी तयार गरे । अनि आफ्नै साथीहरुलाईनै लगाइदिए । केहि समय होली खेलीसकेपछि सबै आ–आफ्नो गन्तव्यतिर लागे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button