आमाको पैसा चोरी–चोरी फिल्म हेरेँः पार्वती जिसी

हलमा भन्दा घरमा नै धेरै फिल्म हेर्छु

पोखरा न्यूज सम्वाददाता । लोक दोहोरी गायिका पार्वती जिसीको जन्म कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका लाहाचोकमा भएको हो । बुबा चन्द्रबहादुर र आमा जमुना जिसीको साहिँलो सन्तान उहाँ बाल्यकालमा चञ्चले स्वभावकी हुनुहुन्थ्यो ।

कक्षा १ मा पढ्ने क्रमबाट स्कूल तथा गाउँमा आयोजना हुने सांगीतिक कार्यक्रममा उहाँले गीत सुनाउन थाल्नुभयो । यसरी गीत सुनाउदा उहाँलाई सकारात्मक उर्जा थपियो । घर खेतको काम गर्दा समेत गीत गुनगुनाइरहने बानी उहाँमा थियो ।

२०५४ सालमा उहाँको आगमन लाहाचोकबाट पोखरामा भयो । पोखरामा आएपश्चात जिसीको क्रियाशिलता बढ्न थाल्यो । बुबा, दिदी अनि फुपूले समेत गीत गाउने भएकोले अगाडि बढ्न उहाँलाई केही सहज भने भयो ।

२०५४ सालबाटै सोल्टी दोहोरी साँझमा आफ्नो प्रस्तुति उहाँले राख्नुभयो । केहि वर्ष दौतरी दोहोरी साझँमा प्रस्तुति राख्नुभयो । त्यसपछि पोखराको सिर्जनाचोकमा रहेको विसौनी दोहोरी साझँमा उहाँ सञ्चालक समेतको रुपमा आवद्ध हुनुभयो । यसरी उहाँले १८ वर्ष लगातार दोहोरी साँझमा गीत गाएको अनुभव संगाल्नुभएको छ । अब भने व्यवसायिक रुपमा दोहोरी साँझमा गीत नगाउने उहाँको योजना छ । हाल उहाँ पोखरा सभागृहचोकमा मिड टाउन होटल सञ्चालन गरेर व्यवसायको क्षेत्रमा समेत यात्रा अगाडि बढ्नुभएको छ । साथै सामाजिक क्षेत्रमा समेत सक्रिय बन्न उहाँले खोज्नुभएको छ ।

उहाँले २०५५ सालमा रेडियो नेपालमा स्वर परीक्षा उत्रीर्ण गर्नुभएको थियोे । स्वर परीक्षा उत्रीर्ण गर्नुभन्दा पहिलेनै २०५४ सालमा ‘पिपल छाँयाले’ एल्बम उहाँले बजारमा ल्याउनु भएको थियो । उहाँले औपचारिक रुपमा आवाज दिएको पहिलो गीत ‘पिपल छाँयाले’ नै हो ।

उहाँका एल्बममा ‘वालिङ फिरफिरे’, ‘क्याम्पस गेटैमा’, ‘गाजल आँखैमा’, ‘दिदी बहिनी’, ‘ए भेना’, ‘पाइन हाँसन’, ‘जोवन फसायौ’, ‘भाउजूको भाइ राम्रो’, ‘सोचे झै भएत भाग्यमानी हो’, ‘सुन्तलाले छेकिने’, ‘आँखा झिमिझिमि’ ‘मैलेनी कसैलाई मन पराउँछु’ ‘साह्रै दुख्यो मन’ ‘जसले पनि ढाट्ने’, ‘कहाँ बज्यो मुरली तिरिली’ लगायत छन् । आफ्ना र अरुका एल्बममा गरी झण्डै एक सय गीतमा आवाज उहाँले भर्नुभएको छ ।

नेपालभरि आयोजना हुने ठूलादेखि साना कयौ लोकदोहोरी गीत प्रतियोगीतामा भाग लिनुभएकी उहाँले चैते दशै मेला बाग्लुङ्ग, पोखरा उपमहानगरपालीकाले आयोजना गरेको दोहोरीगीत प्रतियोगीता, लायन्स क्लवले चितवनमा आयोजना गरेको दोहोरीगीत प्रतियोगीता, बुटबल उद्योग वाणीज्य संघ लगायत संघसंस्थाले आयोजना गरेका २५ भन्दा बढी दोहोरी गीत प्रतियोगीतामा प्रथम हुन सफल हुनुभयो ।

स्यानमिगल अवार्ड, अन्नपुर्ण म्युजिक अवार्ड समेत उहाँले जित्नुभएको छ । गीत गाउने मात्र नभएर शब्द र लय सिर्जना समेत उहाँले आफै गर्नुहुन्छ । स्वरले साथ दिएसम्म निरन्तर यसै क्षेत्रमा अगाडि बढ्ने उहाँको वाचा छ । उहाँ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालमा आवद्ध हुनुहुन्छ । हामीले यसपाली गायिका जिसीसँग गायन क्षेत्र भन्दा भिन्न फिल्मी क्षेत्रसँग सम्बन्धीत केही प्रश्न सोधेका छौँ ।

तपाई फिल्म कतिको हेर्नुहुन्छ ?
म फिल्म धेरै नै हेर्छु । मलाई फिल्म हेर्न रमाइलो लाग्छ ।

तपाईको फिल्म हेर्ने माध्यम के हो ?
अहिलेको मेरो फिल्म हेर्ने पहिलो माध्यम टिभी हो । प्रायः छोरासँग बसेर हेरिन्छ । दोस्रो माध्यम फिल्म हल हो । समय मिलेको बेलामा हलमा पुगिन्छ ।

हलमा र घरमा फिल्म हेर्दाको अनुभूति कस्तो हुन्छ ?
रमाइलो त हलमा नै हुन्छ । तर म हलमा भन्दा घरमानै धेरै फिल्म हेर्छु । केहि सिनेमा मात्र हलमा हेर्ने गरेकी छु ।

बाल्यकालमा फिल्म हेर्दाको अनभुव ?
फिल्म हेर्न हुरुक्कै हुन्थे । आमाको पैसा चोरी–चोरी फिल्म हेरे । यसरी आमाको पैसा चोरी–चोरी फिल्म हेर्दा बेग्लै मज्जा हुन्थ्यो । अहिले सम्झदा रमाइलै लाग्छ ।

हलमा हेरेको पहिलो फिल्म ?
हलमा हेरेको पहिलो फिल्म ‘सिमाना’ हो । राजेश हमाल, धिरेन शाक्य, मेलिना मानन्धर आदिले अभिनय गरेको फिल्म थियो । मलाई सबैभन्दा धेरै मन पर्ने गीत उकाली ओराली गर्दै भन्नी हो । जुन यही सिमाना फिल्ममा समावेश थियो ।

मनपर्ने फिल्मी कलाकार ?
मलाई प्रायः सबै कलाकार मनपर्छ । तर, विशेष गरेर राजेश हमला र करिष्मा मानन्धर अब्बल लाग्छ ।

नेपाली फिल्मको सकारात्मक पक्ष ?
नेपाली फिल्मको सबैभन्दा राम्रो पक्ष भनेको हाम्रो मौलिकता हो ।

सुधार गर्नुपर्ने पक्ष ?
सुधार गर्नुपर्ने धेरै छ । नेपाली फिल्ममा पश्चिमा संस्कृति धेरै भित्रिन थालेका छन् । यस्ता पक्षहरु बन्द गर्नुपर्छ । आफ्नै नेपालीपन बोक्ने खालका फिल्म निर्माणमा जोड दिनुपर्छ । यस्तो गर्न सके नेपाली फिल्मको महत्व झनै बढ्छ ।

सानोमा फिल्म हेर्दा अभिनय गर्ने रहर कतिको हुन्थ्यो ?
सानैदेखि मेरो गीत गाउनमा नै रुचि थियो । अभिनय गर्न नि मन हुन्थ्यो, नहुने कुरा थिएन । तर सबै कुरा चाहेर मात्र कहाँ हुन्छ र, फिल्म खेल्ने मनको रहर मनमानै सिमित भएपनि गीत संगीतको माध्यमबाट चिनिए । केही गीतको भिडियोमा देखिएर भएपनि अभिनयको केही रहर पूरा गरे ।

तपाई अहिले केमा व्यस्त हुनुहुन्छ, दर्शक स्रोतालाई के भन्नुहुन्छ ?
विशेष गरेर म गायन क्षेत्रमानै व्यस्त छु । यसका अलावा व्यवसायिक क्षेत्रमा पनि अगाडि बढ्न खोजको छु । पोखराको सभागृहचोकमा होटेल मिड टाउन संचालन गरेकी छु । अर्को कुरा म समाज सेवा गर्नको लागि राजनीतिमा समेत अगाडि बढ्न खोजेकी छु ।

अन्त्यमा दर्शक तथा श्रोताहरु जतिले चिन्नु भो चिनाउनु भो नमन प्रकट गर्न चाहन्छु । आगामी दिनमा समेत यसैगरि माया र आशिर्वादको अपेक्षा गर्दछु । धन्यवाद ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button