कास्कीगण्डकीप्रवासमनोरन्जनसमाचार

गहिरो अनुसन्धान गरेर मात्र फिल्म निर्माण गर्नुपर्छ: विश्वास गुरुङ

फिल्ममा पिटेको दृश्य देख्दा साह्रै रोएको थिए

पोखरा न्यूज सम्वाददाता । कलाकार विश्वास गुरुङको जन्म वालिङ नगरपालिका ४, बस्यानी स्याङजामा भएको हो । विगत ४ वर्षदेखि उहाँ हङकङमा बस्दै आउनु भएको छ ।

गुरुङ फिल्म ‘जुनी जुनी’ बाट उहाँको फिल्म क्षेत्रको औपचारिक यात्रा सुरु भएको थियो । हालसम्म आधा दर्जन भन्दा बढी गुरुङ फिल्ममा उहाँले काम गर्नु भएको छ । उहाँले अभिनय गरेका फिल्ममा म्हो, तिमी नभए, कुटुम्बेरी साइनो, खै ओ म्हिथेवा, फिच्यो हुन् ।

उहाँले अभिनय गरेको पछिल्लो फिल्म भने ‘शिरसुवा’ हो । नियमित हलमा लामो समयसम्म प्रदर्शन हुने गुरुङ फिल्म बन्न पुगेको यो फिल्मले गुरुङ समुदायको मात्र नभएर गैर गुरुङहरुको समेत मन जित्न सफल बन्यो ।

उहाँले केही म्युजिक भिडियोमा समेत काम गरिसक्नु भएको छ । गुरुङ फिल्म एसोसियशन हङकङको सचिव, भिरकोट अर्थर तमु समाज हङकङको सह–सचिव सहित विभिन्न तमु संघ संस्थामा आजीवन सदस्य उहाँ हुनुहुन्छ । यसपाली हामीले कलाकार विश्वास गुरुङसँग फिल्मी क्षेत्रसँग सम्बन्धीत केही प्रश्न सोधेका छौँ ।

तपाई फिल्म कत्तिकाे हेर्नुहुन्छ ?
म यही क्षेत्रमा काम गर्ने भएको हुँदा समय मिलेसम्म धेरै फिल्महरु हेर्ने कोशिस गरिरहेको हुन्छु ।

तपाईको फिल्म हेर्ने माध्यम के हो ?
सकभर हलमा नै गएर हेर्दा आत्मसन्तुष्टि मिल्छ । त्यसकारण नेपालमा हुँदा धेरै जसो फिल्महरु हलमा नै गएर हेर्ने बानी थियो । कहिले काहिँ समयले साथ नदिँदा भने युटुबमा हेर्ने गर्थे, अहिले विदेशमा छु त्यसैले प्रायः फिल्महरु युटुब र नेट फ्लिक्समा हेर्दै आइरहेको छु ।

हलमा र घरमा फिल्म हेर्दाको अनुभूति कस्तो हुन्छ ?
हलमा हेर्दा जस्तो फिल्मको मज्जा घरमा हुँदैन । फिल्मका हरेक साना–साना साउण्ड इफेक्टका कामहरु हलको ठुलो पर्दामा फिल गर्दै हेर्न र सुन्न सकिन्छ । यसरी फिल्म हेर्दा मनलाई एक किसिमको आनन्द दिन्छ । त्यसैले हलमा हेर्दाको जस्तो सन्तुष्टि घरमा हेर्दा हुँदैन ।

बाल्यकालदेखि हालसम्म फिल्म हेर्दाका रमाइला अनुभव ?
म ९ वर्षको हुँदा गाउँबाट पोखरा आएको हुँ । गाउँमा बिजुली नआइ सकेको हुँदा फिल्म हेर्दा कस्तो अनुभव हुन्छ कहिले महसुश गर्न पाएको थिएन । ठ्याक्कै समय थाहा भएन तर पोखरा आइसके पछि घरको छेउको एकजना दाइले मलाई साह्रै माया गर्नु हुन्थ्यो । एकदिन मलाई त्यो दाइले उहांको आफ्नो घरमा लैजानु भएको थियो । अनि त्यो समयमा डीभीडी क्यासेट लगाएर घरका अन्य सदस्यहरुले ‘कोइला’ भन्ने हिन्दी फिल्म हेर्दै रहेछन्, म पनि के रहेछ भनेर हेर्न बसिहाले । पछि त्यो फिल्ममा एकले अर्कोलाई पिटेको देख्दा साह्रै रोएको थिए । अनि दाइले के भयो भनि मलाई त्यहाँबाट मेरै घरमा ल्याउनु भयो । अहिले त्यो समयलाई सम्झिद म एक्लै हाँस्ने गर्छु ।

हलमा हेरेको पहिलो फिल्म ?
हलमा हेरको पहिलो फिल्म हिन्दी फिल्म ‘एलओसी कार्गिल’ थियो ।

मनपर्ने फिल्मी कलाकार ?
मलाई मनपर्ने कलाकार दयाहाङ राई र नम्रता श्रेष्ठ हुनुहुन्छ । उहाँहरु दुवै जनाको काम बाट म निकै प्रभावित छु ।

नेपाली फिल्मको सकारात्मक पक्ष ?
पछिल्लो समय प्रबिधिको विकाससंगै धेरै नेपाली फिल्महरुको मेकिङ शैली प्रभावकारी ढंगले गुणस्तरीय बन्दै गइरहेको छ । कथामा आफ्नो मौलिकता खोज्न थलिएको छ । फिल्मी भाषामा भन्नुपर्दा पछिल्लो सुपरहिट फिल्महरु धेरै जसो नेपाली मौलिकता बोकेका फिल्महरु छन् । फिल्म हेर्दा सबै कलाकारहरुको जिवन्त अभिनय देख्न सकिन्छ । यस्तै धेरै सकारात्मक पक्षहरु फिल्ममा पाइन्छ । म गुरुङ फिल्मको कलाकार भएको नाताले अब बन्ने गुरुङ फिल्महरु समेत यसरिनै गुणस्तरिय र आफ्नो मौलिक भाषा, संस्कार र संस्कृति माथी निर्माण होस् भन्ने लाग्छ ।

सुधार गर्नुपर्ने पक्ष ?
सबै फिल्म निर्माताहरुले कुन विषय बस्तुमा आधारित भएर काम गर्न खोजिएको हो सो बिषयलाई गहिरो अनुसन्धान गरेर मात्र फिल्म निर्माण गर्नुपर्छ । यसरी निर्माण गर्ने हो भने पक्कै नेपालमा बन्ने धेरै फिल्मले दर्शकको साथ पाउने थिए । सबै फिल्म सुपरहिट नभएता पनि आफ्नो लगानीसम्म सुरक्षित गर्न सक्थे जस्तो मलाई लाग्छ ।

सानोमा फिल्म हेर्दा अभिनय गर्ने रहर कतिको हुन्थ्यो ?
नेपाली र हिन्दी फिल्म हेर्दा कहिले त्यस्तो अनुभव भएन तर पछि गुरुङ फिल्म हामीले डीभीडीमा घरमा हेर्न पाए पछि बिस्तारै मनमा अभिनयको इच्छा बढ्न थाल्यो । गुरुङ गाउँमा जन्मिएको हुँदा नेपाली भाषा बझे पनि म राम्रो संग नेपाली बोल्न सक्ने थिएन । म गुरुङ भाषा सजिलै बुझ्न र बोल्न सक्ने भएर पनि होला झन् पछि मनमा एउटा अभिनयको भुत भने चढेको थियो ।

तपाईको फिल्म यात्रा शुरु भयो ?
फिल्मी भाषामा भन्नु पर्दा म निर्माताज्युको नजरमा परेको रहेछु । एकदिन लेकसाइडमा रहेको ओजन क्लबमा गुरुङ फिल्म सुटिङ भैरहेको रहेछ । त्यो समयमा म साथीहरुसँग क्लब नजिकै खाजा खाँदै थिए । सोहि क्रममा क्लबको सिनको लागि केहि कलाकार नपुगेको रहेछ । एकजना चिनजान भएको दाइले खाजा खाइरहेको ठाउँमा आएर एकैछिन क्लबको सिनमा हिरोसँग ‘ड्रिंक्स चियर्स’ गरिदिनु पर्यो भन्नु भयो । मनमा अभिनयको चाहना त थियो तर हुन्छ, हुदैन भनेर भन्नै सकी रहेको थिएन तर पछी म राजी भएर नै गए अनि ड्रिंक्स दिनु भयो । मैले त्यो सिन एक सटमा नै ओके गरे । यो फिल्म नौजंग गुरुङले निर्देशन गर्नुभएको फिल्म अन्जुली थियो ।
गुरुङ फिल्मका निर्माता धन बहादुर गुरुङ डिबी त्यही हुनुहुँदो रहेछ । उहाँलाई म अहिले मामा भनेर बोलाउने गर्छु । फिल्मी भाषामा भन्नु पर्दा म उहाँको नजरमा परेको रहेछु । केहि दिन पछी डिबी मामा र निर्देशक माओत्से गुरुङ दाइको मलाई फोन आयो । उहाँहरुको निर्माणधीन अवस्थामा रहेको गुरुङ फिल्म ‘जुनी जुनी’ को लागि अफर गर्नुभयो । मैले सजिलै हुन्छ भने तर मलाई अभिनय सम्बन्धि केही ज्ञान छैन भनेर उहाँहरुलाई भनेको थिए ।

पछि माओत्से दाइले एउटा अमरसिंह चोकमा रहेको रेस्टुरेन्टको प्राईभेट कोठामा राखेर एउटा ‘सिचियोसन’ दिएर मलाई अभिनय गर्न लगाउनु भएको थियो । मलाई सुरुमा निकै अप्ठ्यारो अनि गाह्रो भएको थियो । पछि एकैछिन समय लिएर दाइले दिनु भएको ‘सिचियोसन’ गरे । म पास भएको रहेछु । यसरि नै मेरो औपचारिक रुपमा डेब्यु फिल्म माओत्से गुरुङ फिल्मसको ब्यानरमा निर्मित ‘जुनी जुनी’बाट भएको हो । उहाँहरु दुवैजना मेरो गुरू हुनुहुन्छ । हालसम्म आइपुग्दा आधा दर्जन भन्दा बढी गुरुङ फिल्ममा फरक–फरक निर्देशक ज्युहरु ंग अभिनय गर्ने सौभाग्य पाएको छु । ‘शिरसुवा’ मेरो माओत्से दाइको निर्देशनमा मैले काम गरेको दोश्रो फिल्म थियो । जसको लागि ‘शिरसुवा’ का कथाकार एवम् निर्माता बिमल गुरुङ दाइ र माओत्से गुरुङ दाइ प्रति आभारी छु ।

यात्रा अब कसरी अगाडि बढ्ला ?
विगत ४ वर्ष यता म हङकङमा बसोबास गर्दै आइरहेको छु । हरेक वर्ष चाडपर्वको समय मिलाएर बिशेष गरि वसन्त ऋतुको समयमा नेपाल जाने–आउने गरिरहेको हुन्छु । पसन्त ऋतुको समयमा नेपाल भए भने मनलाई छुट्टै आनन्द मिल्छ । विदेशमै बसेपनि फिल्मबाट कहिल्यै विदेशिएको महशुस गर्दिन । हङकङमा गुरुङ फिल्म एसोसिएशन हङकङको सचिवमा रहेर काम गरेको छु । गुरुङ फिल्मको बजार व्यस्थापन गर्न होस् या गुरुङ भाषा संस्कार संस्कृतिको निम्ति हरेक समय हङकङमा बसोबास गर्ने नेपाली समुदायका संघसंस्थाहरु सँग सहकार्य गरिरहेको छु । बिदेशमा रहदा समेत नेपालबाट गुरुङ फिल्महरुको अफरहरु आइरहेको हुन्छ । यदि आफुलाई मन पर्ने स्क्रिप्ट र टिम भयो भने म समय निकालेर नेपालमा फर्किएर काम गर्ने गरेको छुँ । यो क्रम निरन्तर जारी राख्ने मेरो योजना छ ।

तपाईले देखेको सपना के छ ?
सपना धेरै ठूलो छैन । भनाइ नै छ, ‘सँसार परिवर्तन गर्नु छ भने, पहिले आफूबाट सुरू गर’ । हामी धेरै बोल्छौ काम कम गर्छौ । त्यसैले बिदेशमानै बसेपनि पछिल्लो समय लोपन्मुख हुँदै आइरहेको हाम्रो भाषा, संस्कार, संस्कृतिलाई संरक्षण र सम्वर्दनको निम्ति आफुले रोजेको क्षेत्र फिल्मको माध्यमबाट दोश्रो पुस्तालाई हस्तारन्तरण गर्ने सोचले नै अघि बढिरहेको छु । यसबाट कुनै नेपाली समुदायका एक व्यक्तिलाई मात्र प्रेरणा मिलेपनि यसले ठुलो अर्थ लाग्छ जस्तो लाग्छ ।

गुरुङ फिल्म किन हेर्ने ?
गुरुङ फिल्म विशुद्ध गुरुङ संस्कार र संस्कृतिमा आधारित भएर निर्माण हुन्छ । यो भित्र दर्शकहरुले गुरुङजातिहरुको मौलिकता पाउनु हुनेछ, यदि भाषा गुरुङ छ भने नेपालीमा सब टाइटल हुन्छ जसले गर्दा सबैले गुरुङहरुको रहन सहनलाई नजिकबाट नियाल्न सक्नुहुन्छ । हुनत फिल्मको कुनै भाषा हुदैन । दृश्यबाट नै धेरै चिजहरु बुझ्न सकिन्छ । गुरुङ फिल्मकर्मीले गरेको मेहनतलाई नियाल्नका लागि समेत गुरङ फिल्म हेर्नु भन्छु म ।

फिल्मसँग सम्बन्धित थप केही भए भन्नु ?
मैले अभिनय गरेको ब्रेज मेश्रो फिल्म प्रोडक्सन प्रालीको ब्यानरमा निर्मित गुरुङ फिल्म ‘शिरसुवा’ जिफानको समन्वयमा पोखराको मिडटाउन हलमा नियमित प्रदर्शन भयो । चैत्र ६ गतेबाट हलमा नियमित प्रदर्शनमा आएको यो फिल्मले गुरुङमात्र नभइ गैरगुरुङ दर्शक स्रोताहरुको अपार माया र साथ बटुल्न सफल भएको छ । लामो समयसम्म हाउसफुल दर्शकका साथ प्रदर्शन हुने पहिलो गुरुङ फिल्म बन्दै रेकर्ड राखेको छ । तर, इच्छा चाहना हुदै हुदै फिल्म प्रदर्शनको समयमा दर्शकको साथामानै रहेर प्रतिक्रिया लिन सकिन । अप्रत्यक्ष रुपमा मलाई सामाजिक संजालको माध्यमबाट, फोनको माध्यमबाट दर्शक श्रोता, फिल्मकर्मी, पत्रकारज्यूहरुले दिनु भएको अमुल्य प्रतिक्रियाले हौसला थपिएको आभास मिलेको छ । यो मायाले धेरै जिम्मेवारी थपिएको महशुस गरेको छु । अन्त्यमा पोखरा न्यूज अनलाइन मार्फत मेरो कुराहरु राख्न दिनु भएकोमा धेरै–धेरै धन्यवाद दिन चाहन्छु ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button