म्याग्दीमा नापी कार्यालयको सुविधासम्पन्न भवन प्रयोगविहीन

पोखरा न्यूज ।  बेनीमा करोडौँ खर्चेर निर्माण भएको जिल्ला नापी कार्यालय, म्याग्दीको भवन प्रयोगविहीन बनेको छ । नापी विभागले ठेक्कामार्फत बेनीको मङ्गलाघाटमा २०७७ मङ्सिरमा साढे तीन तले पक्की भवन निर्माण गरेको थियो । मासिक रु ४० हजार खर्चेर भाडाको घरबाट कार्यालय सञ्चालन गरिरहेको नापी कार्यालयको रु दुई करोड ४० लाखमा निर्माण भएको भवन प्रयोगविहीन बनेको हो । विसं २०७५ मा मसुद–बिएन–त्रिशक्ति जेभीसँग ठेक्का सम्झौता भएको भवन निर्माण योजनाको अन्तिम पटक थपिएको म्याद गत मङ्सिर मसान्तमा सकिएको छ । नापी कार्यालय म्याग्दीका प्रमुख तुलसी पौडेलले बाटोको निकास नहुँदा भवन प्रयोगमा ल्याउन नसकेको बताउनुभयो ।

“बाटोमा राखिएका पोल हटाउन विद्युत् प्राधिकरण, पाइप व्यवस्थापन गर्न सङ्घ र प्रदेशका खानेपानी कार्यालय तथा तुइन हटाउन बेनी नगरपालिका र जिल्ला समन्वय समितिलाई आग्रह गरेका छौँ”, उहाँले भन्नुभयो, “बिजुलीका पोल, पाइप र तुइनको टावर नहटाउँदासम्म मूल सडकदेखि भवनसम्म पुग्ने बाटोको निकास हुँदैन ।” बेनी–मङ्गलाघाट सडकदेखि नापी कार्यालयको भवनमा पुग्ने करिब २० मिटर बाटोको बिचमा विद्युत्का पोल, खानेपानीका पाइप र तुइनको टावर छन् ।

तीन वटा कार्यालयको बिचमा खोल्सामाथि ढलान गरेर बनाइएको बाटोमा खानेपानीको पाइप राखिएको छ । दुई वटा विद्युत्का पोल र वर्षौंदेखि प्रयोगविहीन तुइनको एक वटा टावर छ । निर्माण कम्पनीका प्रतिनिधि निराजन खतिवडाले मुल सडकदेखि भवनसम्म पुग्ने बाटोको निकास र प्राविधिक मूल्याङ्कन नभएको बताउनुभयो । “मङ्सिरमै भवन निर्माण सकेर हस्तान्तरण गर्न खोजेको हो”, उहाँले भन्नुभयो, “नापी कार्यालयले अन्तिम मूल्याङ्कन गर्न र भवनसम्म पुग्ने बाटो बनाएर प्रयोगमा ल्याउन बेवास्ता गरेको छ ।” तत्कालीन शहरी विकास तथा भवन कार्यालय बागलुङको प्राविधिक सहयोगमा निर्माण शुरु भएको भवनको प्राविधिक रेखदेख गर्ने जिम्मेवारी पूर्वाधार विकास कार्यालय म्याग्दीलाई हस्तान्तरण भएको छ ।

बागलुङको कार्यालय खारेज भएको र बेनीको कार्यालयमा भवनसँग सम्बन्धित प्राविधिक जनशक्ति नभएकाले नापजाँच र मूल्याङ्कन हुन नसकेको हो । भवनको ठेक्का प्रक्रियाका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा विचाराधीन रहेकाले पनि जिम्मेवारी लिन प्राविधिकले नचाहेका हुन् । निर्माण कम्पनीका प्रतिनिधि खतिवडाले करिब रु ४० लाख भुक्तानी पाउन बाँकी रहेको बताउनुभयो ।

बालमन्दिर चोकमा मासिक रु ४० हजार तिरेर १० वटा कोठा भाडामा लिई नापी कार्यालय सञ्चालन गरिएको छ । आगामी असारसम्मका लागि भाडा तिर्ने बजेट आएको छ । नापी अधिकृत पौडेलले प्राविधिक मूल्याङ्कन र बाटोको निकास दिएर भवन प्रयोगमा ल्याउन विभाग र प्रशासन कार्यालयमार्फत पनि पहल गरेको बताउनुभयो ।

नापी कार्यालयसँगै निर्माणाधीन कोष तथा लेखा नियन्त्रकको कार्यालयको भवन पनि अन्तिम चरणमा पुगेको छ । रु एक करोड ७० लाखमा साढे तीन तले भवन बनाउन २०७६ भदौमा दावा–त्रिशक्ति जेभीसँग ठेक्का सम्झौता भएको थियो । यही महिनासम्म ठेक्काको म्याद भएको सो भवन रङरोगन भइरहेको छ । खानेपानीको कार्यालय भवन पनि आधाभन्दा बढी निर्माण सकिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button