पोखरा न्यूज सम्वाददाता । गीतकार शिव पलाँसको वास्तविक नाम शिब अधिकारी हो । उहाँको जन्म स्याङ्जा जिल्लाको हरिनास गाउँपालिका १ मा भएको हो । उहाँ विगत ६ वर्षदेखि संयुक्त राज्य अमेरिकामा बस्दै आउनुभएको छ ।
उहाँ नेपालमा रहदा झण्डै १० बर्ष शिक्षण पेसामा आवद्ध हुनुभयो । अहिले अमेरिकामा जागिरे हुनुहुन्छ । जहाँ भएपनि गीत रचना गर्ने क्रममा कमि भने आएको छैन । उहाँले रचना गरेका गीतको संख्या झण्डै ३ सय पुगिसकेको छ । यसरी रचना भएका गीत मध्ये झन्डै चार दर्जन गीत रेकर्ड भएका छन् ।
सन्तोष रुचालले गाएको ‘बेहोसीमै छोडी गयौ’ गीत उहाँको पहिलो रेकर्डेड गीत हो । ‘माया गर्नुको अर्थ सिउँदो भर्नु होइन’ गीतले उहाँलाई गीतकारको छवि बनाइदियो । यसमा बी बी अनुरागीको संगीत र शिशिर योगीको स्वर सुन्न सकिन्छ । त्यस यता सन्जु थापा, तेजेन्द्र गुरुङ,अर्जुन पोखरेल लगायतको संगीतमा दीप श्रेष्ठ, रामकृष्ण ढकाल, कर्णदास, प्रमोद खरेल, स्वरुपराज आचार्य, नरेन्द्र प्यासी, मनोजराज, ईश्वर पोखरेल जस्ता गायकहरुले उहाँले रचना गरेका गीतहरुमा आवाज भर्नुभएको छ ।
अमेरिकामा रहनुभएका गीतकार शिव पलाँससँग यसपाली उहाँकै सांगीतिक यात्राका बारेमा केही प्रश्न सोधेका छौँ ।
तपाईको गीत लेखन यात्रा कसरी शुरु भयो ?
२०५७/५८ सालतिरबाट म साहित्य लेखनमा प्रवेश गरें । लेखनको सुरुवात कविताबाट भयो । बिस्तारै गीत, गजल, मुक्तक, कथा र आलेख पनि लेख्ने जमर्को गरें । स्थानीय र राष्ट्रिय पत्रपत्रिकामा मेरा बाक्लै रचनाहरु छापिएका छन् । साथिभाइले बिस्तारै रेकर्डिङका लागि गीत माग्न थाले । त्यसपछी रेकडिङको सिलसिला शुरु भयो ।
कस्ता गीत रचना मनपर्छ ?
मलाई गम्भीर प्रकृतिका गीतहरु मन पर्छ । सायद मेरो गीतिलेखनले समेत त्यो बताउँछ । तथापि सानो संख्यामा मेरा रोमान्टिक गीतहरु पनि गाइएका छन् ।
बाल्यकालमा गीतसंगीत कसरी सुन्नुहुन्थ्यो ?
बाल्यावस्थामा गीत सुन्ने माध्यम भनेको रेडियो नेपाल मात्रै हो । पछि पछि टेपरेकर्डरमा गीतहरु सुन्न थालें ।
तपाईलाई मनपर्ने गायक, गायिका, रचनाकार र संगीतकार ?
मन पर्ने कलाकारको सूचि लामो छ । गायकहरुमा नारायणगोपाल, प्रेमध्वज प्रधान, भक्तराज आचार्य, दीप श्रेष्ठ मनपर्छ । गायिकामा अरुणा लामा, तारादेवी, दिलमाया खाती आदि मनपर्छ । रचनाकारको कुरा गर्दा हरिभक्त कटुवाल, किरण खरेल, राजेन्द्र रिजाल, नीर शाह मनपर्छ । संगीतकारको कुरा गर्दा अम्बर गुरुङ, गोपाल योन्जन, दिब्य खालिङ बढी मनपर्छन् ।
सांगीतिक क्षेत्रमा लागेर जीवन धान्न सकिन्छ ?
आर्थिक हिसाबले हेर्दा गीत लेखेर बाँचिन्छ भन्ने कुरा मेरो हकमा गलत साबित हुन्छ । अरु गीतकारको बारेमा म केही भन्न सक्दिन । चल्तिका गायक, संगीतकार र एरेन्जरको अवस्था अलि राम्रो होला ।
तपाईले देखेको सपना ?
उडेर जून छुने मेरो सपना छैन । धर्तिमै हिड्छु । जहाँ पुग्छु पुग्छु । कँहि पुग्नै पर्छ भन्ने पनि छैन । शोखले गीत लेखेको हो । जति सक्छु त्यति लेख्छु ।
नेपाली सांगीतिक क्षेत्रका सकारात्मक कुरा ?
देश, बिदेश बस्नेले संगीतमा ठूलो पैसा लगानी गरेका छन् । यसले धेरैको रोजीरोटी चलेको छ । क्षमता भएका तर आर्थिक अवस्थाले पछाडि परेकाहरुलाई बिभिन्न रियालिटी शोहरुले बाहिर ल्याएर स्थापित गरिदिएका छन् । यसलाई राम्रो नै मान्नुपर्छ ।
नेपाली सांगीतिक क्षेत्रमा सुधार गर्नुपर्ने पक्ष ?
सुधार्नुपर्ने पक्षको कुरा गर्नुहुन्छ भने गीतसंगीतको स्तरीयताको कुनै मापदण्ड राखिएको छैन । नेपालीको एकता नेपाली समाज र संस्कृति धुमिल पार्ने गीत पनि निर्बाध बजारमा आएकै छन् । चर्चा र पुरस्कारको भित्री पाटो अस्वस्थ छ ।
आफूमा निखारता कसरी थप्दै आउनुभएको छ ?
साहित्य पढ्छु । बजारमा निस्केका राम्रा गीतहरु सुन्छु । अग्रजका लेख, अन्तर्वार्ता हेर्छु । उनीहरुसंग बिमर्श गर्छु । यसरी नै आँफूलाई निखार्ने कोशिश गर्छु ।
संगीत क्षेत्रबाट पाएको कुरा ?
मसंग त्यस्तो ठूलो महत्वाकांक्षा केही छैन । गीत संगीतमा लागेर थोरै भएपनि श्रोता तथा शुभेच्छुक कमाएको छु । तर आफ्नो करिअर बनाउने उमेरमा मैले साहित्य, संगीतको पछि नलागेको भए पनि हुने रैछ जस्तो मलाई अहिले आएर महसुस हुन्छ ।
अबका योजना के छन् ?
बिभिन्न एल्बममा छरिएर रहेका गीतहरु र केही अन्य गीतहरु समेटेर एउटा गीति पुस्तिका निकाल्ने योजना छ । काम सुरु गरेको छु ।
अन्य कुन कुन क्षेत्रमा रुचि छ ?
साहित्य र संगीत अलावा मलाई भ्रमणमा रुचि छ । फुर्सदमा साथीभाइसंग घुम्न निस्किन्छु । कहिलेकहिँ मूभि हेर्छु ।
अन्त्यमा के भन्नुहुन्छ ?
अरु ज्यादा के भन्नु खोई ? म जस्तो पर्दा पछाडिको मान्छेको बारे सोधखोज गर्नुभो । तपाईंलाई हार्दिक धन्यवाद छ ।