हिरो बन्न मलाई हाइट पुग्थेनः युवराज भण्डारी

कलाकारिताकै आम्दानीले पोखरामा घर र आइटेन गाडी जोड्न सकें

पोखरा न्यूज सम्वाददाता । कास्कीको भदौरेतामागीमा जन्मिनुभएका हाँस्यकलाकार युवराज भण्डारी बाल्यकालमा साह्रै चञ्चले स्वभावका हुनुहुन्थ्यो । त्यसैले उहाँलाई सबैले चतुरे भनेर बोलाउथे । यसरी बोलाएका उहाँलाई भने मन पर्दैनथ्यो । स्कूल पढ्दा सरहरुलाई समेत गिंज्याउँने र सरहरुकै जस्तै नक्कल गर्ने भण्डारीको बानी थियो । यसो गर्दा कैयाैँपटक पिटाइ खाएको उहाँले अझैसम्म भुल्नु भएको छैन ।

अहिले भण्डारीलाई धेरै दर्शकले पोखरेली माग्नेबुढाको नामबाट चिन्नुहुन्छ । उहाँले गरेको अभिनयले नै यो परिचय दिलाएको हो ।उहाँले मेरी गंगा फिल्मबाट अभिनयको यात्रा सुरु गर्नुभयो । किडन्याप, पञ्चेबाजा, सेन्टीभाइरस, रामकहानी आदि फिल्म खेलिसक्नुभएका भण्डारीले आफैले समेत थुप्रै सर्ट फिल्म बनाइसक्नु भएको छ । केही फिल्ममा अभिनयको अफर आएको उहाँ बताउँनु हुन्छ ।

सिरियलमा समेत उतिकै व्यस्त हुनुहुन्छ । उहाँकै लेखन निर्देशन गडबडी सिरियल १ सय २० भाग पुगिसक्यो । एके ४७ सत्तरी भाग पुगेको छ । यसका अलावा मुन्द्रेको कमेडी क्लब, मेरी बास्सै, कहिले होला लगायतमा काम गर्नुभयो । हुनत उहाँलाई रेडियो कार्यक्रम खिचडी र एके ४७ ले समेत हास्यव्यङ्य क्षेत्रमा आउन र चिनाउन महत्वपूर्ण भुमिका खेलेको थियो ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समिति पोखारामा आवद्ध उहाँले अर्का हाँस्यकलाकार राजेन्द्र नेपालीसँग निरन्तर १२ वर्षदेखि साथसाथै यात्रा गर्दै आउनुभएको छ । यो जोडीलाई समेत उतिकै दर्शकको साथ छ । यसपाली हामीले हाँस्य कलाकार युवराज भण्डारीलाई फिल्मी क्षेत्रसँग सम्बन्धित केही प्रश्न सोधेका छौँ ।

तपाई फिल्म कतिको हेर्नुहुन्छ ?
मैले कलेज पढ्ने समयमा फिल्म औधी हेर्थे । अहिले अलि कम हेर्छु । अहिले फिल्म हेर्न भन्दा फिल्म बनाउनमा बढी व्यस्त छु । छोटा फिल्म बनाइरहेको छु । सोही कारण आजकाल छनोट गरेका फिल्म घरमानै युट्युब मार्फत हेर्छु ।

तपाईको फिल्म हेर्ने माध्यम के हो ?
विगतमा हलमा नै धेरै हेरियो । टिभी मार्फत समेत फिल्म उतिकै हेरियो । अहिले युट्युब मार्फत बढी हेरिन्छ ।

हलमा र घरमा फिल्म हेर्दाको अनुभूति कस्तो हुन्छ ?
घरमा हेर्दा ‘पार्टटाइम’ हेरिन्छ पूरा फिल्म हेरिदैन केहीबेर हेर्‍यो ‘पज’ गर्‍यो अनि काम गर्‍यो । फेरि हेर्‍यो । कहिलेकाही एउटै फिल्म हेर्न तीन दिन लाग्छ । तर हलमा भने फिल्म हेर्नका लागिनै पुगिन्छ । सोही कारण पूरै अवधिभर फिल्मको मज्जा लिएर फिल्म हेरिन्छ । मलाई फिल्म हेर्न घरमा भन्दा हलमा नै मज्जा लाग्छ । हलमा फिल्म हेर्दा ध्यान एककृत हुन्छ बाहिरी कुरामा ध्यान जाँदैन ।

बाल्यकालदेखि हालसम्म फिल्म हेर्दाका रमाइला अनुभव ?
पोखरामा पढ्न आएपछिनै धेरै फिल्म हेर्न थालियो । फिल्म हेर्ने माध्यम हल नै थियो । त्यतिबेला घरबाट दिएको पैसा बचाएर नै फिल्म हेरिन्थ्यो ।
त्यतिबेला पृथ्वीनारायण क्याम्पस पढ्दा पहिलो सोमा नै फिल्म हेर्न जाने साथीहरुसँग प्रतिष्पर्धा हुन्थ्यो । एक पटक उत्तम प्रधानले अभिनय गरेको एउटा फिल्म चलेको थियो विन्ध्यवासिनी हलमा । सबै ठाउँ प्याक भएछ । उभिने ठाउँ समेत प्याक भएकोले फस्टसिट भन्दा अगाडिको कुनामा उभिएरै फिल्म हेरिएको थियो ।

गाउँमानै छँदा मैले ‘टाइटानिक’ फिल्म हेर्न पाएको थिए । गाउँको हजुरबुबा साउदी जानु भएको थियो । उहाँ २०५३ सालमा फिर्ता हुनुभयो । आउँदा टिभी र डेक ल्यायउनु भएको थियो । उहाँकोमा नै ‘टाइटानिक’ फिल्म हेरियो । त्यतिबेला शुक्रबार बेलुका आउने नेपाली फिल्म हेर्न अर्काको घरमा गइन्थ्यो । मलर्ई हिन्दी फिल्म भने पटक्कै हेर्न मन लाग्दैन । हिन्दी फिल्म हलमा गएर अहिलेसम्म एउटा मात्र फिल्म हेरेको छु । त्यो फिल्म ‘मर्डर’ थियो । गीतकै कारण मैले यो फिल्म हेरेको थिए । यो फिल्म हेर्नुको अर्को कारण ‘टङ किस’ को सिन थियो ।
हलमा फिल्म हेर्दा चिच्याउने हुटिङ गर्ने बानी थियो । हलमा बत्ति गयो भने चिच्याउने, फिल्मको सिन काटेको थाहा भयो भने चिच्याउने, सिठी लाएर कराउन गरिन्थ्यो । मेरो हलमा फिल्म हेर्दा हाँसेर कराएर भरपुर मनोरञ्जन लिएर फिल्म हेर्ने बानी छ । फिल्म हेरेपछि साथीलाई फिल्मको बारेमा गफ लगाउने चलन थियो । यसरी गफ लगाउदा फिल्मको कथालाई बनावटी अर्कै कथा बनाएर समेत भन्ने गर्थे ।

हलमा हेरेको पहिलो फिल्म ?
मैले हलमा हेरेको पहिलो फिल्म ‘गोरेटो’ हो । ९ कक्षामा अध्ययन गर्दा रजिष्ट्रेशन फम भर्नको लागि पासपोर्ट साइजको फोटो खिच्न पोखरा आउनुपथ्र्यो । सोही समयमा साथीहरु भएर हेरेका थियौँ ।

मनपर्ने फिल्मी कलाकार ?
मलाई मनपर्ने कलाकार श्रीकृष्ण श्रेष्ठ र जल शाह हो । मलाई भुवन केसी मनपर्दैनथ्यो । सोही कारण कहिलेकाही साथीहरुसँग भुवन केरी राम्रो कि श्रीकृष्ण श्रेष्ठ भन्दै विवाद गर्थे । त्यतिबेला आफूलाई मनपर्ने कलाकारको तारिफ गर्ने बानी थियो ।

नेपाली फिल्मको सकारात्मक पक्ष ?
नेपाली मौलीकता फिल्ममा पस्कनु नेपाली फिल्मको सकारात्मक पक्ष हो । पहिलाका फिल्ममा भन्दा अहिले बन्ने फिल्ममा प्रविधिमा धेरै सुधार भएको छ । नेपाली फिल्म प्राविधिक रुपमा समेत सुधार हुँदै गएका छन् । एनिमेसन चल्न थालेको छ । लगानी बढेको छ । सोही कारण नेपाली फिल्मको भविष्य उज्वल छ ।

सुधार गर्नुपर्ने पक्ष ?
फिल्ममा जर्बजस्ती हाँस्यसामाग्री प्रयोग गर्न खोज्दा झनै खल्लो बनेको देखिन्छ यसमा सुधार गर्नुपर्छ । कतिपय फिल्ममा सिक्वेन्स मिलाएको पाइदैन । दर्शकले सजिलै देख्ने सामान्य खालका त्रुटी समेत फिल्ममा देखिन्छ । यी कुरामा सुधार हुनुपर्छ ।

सानोमा फिल्म हेर्दा अभिनय गर्ने रहर कतिको हुन्थ्यो ?
फिल्म खेल्ने मेरो सपना थियो । फिल्म हेर्दा अभिनय गर्ने रहर हुन्थ्यो । सदावहार कलाकार बनौ भन्ने मनमा कहिल्यै छुटेन । हिरो बनौ मोडल बनौ भन्ने त कहिल्यै लागेन । किनकि हिरो बन्न मलाई हाइट पुग्थेन । साथीहरुले डल्ले–डल्ले भन्थे । सोही कारण कमेडियन नै बन्न मन लाग्थ्यो । अहिले फिल्ममा भन्दा सानो पर्दामा अभिनय गर्न बढी रुचाउछु । अभिनय गर्न पाए भोक, प्यास, निद्रा सबै भुल्छु । यसरी सानोमा लाग्ने रहर अहिले पूरा भइरहेको छ ।

तपाईको फिल्म यात्रा शुरु भयो ?
मेरी गंगा फिल्मबाट फिल्ममा अभिनय सुरु गरे । किडन्याप, पञ्चेबाजा, सेन्टीभाइरस, रामकहानी आदि फिल्म खेले । केही फिल्ममा अभिनयको अफर यतिबेला समेत आएको छ । मेलै आफैले सर्ट मुभी धेरै निर्माण गरे । जुन अझै निरन्तर जारी छ ।

सिरियलमा समेत उत्तिकै व्यस्त देखिनुहुन्छ नी ?
हो म सिरियलमा समेत व्यस्त बने । मेरै लेखन निर्देशन गडबडी सिरियल १ सय २० भाग पुगिसक्यो । एके ४७ सत्तरी भाग पुर्‍याएर राख्यौ । यसका अलावा मुन्द्रेको कमेडी क्ल्ब, मेरी बास्सै, कहिलेहोला लगायतकामा काम गरे ।

अर्को कुरा गाइजात्रालाई स्पेशल बनाइरहेको छु । आफ्नै युट्युब च्यानलमा सब्सक्राइभ १० लाख पुग्न लागेको छ । वर्षमा दुईवटा गाइजात्रा बनाउने योजना छ । यात्रामा राजेन्द्र नेपालीसँग सहकार्य गरिरहेको छु । हामीले सहकार्य गर्न थालेको १२ वर्ष भइसक्यो ।

कलाकारितामा लागेर पाएको कुरा ?
सबैभन्दा ठूलो कुरा दर्शक श्रोताको माया पाएको छु । अर्को कुरा अहिले म पोखरा छोरेपाटन बस्छु । कलाकारिताबाट प्राप्त आम्दानीले पोखरामा घर बनाउन र आइटेन गाडी चढ्न सफल भए । यो समेत कलाकारितामा लागेर मैले पाएको हुँ ।

अन्त्यमा के भन्नुहुन्छ ?
सबै दर्शक श्रोतालाई धन्यवाद । हजुरहरुकै मायाको कारण मेला महोत्सवबाट हुने आम्दानीले नै अगाडि बढ्न सजिलो भएको छ । हाम्रो भगवान भनेकै दर्शक हुनुहुन्छ । नयाँ सिर्जना उहाँहरुलाई दिन निरन्तर प्रयासरत छु । कलाकारिता क्षेत्रबाट सबै चिज पाए । मेरो गुनासो छैन । कलाकार नभएको भए म रोजगारीको निम्ति कतार हानिनुपथ्र्यो । तहाँ गएर श्रम पसिना बगाउनु पथ्र्यो । तर कलाकारितामा लागेपछि मलाई पछाडि फकर्नु परेको छैन । हङकङ, दुबई, भारत लगायतका देश पुगेर समेत आफ्नो प्रस्तुति राख्न पाए । कार्यक्रमको लागि धेरै ठाउँमा बोलाउनुहुन्छ । निरन्तर कलाकारिता क्षेत्रमा नै अगाडि बढ्ने मेरो योजना छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button