कृषिमा वैदेशिक लगानी भित्र्याउँदाकाे प्राथमिकता अस्पष्ट

पोखरा न्यूज सम्वाददाता । कृषिमा वैदेशिक लगानी भित्राउँदा कुन कुन क्षेत्रमा भित्राउने हो स्पष्ट रुपमा उल्लेख हुनुपर्ने सांसदहरुले बताएका छन् ।

आइतबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सांसदहरुले सरकारले कृषिमा विदेशी लगानी भित्राउने निर्णय गर्दा कुन कुन क्षेत्रमा भित्राउने हो स्पष्ट पार्नुपर्ने बताएका हुन् । सरकारले कृषिमा विदेशी लगानी भित्राउने भनिएपनि कुन कुन क्षेत्रमा प्राथमिकता दिने हो स्पष्ट नभएको सांसदहरुले बताएका हुन् । बैठकमा बोल्दै समिति सभापति विमल प्रसाद श्रीवास्तवले कृषिको कुन कुन क्षेत्रमा विदेशी लगानी आवश्यक हो स्पष्ट हुनुपर्ने बताउनुभयो । स्पष्ट रुपमा विधागत रुपमा छुट्याउनुपर्ने बताउनुभयो ।

सांसद अमृता देवी अग्रहरीले नेपालको कृषिमा वैदेशिक लगानी आवश्यक रहेको बताउनुभयो । कृषिमा उत्पादन बढाई निर्यात गर्नका लागि विदेशी लगानी आवश्यक रहेको बताउनुभयो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले कृषि उत्पादनलाई आत्मनिर्भर बनाउँदै निर्यातको चरणमा जान ठूलो लगानीको आवश्यकता पर्ने भएकाले कृषिमा विदेशी लगानीको आवश्यकता देखिएको बताउनुभयो । स्वदेशमै रोजगारी सिर्जना गर्न उद्योगहरु स्थापना गर्नका लागि राज्यले आवश्यकता ठानेर नै कृषिमा विदेशी लगानी भित्राउन लागेको बताउनुभयो ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव पेम नारायण कंडेलले नेपालको प्राथमिक उत्पादनलाई हानी नहुनेगरी कृषिमा विदेशी लगानी भित्राउनुपर्ने बताउनुभयो । कृषि क्षेत्रमा लगानी गर्न नीजि क्षेत्रहरु पनि आकर्षित रहेको सन्दर्भमा त्यस तर्फपनि ध्यान दिनुपर्ने बताउनुभयो ।

कृषिमा विदेशी लगानी खुला गर्ने सन्दर्भमा समितिमा सरोकारवाला निकायसँग विभिन्न चरणमा छलफल भइरहेको छ । आगामी बैठकमा अझ बिस्तृत रुपमा सम्बन्धित मन्त्रालयका मन्त्रीसहित बसेर समितिमा छलफल गरिने भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button