गुरुङ फिल्ममा बजारको समस्या छः गिरीप्रसाद गुरुङ

गुरुङ फिल्मका कलाकार र प्राविधिकलाई उचित प्रशिक्षण आवश्यक

पोखरा न्यूज सम्वाददाता । गुरुङ फिल्मका निर्माता हुनुहुन्छ गिरीप्रसाद गुरुङ । उहाँको जन्म कास्कीको घाचोक गाउँमा भएको हो । कलाक्षेत्रप्रति सानैदेखि रुचि राख्ने गुरुङले विभिन्न फिल्म तथा म्युजिक भिडियोमा काम गरिसक्नुभएको छ । गुरुङ फिल्म एशोशिएशन नेपाल जिफानका पूर्वअध्यक्ष रहनुभएका उहाँ वर्तमान सल्लाहकार हुनुहुन्छ ।

सामाजिक क्षेत्रमा उतिकै सक्रिय उहाँ विभिन्न संघसंस्थामा आवद्ध रहनुभएको छ । माउन्ट अन्न्पूर्ण मावि नदीपुरको व्यवस्थापन समितिको अध्यक्ष जिम्मेवारी पाउनुभएका उहाँ तमुधी‍ नेपालको सल्लाहकारको समेत भूमिकामा हुनुहुन्छ । उहाँले पत्रकारिता मार्फत समेत आफ्नो परिचय फराकिलो बनाउनुभएको थियो ।

यसका अलावा पछिल्लो क्रममा राजनीति पार्टीमा क्रियाशील हुनुहुन्छ । जनता समाजवादी पार्टी कास्की जिल्लाको अध्यक्षको जिम्मेवारी उहाँलाई छ । जिम्मेवारीका कारण फिल्म क्षेत्रमा क्रियाशील बन्न नसक्नुभएका उहाँले समयले साथ दिएको खण्डमा फिल्मी यात्रालाई निरन्तरता दिने सोच भने बनाउनुभएको छ । यसपाली हामीले उहाँसँग फिल्मी क्षेत्रसँग सम्बन्धित केही प्रश्न सोधेका छौँ ।

तपाईले फिल्म कतिको हेर्नुहुन्छ ?
विगतमा मैले फिल्म धेरै हेर्ने गरेको थिए । अहिले निकै कम मात्रामा फिल्म हेर्छु । कार्यव्यस्तताको कारणले यस्तो भएको हो ।

तपाईको फिल्म हेर्ने माध्यम के हो ?
विगतमा मेरो फिल्म हेर्ने मुख्य माध्यम हल नै थियो । यसका अलावा घरमा तथा विषेश सो हुने विभिन्न ठाउँमा पुगेर फिल्म हेरे । टिभिमा समेत हेरे । अहिले युट्युबमा बढी हेर्छु ।

हलमा र घरमा फिल्म हेर्दाको अनुभूति कस्तो हुन्छ ?
फिल्म हलमा पुगेरै हेर्दा अलि रमाइलो हुन्छ । तर, घरमा शान्त वातावरणमा हेर्दाको आनन्द समेत बेग्लै हुन्छ ।

बाल्यकालदेखि हालसम्म फिल्म हेर्दाका रमाइला अनुभव ?
गाउँमा रहँदा फिल्म हेर्ने अवसर मिलेन । अध्ययनको लागि पोखरा झरेपछि नै फिल्म हेर्न थालेको हुँ । त्यतिबेला फिल्म हेर्न पाउँदा रमाइलो, नौलो लाग्थ्यो ।

हलमा हेरेको पहिलो फिल्म ?
ठ्याक्कै यकिन छैन, सोही कारण नाम बताउन सकिन । तर, हिन्दी फिल्म हो भन्ने थाहा छ ।

मनपर्ने फिल्मी कलाकार ?
मलाई मनपर्ने कलाकार दयाहाङ राई र माओत्से गुरुङ हुनुहुन्छ ।

नेपाली फिल्मको सकारात्मक पक्ष ?
नेपाली फिल्मले नेपाली भाषा, कला र संस्कृतीको संरक्षण गरेको छ । यो नै नेपाली फिल्मको सकारात्मक पक्ष हो ।

सुधार गर्नुपर्ने पक्ष ?
निर्देशकीय क्षमता, कलाकारको अभिनय तथा मौलिक विषयवस्तुलाई अझै बढी ध्यान दिएर निखारता प्रदान गर्नुपर्ने खाँचो छ ।

सानोमा फिल्म हेर्दा अभिनय गर्ने रहर कतिको हुन्थ्यो ?
फिल्म हेर्दा अभिनय गर्ने रहर नहुने कुरै भएन । रहर भएकोले आफै गुरुङ फिल्म बनाइ रहर पूरा गरे ।

तपाईको फिल्म यात्रा शुरु भयो ?
यात्रा समय र आवश्यकता अनुसार हुँदोरहेछ त्यसरी नै यात्रा शुरु भयो । आागमी दिनमा समेत सोही अनुसार फिल्मी यात्रा अगाडि बढ्ला ।

तपाईले देखेको सपना ?
फिल्मी क्षेत्रमा त्यति धेरै ठूलो सपना केही छैन । मनमा रहर थियो ।

गुरुङ फिल्म किन हेर्ने ?
किनभने यो सामुदायिक तथा आफ्नै सेरोफेरोको हुने भएकोले हेर्नुपर्छ ।

दर्शकमाझ आफूलाई कसरी चिनाउनुहुन्छ ?
आफूलाई कलाकार हो भन्ने नै लाग्दैन । तर, कुनै समयमा फिल्मसँग पनि यो सम्बन्धित थियो है दर्शक तथा फिल्मकर्मीहरुले भन्नुहुनेछ भन्ने आशा हो ।

तपाईले काम गरेका फिल्म कुन–कुन हुन् ?
मैले ङै जिन्दागी, कर्मरेखा, रि मै मुयुमै सैं, कुटुम्बरी साइनो लगायतका फिल्म र एक दर्जन म्युजिक भिडियोमा सम्लग्न रहेर काम गरे ।

गुरुङ फिल्मको क्षेत्रमा जिफानको भूमिका कस्तो छ, आवश्यकता के हो ?
जिफान गुरुङ फिल्मसँग सम्बन्धित एउटा छाता संगठन हो । यस्ले सर्बप्रथम त सबैलाइ समेट्ने नीति बनाउनुपर्छ । सरकारसँग समेत उचित नीति र सहयोगको लागि पहल गर्नुपर्छ । गुरुङ फिल्ममा बजारको समस्या छ । त्यतातिर ध्यान पुर्‍याउनुपर्छ । केही प्रयास भएका छन् । यिनलाई निरन्तरता दिदै थप प्रयास गर्नुपर्छ । गुरुङ फिल्मका कलाकार, प्राविधिकहरुलाई उचित प्रशिक्षण चाहिन्छ । बेला–बेलामा प्रशिक्षण कार्यक्रमको आयोजना गर्दै उनीहरुमा निखारता थप्नुपर्छ ।

फिल्मी क्षेत्रतपर्फ थप योजना बनाउनुभएको छ ?
तुरुन्तै त्यस्तो योजना छैन, अवसर मिल्यो भने केही गर्छु किनकि मलाई यो क्षेत्रप्रति रुचि र लगाव छ ।

अन्त्यमा के भन्नुहुन्छ ?
फिल्म विधा श्रब्य दृश्यको माध्यमबाट मनोरन्जन र सन्देश दिने गतिलो माध्यम हो । यस्को सही सदुपयोग हुनुपर्छ । फिल्मकर्मीलाई अगाडि बढ्न दर्शकको साथ सर्पोट आवश्यक पर्ने भएकोले गुरुङ फिल्म, नेपाली फिल्मसँगै अन्य भाषाभाषीका फिल्मलाई उतिकै साथ दिने गरौँ भन्न चाहुन्छु । तपाईंको यो क्षेत्र प्रतिको चासो सह्रानीय छ । अवसरको लागि धन्यवाद ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button